नर्वेका विभिन्न पसल र होटलहरूले पार्ट-टाइम (deltid) काम गर्ने कर्मचारीलाई अतिरिक्त सिफ्ट लिन छुट्टै सम्झौतामा हस्ताक्षर गर्न लगाउन थालेका छन्। नियमित कामको सम्झौताबाहेक अतिरिक्त सिफ्टका लागि rammeavtale अर्थात् छुट्टै ढाँचागत सम्झौतामा हस्ताक्षर गराउने प्रचलन बढ्दै गएको छ।

यस वर्ष आएका केही अदालती फैसलामा पार्ट-टाइम कर्मचारीले आफ्नो निर्धारित पद प्रतिशतभन्दा बढी काम गरेमा ओभरटाइम भत्ता पाउन सक्ने भनिएको थियो। तर ती फैसला अपिलमा रहेकाले अन्तिम रूपमा कानुनी बाध्यकारी भइसकेका छैनन्।

यसैबीच रोजगारदाताहरूले अतिरिक्त कामलाई नियमित सम्झौताबाट अलग राख्न यस्तो अभ्यास सुरु गरेका हुन्।

श्रमिक संगठन Handel og Kontor (HK) ले आफ्ना सदस्यहरूका लागि मार्गदर्शन तयार गर्दै यस्तो सम्झौतामा हस्ताक्षर गर्नुअघि सम्भावित परिणाम राम्ररी बुझ्न आग्रह गरेको छ।

ध्यान दिनुपर्ने ५ मुख्य कुराहरू यसप्रकार छन्:

१. पछि ओभरटाइम भत्ता माग्न गाह्रो हुन सक्छ

मानौं, तपाईंको नियमित सम्झौतामा हप्ताको २० घण्टा काम गर्ने उल्लेख छ, तर तपाईंले थप १० घण्टा काम गर्नुभयो। त्यो अतिरिक्त काम नियमित सम्झौताअन्तर्गत गरिएको हो भने, भविष्यमा ती घण्टाका लागि ओभरटाइम भत्ता माग्ने आधार बन्न सक्छ।

तर, अतिरिक्त १० घण्टा छुट्टै ढाँचागत सम्झौता (rammeavtale) अन्तर्गत गरिएको हो भने, रोजगारदाताले त्यसलाई नियमित कामभन्दा अलग अतिरिक्त सिफ्टका रूपमा देखाउन सक्छ। यसले गर्दा भविष्यमा ओभरटाइम भत्ता दाबी गर्दा तपाईंको आधार कमजोर हुन सक्छ।

२. आफ्नो पद प्रतिशत बढाउन माग गर्दा अतिरिक्त घण्टा नजोडिन सक्छ

आफ्नो नियमित सम्झौतामा उल्लेख गरिएको समयभन्दा पछिल्लो १२ महिनामा नियमित रूपमा बढी काम गरेको कर्मचारीले वास्तवमा गरेको कामअनुसार बढाइएको पद (økt stilling) माग्न सक्ने आधार हुन्छ।

मानौं, तपाईंको पद ५० प्रतिशतको छ, तर पछिल्लो १२ महिनादेखि तपाईंले नियमित रूपमा ७० प्रतिशत बराबर काम गर्दै आउनुभएको छ भने पद बढाउन माग गर्न सक्नुहुन्छ। तर, अतिरिक्त सिफ्टहरू छुट्टै सम्झौताअन्तर्गत गरिएका छन् भने, रोजगारदाताले ती घण्टा तपाईंको नियमित काम होइन भन्न सक्छ र ठूलो पद माग्दा ती घण्टा गणनामा नपर्न सक्छन्।

त्यसैले हस्ताक्षर गर्नुअघि आफूले पहिले नै पद बढाउन माग गर्न सक्ने अवस्था बनाएको छ कि छैन जाँच्नुहोस्।

३. अतिरिक्त सिफ्ट पाउने तपाईंको प्राथमिकता कमजोर हुन सक्छ

पार्ट-टाइम काम गर्ने कर्मचारीलाई नयाँ कर्मचारी राख्नु वा बाहिरबाट मान्छे ल्याउनुअघि अतिरिक्त सिफ्ट पाउने कानुनी अधिकार हुन्छ, जसलाई 'fortrinnsrett' (प्राथमिकताको अधिकार) भनिन्छ।

तर, कतिपय नयाँ सम्झौतामा सिफ्टहरू “førstemann til mølla” (पहिलो आउनेलाई पहिलो प्राथमिकता) का आधारमा दिने वा रोजगारदाताले आफूले चाहेको कर्मचारीलाई मात्र छान्न सक्ने उल्लेख हुन सक्छ।

यस्तो व्यवस्थाले तपाईंको प्राथमिकताको अधिकार कमजोर बनाउन सक्छ। त्यसैले सम्झौताका सर्तहरू ध्यानपूर्वक पढ्नुपर्छ।

४. “हस्ताक्षर नगरे अतिरिक्त काम पाइँदैन” भन्ने दबाब नियमविपरीत हुन सक्छ

रोजगारदाताले तपाईंलाई अतिरिक्त सम्झौतामा हस्ताक्षर नगरे थप सिफ्ट नदिने प्रत्यक्ष वा अप्रत्यक्ष दबाब दिन सक्छन्। तर, पार्ट-टाइम कर्मचारीलाई अतिरिक्त सिफ्टमा प्राथमिकताको अधिकार हुने भएकाले यस्तो दबाब दिनु नियमविपरीत हुन सक्छ।

HK का अनुसार यसले पार्ट-टाइम कर्मचारीमाथि फरक व्यवहार गर्न नपाइने नर्वेली र युरोपेली संघको कानुनी व्यवस्थाको उल्लङ्घन गर्न सक्छ। यस्तो दबाब आएमा मौखिक कुरामा मात्र भर नपरी घटनाको विवरण, इमेल वा सन्देशहरू सुरक्षित राख्नुहोस्।

५. हस्ताक्षर गर्नैपरे आफ्ना अधिकार सुरक्षित रहने कुरा लेखाउनुहोस्

अतिरिक्त सम्झौतामा हस्ताक्षर गर्नैपर्ने अवस्था आएमा, आफ्ना अधिकार नत्यागेको कुरा सम्झौतामै स्पष्ट रूपमा लेखाउन प्रयास गर्नुपर्ने HK को सुझाव छ। उदाहरणका लागि:

  • भविष्यमा ओभरटाइम भत्ता माग्ने अधिकार कायम रहने।
  • अतिरिक्त सिफ्ट र खाली पदमा आवेदन गर्दा प्राथमिकताको अधिकार (fortrinnsrett) नहट्ने

रोजगारदाताले तुरुन्तै हस्ताक्षर गर्न दबाब दिए पनि त्यसलाई घरमा लगेर पढ्ने र आवश्यक परे ट्रेड युनियन वा कानुनी सल्लाहकारसँग बुझ्ने प्रयास गर्नुहोस्।

हस्ताक्षर गर्नुअघि के गर्ने? (चेकलिस्ट)

अतिरिक्त कामसम्बन्धी सम्झौता पाएमा यी विषय जाँच गर्नुहोस्:

  • अतिरिक्त सिफ्ट सामान्य सम्झौताअन्तर्गत हो कि छुट्टै सम्झौताअन्तर्गत हो?
  • अतिरिक्त घण्टाले भविष्यमा ठूलो पद प्रतिशत माग्दा मान्यता पाउँछ कि पाउँदैन?
  • ओभरटाइम भत्तासम्बन्धी अधिकारबारे सम्झौतामा के लेखिएको छ?
  • सिफ्ट “पहिले माग्नेलाई” दिने वा रोजगारदाताले स्वतन्त्र रूपमा छान्न सक्ने सर्त छ?
  • कर्मचारीको प्राथमिकताको अधिकार सुरक्षित रहने कुरा लेखिएको छ?
  • के तपाईंले सम्झौताको प्रतिलिपि प्राप्त गर्नुभयो?