नर्वेमा नयाँ शैक्षिक सत्र सुरु भएसँगै धेरै विद्यार्थी पढाइसँगै पार्टटाइम कामको खोजीमा छन्। कामबाट अतिरिक्त आम्दानी र व्यावहारिक अनुभव प्राप्त गर्न सकिए पनि पहिलोपटक नर्वेजियन श्रम बजारमा प्रवेश गर्ने विद्यार्थीलाई यहाँका नियम र अधिकारबारे अन्योल हुन सक्छ।
नर्वेको श्रम निरीक्षण निकाय (Arbeidstilsynet) ले पार्टटाइम वा अस्थायी रूपमा काम गर्ने व्यक्तिले पनि अन्य पूर्णकालीन कर्मचारीसरह आधारभूत श्रम अधिकार पाउने जनाउँदै यस विषयमा सचेत रहन आग्रह गरेको छ। काम सुरु गर्नुअघि तपाईंले जान्नैपर्ने मुख्य नियमहरू तल उल्लेख गरिएको छ।
लिखित रोजगार सम्झौता (Arbeidsavtale) अनिवार्य
नर्वेमा काम गर्ने सबै कर्मचारीले लिखित रोजगार सम्झौता पाउनुपर्छ र यो रोजगारदाताको कानुनी दायित्व हो। यदि काम एक महिनाभन्दा बढी चल्ने हो भने, काम सुरु भएको सात दिनभित्र सम्झौता तयार हुनुपर्छ। एक महिना वा कम समयको काम भए काम सुरु भएकै दिन सम्झौता उपलब्ध हुनुपर्छ।
सम्झौतामा काम गर्ने स्थान, पद, काम सुरु हुने मिति, काम गर्ने समय, तलब र भुक्तानीको मिति, परीक्षण अवधि र बिदासम्बन्धी विवरण स्पष्ट हुनुपर्छ। कुनै कुरा अस्पष्ट भए रोजगारदातासँग सोधेर वा लिखित रूपमा स्पष्टीकरण मागेर मात्र हस्ताक्षर गर्नु उपयुक्त हुन्छ।
तलब र पे-स्लिप (Lønnsslipp)
नर्वेमा सबै कामका लागि लागू हुने एउटै 'राष्ट्रिय न्यूनतम तलब' नभएकाले तलब सामान्यतः आपसी सहमतिमा तय गरिन्छ। तर निर्माण, सरसफाइ, होटल तथा रेस्टुरेन्ट, कृषि जस्ता १० वटा क्षेत्रमा भने कानुनी रूपमै न्यूनतम तलब तोकिएको छ र १५ जुन २०२६ देखि मोटर सवारी क्षेत्रमा पनि यो नियम लागू गरिएको छ।
तलब कति हो, घण्टाको हिसाबले वा महिनाको हिसाबले दिइन्छ, र साँझ, राति, सप्ताहान्त वा सार्वजनिक बिदामा काम गर्दा अतिरिक्त रकम पाइन्छ कि पाइँदैन भन्ने कुरा सम्झौतामा हेर्नुपर्छ। यस्ता अतिरिक्त भत्ताहरू सबै क्षेत्रमा कानुनले स्वतः सुनिश्चित गर्दैनन्। ती रोजगार सम्झौता, कार्यस्थलको आन्तरिक व्यवस्था वा सामूहिक सम्झौता अर्थात् tariffavtale बाट निर्धारण हुन सक्छन्।
अन्तर्राष्ट्रिय विद्यार्थीको हकमा २० घण्टाको सीमा
नेपालजस्ता ईयू वा ईईए बाहिरका देशबाट अध्ययन अनुमतिमा नर्वे आएका विद्यार्थीले आफ्नो बसोबास अनुमतिमा उल्लेख भएको कामको सीमा पालना गर्नुपर्छ। सामान्य अध्ययन अनुमतिले पढाइ चलिरहेको समयमा प्रतिसाता अधिकतम २० घण्टा र आधिकारिक बिदामा पूर्णकालीन काम गर्न अनुमति दिन्छ। यो नियम घरबाटै गरिने काम (रिमोट वर्क) मा पनि लागू हुन्छ
आधिकारिक बिदाहरूमा भने पूर्णकालीन काम गर्न अनुमति हुन्छ। अनुमति दिएको सीमाभन्दा बढी काम गर्दा भविष्यमा भिसा नवीकरण वा अध्यागमन प्रक्रियामा गम्भीर समस्या आउन सक्ने कुरामा सावधानी अपनाउनु जरुरी छ।

कामको समय र विश्राम
कानुनअनुसार सामान्य कामको समय अधिकतम नौ घण्टा प्रतिदिन र ४० घण्टा प्रतिसाता हो। धेरै कार्यस्थलमा सम्झौताअनुसार प्रतिसाता ३७.५ घण्टा सामान्य व्यवस्था हुन्छ। सिफ्ट, राति र आइतबार काम गर्ने केही कर्मचारीका लागि साप्ताहिक सीमा अझ कम हुन सक्छ।
कामको समय र विश्राम अवधि अभिलेख गर्ने जिम्मेवारी रोजगारदाताको हो। तर विद्यार्थीले पनि आफूले काम गरेको मिति, सुरु र समाप्त भएको समय तथा अतिरिक्त घण्टा व्यक्तिगत रूपमा टिपेर राख्नु राम्रो हुन्छ। पछि तलब वा कामको समयबारे विवाद भए यस्तो अभिलेख उपयोगी प्रमाण बन्न सक्छ।
दैनिक कामको समय साढे पाँच घण्टाभन्दा बढी भए कर्मचारीले कम्तीमा एउटा विश्राम पाउनुपर्छ। काम आठ घण्टा वा बढी भए विश्रामको कुल अवधि कम्तीमा ३० मिनेट हुनुपर्छ।
विश्राममा कर्मचारीले कार्यस्थल छोड्न नपाउने वा कामका लागि उपलब्ध रहनुपर्ने भए त्यो अवधि कामको समयका रूपमा गणना हुन सक्छ।
कर कार्ड (Skattekort)
नर्वेमा काम गर्ने जो कोहीसँग नर्वेजियन परिचय नम्बर र कर कार्ड हुनुपर्छ। धेरैजसो नयाँ विदेशी कर्मचारी स्वतः 'PAYE' (Kildeskatt på lønn) व्यवस्थामा समावेश हुन्छन्, जहाँ रोजगारदाताले निश्चित प्रतिशतका आधारमा सीधै तलबबाट कर काट्छन्।
यदि तपाईंसँग कर कार्ड छैन भने, रोजगारदाताले कानुनअनुसार तलबबाट ५० प्रतिशत कर काट्नुपर्ने हुन्छ, त्यसैले काम सुरु गर्नुअघि वा प्रारम्भिक दिनमै कर कार्डको व्यवस्था मिलाउनुपर्छ।
बिदा र बिदा भत्ताको अधिकार
पार्टटाइम कर्मचारीले पनि बिदा र बिदा भत्ता पाउने अधिकार राख्छन्। यो सामान्यतः कुल तलबको कम्तीमा १०.२ प्रतिशत हुन्छ र यसलाई नियमित मासिक तलबमा मिसाएर अस्पष्ट रूपमा दिन पाइँदैन। प्रायः यो अर्को वर्ष बिदा लिँदा वा जागिर छोड्ने बेलामा भुक्तानी गरिन्छ।
प्रमाण सुरक्षित राख्नुहोस्
रोजगार सम्झौता, कामको तालिका, आफूले टिपेको घण्टा, तलब विवरण, बैंक खातामा आएको रकम र रोजगारदातासँग भएको लिखित संवाद सुरक्षित राख्नुपर्छ। तलब नपाएको, काम गरेको घण्टा नदेखाइएको वा नियमविपरीत दबाब दिइएको अवस्थामा पहिले रोजगारदातालाई लिखित रूपमा जानकारी दिन सकिन्छ। समस्या समाधान नभए कर्मचारी संगठन, कानुनी सहायता वा Arbeidstilsynet बाट मार्गदर्शन लिन सकिन्छ।
पढाइसँगै गरिएको पार्टटाइम कामले आम्दानी मात्र होइन, नर्वेजियन भाषा, कार्यसंस्कृति र भविष्यको रोजगारीका लागि उपयोगी अनुभव पनि दिन सक्छ। तर काम सुरु गर्नुअघि आफ्नो अध्ययन अनुमतिले दिएको सीमा, रोजगार सम्झौता, तलब, कर र काम गर्ने समय स्पष्ट रूपमा बुझ्नु विद्यार्थीको हितमा हुन्छ।
छोटो चेकलिस्ट
काम सुरु गर्नुअघि यी कुरा जाँच गर्नुहोस्:
- लिखित रोजगार सम्झौता पाउनुभयो?
- घण्टाको वा मासिक तलब स्पष्ट छ?
- साँझ, राति र सप्ताहान्तको अतिरिक्त रकमबारे उल्लेख छ?
- कामको समय र ड्युटी तालिका स्पष्ट छ?
- कर कार्ड तयार छ?
- प्रत्येक महिना तलब विवरण पाउनुहुन्छ?
- आफ्नो अध्ययन अनुमतिले कति घण्टा काम गर्न दिन्छ भनेर जाँच गर्नुभयो?
- रोजगार सम्झौता, कामको समय र तलब विवरण सुरक्षित राख्नुभएको छ?
मुख्य स्रोत
- Arbeidstilsynet: विद्यार्थीका लागि पार्टटाइम कामसम्बन्धी सूचना [arbeidstilsynet.no]
- Arbeidstilsynet: लिखित रोजगार सम्झौता [arbeidstilsynet.no]
- UDI: अध्ययन अनुमतिमा काम गर्ने सीमा [udi.no], [udi.no]
- Skatteetaten: विदेशी कर्मचारीको कर कार्ड [skatteetaten.no], [skatteetaten.no]
