नर्वेमा पछिल्लो समय रेस्टुरेन्ट, किराना पसल, सरसफाइ, यातायात र निर्माणजस्ता सेवामूलक व्यवसायमा नेपालीहरूको संलग्नता बढ्दो छ। व्यवसाय विस्तारसँगै कर्मचारी राख्ने नेपाली रोजगारदाताको संख्या पनि वृद्धि भइरहेको छ।
तर, कर्मचारीलाई तलब दिएर काममा राख्नु मात्र पर्याप्त हुँदैन। रोजगारदाताले श्रम सम्झौता, काम गरेको समयको यथार्थ अभिलेख तथा स्वास्थ्य, वातावरण र सुरक्षा (HMS) सम्बन्धी नियमहरूको पनि पूर्ण रूपमा पालना गर्नुपर्छ।
आवश्यक कागजात अपूर्ण रहेमा वा नर्वेजियन श्रम निरीक्षण प्राधिकरण (Arbeidstilsynet) को निर्देशन समयमै पालना नगरे व्यवसायले गम्भीर आर्थिक कारबाही भोग्नुपर्ने हुन सक्छ।
होर्तेन (Horten) स्थित एउटा रेस्टुरेन्टले भर्खरै पाएको चेतावनी यसैको एउटा ज्वलन्त उदाहरण हो।
छड्के निरीक्षण र चार निर्देशन
होर्तेनको स्टोर्गाता (Storgata) मा रहेको Holes Delikatesse og Catering मा यसै वर्षको फेब्रुअरीमा Arbeidstilsynet ले पूर्वसूचनाविना नै छड्के अनुगमन गरेको थियो।
अनुगमनपछि उक्त रेस्टुरेन्टलाई मुख्य रूपमा चारवटा विषय तत्काल सुधार्न निर्देशन दिइयो:
- कामदारहरूको श्रम सम्झौता (Arbeidskontrakter)।
- काम गरेको समयको रेकर्ड (Registrering av arbeidstid)।
- सुरक्षा प्रतिनिधि (Verneombud) को छनोट।
- सुरक्षा प्रतिनिधिको लागि आवश्यक तालिम (Opplæring av verneombudet)।
रेस्टुरेन्टले अगस्टमा म्याद सकिनुअघि कागजातहरू बुझाए पनि प्राधिकरणले ती अपूर्ण रहेको भन्दै अस्वीकार गरिदियो। अब व्यवसायलाई आगामी १६ नोभेम्बरसम्म आवश्यक सुधार गरेर प्रमाण पेश गर्ने अन्तिम समयसीमा दिइएको छ।
तोकिएको समयभित्र सुधार नभए प्रत्येक निर्देशनका लागि दैनिक १,५०० क्रोनरका दरले जरिवाना (Tvangsmulkt) तिर्नुपर्ने चेतावनी दिइएको छ। चारवटै निर्देशन पूरा नभएको खण्डमा यो रकम दैनिक ६,००० क्रोनर पुग्नेछ, जुन समस्या समाधान नभएसम्म प्रत्येक कार्यदिन (सोमबार–शनिबार) लागू हुनेछ।
एउटै पुरानो प्रमाणपत्रले निम्त्याएको समस्या
अनुगमनका क्रममा उठेको एउटा मुख्य विषय verneombud को चयन थियो। व्यवसायले दैनिक व्यवस्थापक (Daglig leder) लाई नै सुरक्षा प्रतिनिधिको रूपमा उल्लेख गर्दै सन् २०१६ को पुरानो HMS तालिम प्रमाणपत्र बुझाएको थियो।
तर, नियमअनुसार रोजगारदाता वा व्यवसायको नेतृत्व गर्ने व्यक्ति आफैं सुरक्षा प्रतिनिधि बन्न मिल्दैन। प्रतिनिधि सधैँ कर्मचारीहरूमध्येबाटै चयन गरिनुपर्छ।
पारिवारिक रेस्टुरेन्टको तर्फबाट बोल्दै daglig leder ले यो केवल एउटा प्राविधिक भूल भएको बताइन्। उनी पहिले अरुले व्यवसाय सञ्चालन गर्दा verneombud थिइन्। पछि नयाँ प्रतिनिधि चयन गरिए पनि कागजात बुझाउँदा पुरानै प्रमाणपत्र पर्न गएकोले यो गलतफहमी सिर्जना भएको उनको भनाइ छ।
हाजिरी पुस्तिका (Personalliste) र टाइमसिट (Timeliste) बीचको भिन्नता
कर्मचारीको कामको समय कसरी रेकर्ड गरिन्छ भन्ने विषयमा पनि प्राधिकरण असन्तुष्ट देखिएको थियो। रेस्टुरेन्टले कर कार्यालय (Skatteetaten) को लागि तयार पारिएको कर्मचारी उपस्थितिको हाजिरी पुस्तिका र विश्राम सम्बन्धी फारम बुझाएको थियो।
तर, Arbeidstilsynet ले यो सूचीलाई पर्याप्त मानेन। हाजिरी पुस्तिका मुख्यतया कर नियन्त्रणका लागि मात्र हुन्छ, यसले कर्मचारीले वास्तवमा कति समय काम गरे, कति बेला विश्राम लिए र कति ओभरटाइम गरे भन्ने कुरा स्पष्ट रूपमा देखाउँदैन।
नियमअनुसार वास्तविक काम गरेको समय र विश्रामको विस्तृत रेकर्ड राख्न टाइमसिट (Arbeidstidsregistrering) अनिवार्य हुन्छ। रेस्टुरेन्टले भने आफूसँग इलेक्ट्रोनिक लगइन प्रणाली र तलबका लागि छुट्टै टाइमसिट रहेको र सो कागजात पछि बुझाइसकिएको दाबी गरेको छ।
श्रम सम्झौतामा अस्पष्टता
कर्मचारीको श्रम सम्झौतामा काम सुरु र समाप्त हुने समय प्रस्ट नभएको विषय पनि निरीक्षणमा उठाइएको थियो।
कामको चाप दिनअनुसार फरक हुने भन्दै रेस्टुरेन्टले सम्झौतामा निश्चित घडीको समय नतोकी दैनिक काम गर्ने घण्टा मात्र उल्लेख गरेको थियो। साथै, सम्झौतामा कानुनअनुसार लागू हुने तलब तथा कामका सर्त (Tariffavtale) को विवरण पनि नभएको औंल्याइएको थियो।
मुद्दा चाँडै बन्द हुने अपेक्षा
रेस्टुरेन्टले निरीक्षणमा उठाइएका अधिकांश विषय सच्याइसकेको जनाएको छ। Daglig leder का अनुसार अब केवल अक्टोबर महिनाको टाइमसिट (Timelister) मात्र बुझाउन बाँकी छ। अक्टोबर महिना नसकिएकाले पूरै महिनाको अभिलेख तत्काल बुझाउन नसकिएको र महिना सकिनेबित्तिकै बाँकी कागजात पठाएर मुद्दा बन्द हुनेमा उनीहरू विश्वस्त छन्।
Arbeidstilsynet सँग राम्रो संवाद भइरहेको र छड्के जाँचले ग्राहकलाई सुरक्षित महसुस गराउने भएकोले आफूहरूले यसलाई सकारात्मक रूपमै लिएको उनले बताएकी छन्।
नेपाली व्यवसायीले यसबाट के सिक्न सक्छन्?
होर्तेनको यो घटना कर्मचारी राखेर व्यवसाय सञ्चालन गर्ने सबै नेपाली व्यवसायीका लागि महत्त्वपूर्ण पाठ हो।
अनुगमनका क्रममा मौखिक रूपमा "हामीले नियम पालना गरेका छौँ" भन्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई प्रमाणित गर्ने सही र अद्यावधिक कागजातहरू देखाउन सक्नुपर्छ।
नेपाली व्यवसायीले विशेष रूपमा निम्न विषयहरूमा ध्यान दिनु जरुरी छ:
- लिखित श्रम सम्झौता: प्रत्येक कर्मचारीसँग नियमसम्मत लिखित श्रम सम्झौता अनिवार्य रूपमा हुनुपर्छ। सम्झौतामा तलब, काम सुरु र समाप्त हुने समय, पद, जिम्मेवारी र बिदाका सर्तहरू प्रस्ट खुलाउनुहोस्।
- विस्तृत टाइमसिट (Timeliste): कर कार्यालयलाई देखाउने हाजिरी सूची (Personalliste) र तलब दिने टाइमसिट (Timeliste) फरक कुरा हुन्। कर्मचारीले कति बजेदेखि कति बजेसम्म काम गरे, कहिले विश्राम लिए र ओभरटाइम गरे/नगरेको स्पष्ट देखिने वास्तविक कामको अभिलेख राख्नुहोस्।
- Verneombud (सुरक्षा प्रतिनिधि) को अनिवार्य व्यवस्था: नर्वेको नियमअनुसार सामान्यतया सबै व्यवसायमा कम्तीमा एकजना सुरक्षा प्रतिनिधि हुनैपर्छ। तर, ५ जनाभन्दा कम कर्मचारी भएका व्यवसायले सुरक्षा प्रतिनिधि नराख्ने हो भने, त्यसबारे रोजगारदाता र कर्मचारीबीच अनिवार्य रूपमा लिखित सहमति भएको हुनुपर्छ।
- नेतृत्वकर्ता प्रतिनिधि बन्न नपाउने: रोजगारदाता वा दैनिक व्यवस्थापक (Daglig leder) आफैं सुरक्षा प्रतिनिधि बन्न मिल्दैन। प्रतिनिधि सधैँ कर्मचारीहरूमध्येबाटै चयन गरिनुपर्छ र निजलाई अनिवार्य HMS तालिमसमेत दिएको हुनुपर्छ।
- पत्राचार र कागजातको गम्भीरता: तालिम प्रमाणपत्र, चयनसम्बन्धी कागजात र कर्मचारीका सम्झौताहरू सधैँ अद्यावधिक राख्नुहोस्। Arbeidstilsynet बाट कुनै पत्र आएमा त्यसमा उल्लिखित निर्देशन, समयसीमा र मागिएका प्रमाणहरूलाई गम्भीरतापूर्वक लिई समयमै समाधान खोज्नुहोस्।
