बच्चालाई घरमा एक्लै छोड्न मिल्छ? अभिभावकले जान्नुपर्ने महत्त्वपूर्ण कुराहरू
नर्वेमा बच्चालाई घरमा एक्लै छोड्न पाइने निश्चित उमेर सीमा छैन। निर्णय गर्दा बच्चाको परिपक्वता, एक्लै बस्ने अवधि, बच्चाको आफ्नै इच्छा र आवश्यक पर्दा नजिकै उपलब्ध हुने सहयोगलाई ध्यान दिनुपर्छ। बच्चा १८ वर्ष नपुग्दासम्म पर्याप्त हेरचाह र सुरक्षाको जिम्मेवारी अभिभावककै हुन्छ।
बजार गएर फर्किंदासम्म, विद्यालयपछि केही समय वा अभिभावक कामबाट घर नआउन्जेल बच्चालाई घरमा एक्लै छोड्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न धेरै परिवारमा उठ्ने गर्छ। कतिपयलाई लाग्न सक्छ, नर्वेमा बच्चालाई घरमा एक्लै छोड्न कानुनले कुनै निश्चित उमेर तोकेको होला।
तर, यसको उत्तर कुनै एउटा ठ्याक्कै उमेरले मात्र दिँदैन।
नर्वेमा बच्चा कति वर्षको भएपछि घरमा एक्लै बस्न पाउँछ भन्ने कुनै निश्चित कानुनी उमेर सीमा छैन। बच्चालाई एक्लै छोड्ने कि नछोड्ने निर्णय गर्दा उमेरका साथसाथै बच्चाको परिपक्वता, एक्लै बस्ने अवधि, दिन वा रातको समय, वरपर उपलब्ध सहयोग र बच्चाले आफूलाई सुरक्षित महसुस गर्छ कि गर्दैन भन्ने कुराहरूलाई मुख्य आधार मान्नुपर्छ।
निश्चित उमेर सीमा छैन, जिम्मेवारी भने अभिभावककै हुन्छ
बच्चालाई घरमा एक्लै छोड्न पाइन्छ कि पाइँदैन भन्ने प्रश्नमा नर्वेको कानुनले “यो उमेर पुगेपछि पाइन्छ” भनेर स्पष्ट सङ्ख्या तोकेको छैन। त्यसैले सात, दस वा तेह्र वर्ष पुगेपछि स्वतः एक्लै बस्न मिल्छ भन्ने कुनै कडा नियम छैन।
तर, बच्चा १८ वर्ष नपुग्दासम्म सुरक्षित र पर्याप्त हेरचाह पाउने व्यवस्था मिलाउने सम्पूर्ण जिम्मेवारी अभिभावकसँग रहन्छ। अभिभावक घरमा नभएको समयमा पनि उनीहरूको यो जिम्मेवारी समाप्त हुँदैन।
यसको अर्थ, बच्चालाई केही समय घरमा एक्लै छोड्नु आफैँमा गैरकानुनी होइन। मुख्य प्रश्न बच्चाको उमेर मात्रै नभई, त्यो अवस्थामा बच्चा मानसिक र शारीरिक रूपमा सुरक्षित छ कि छैन भन्ने हो।
उदाहरणका लागि, एक्लै बस्न अभ्यस्त र आवश्यक पर्दा के गर्ने भन्ने थाहा भएको बच्चा केही समय सुरक्षित रूपमा घरमा बस्न सक्छ। तर, उही उमेरको अर्को बच्चा एक्लै बस्न डराउन सक्छ, आपत्कालीन अवस्था सम्हाल्न नसक्न सक्छ वा तत्काल वयस्कको सहयोग आवश्यक पर्ने अवस्थामा हुन सक्छ।
छोटो समय र लामो समय एउटै कुरा होइन
अभिभावक नजिकैको पसल गएर फर्किने बेलासम्म बच्चालाई एक्लै छोड्नु र पूरै दिन, रातभर वा धेरै दिनसम्म एक्लै छोड्नु नितान्त फरक परिस्थिति हुन्।
बच्चा छोटो समय एक्लै बस्न सक्ने भए पनि लामो समयका लागि तयार नहुन सक्छ। साँझ वा रातको समयमा समस्या आएमा सहयोग पाउन कठिन हुन सक्ने भएकाले रातभर एक्लै छोड्ने विषयमा थप सावधानी अपनाउनु अत्यावश्यक हुन्छ।
Ung.no मा प्रकाशित कानुनी उत्तरहरूमा पनि घरमा एक्लै बस्न निश्चित उमेर सीमा नभएको, तर अभिभावकले बच्चाले त्यो जिम्मेवारी सम्हाल्न सक्छ कि सक्दैन भन्ने मूल्याङ्कन गर्नुपर्ने कुरा उल्लेख छ। १४ वा १५ वर्षका किशोरकिशोरीलाई सप्ताहान्त वा धेरै दिन एक्लै छोड्ने विषयमा पनि उनीहरूको अवस्था, परिपक्वता र उपलब्ध वयस्क सहयोगलाई ध्यान दिनुपर्ने बताइएको छ।
१५ वर्षको बच्चालाई दुई हप्तासम्म कुनै वयस्कको निगरानीबिना एक्लै छोड्ने प्रश्नमा, स्वास्थ्यकर्मीहरु त्यो अवधि लामो हुन सक्ने र नजिकका आफन्त वा विश्वासिलो वयस्कबाट निगरानीको व्यवस्था गर्नु उचित हुने सल्लाह दिन्छ्न।
त्यसैले, बच्चा केही घण्टा एक्लै बस्न सक्छ भन्दैमा रातभर वा धेरै दिनसम्म पनि एक्लै बस्न पूर्ण रूपमा तयार छ भन्ने मान्न हुँदैन।
बच्चाको कुरा सुन्नु र मनोविज्ञान बुझ्नु पनि आवश्यक
बच्चाले “म एक्लै बस्न सक्छु” भनेकै भरमा मात्र अभिभावकले त्यसलाई स्वीकार गरिहाल्नु हुँदैन। त्यसैगरी, अभिभावकलाई बच्चा तयार छ जस्तो लागे पनि यदि बच्चा आफैँ डराएको छ भने उसलाई जबर्जस्ती एक्लै छोड्नु उचित हुँदैन।
नर्वेको बालबालिकासम्बन्धी कानुन (Barneloven) अनुसार बच्चाको उमेर र परिपक्वता बढ्दै जाँदा उसको जीवनसँग सम्बन्धित निर्णयहरूमा उसको विचारलाई क्रमशः बढी महत्त्व दिनुपर्छ। अन्तिम जिम्मेवारी अभिभावकसँग रहे पनि बच्चाको कुरा सुन्न र त्यसलाई गम्भीरतापूर्वक लिनुपर्छ।
यसका लागि बच्चासँग पहिल्यै खुलेर कुरा गर्न सकिन्छ:
- एक्लै बस्दा कस्तो लाग्छ? डर लाग्छ कि लाग्दैन?
- केही समस्या भए सबैभन्दा पहिले कसलाई फोन गर्ने?
- कोही अपरिचितले ढोकाको घण्टी बजायो भने के गर्ने?
- आगलागीको सङ्केत (Fire alarm) बज्यो भने कहाँ जाने?
- फोन वा इन्टरनेट नचलेको खण्डमा कसरी र कोसँग सहयोग माग्ने?
यी प्रश्नहरूको उद्देश्य बच्चाको परीक्षा लिनु होइन, बरु बच्चा तयार छ कि छैन र उसलाई थप के सिकाउन आवश्यक छ भन्ने बुझ्नु हो।
पहिलोपटक सानो अभ्यासबाट सुरु गर्नुहोस्
बच्चा घरमा एक्लै बस्न तयार देखिएमा पहिलोपटक नै लामो समयका लागि छोड्नु आवश्यक छैन। अभिभावक नजिकै रहँदा छोटो समयको अभ्यासबाट सुरु गर्न सकिन्छ।
पहिलो अभ्यासका रूपमा अभिभावक केही समयका लागि नजिकको पसल जान सक्छन्। यस अवधिमा बच्चासँग फोन हुनुपर्छ र अभिभावक कहाँ गएको तथा कति समयमा फर्किने भन्ने कुरा बच्चालाई स्पष्ट भन्नुपर्छ। फर्किएपछि बच्चालाई एक्लै बस्दा के सहज भयो र के अप्ठ्यारो लाग्यो भनेर सोध्न सकिन्छ।
यो छोटो अभ्यास राम्रो भयो भने बिस्तारै समय बढाउँदै लैजान सकिन्छ। तर, बच्चा डराएको, पटकपटक फोन गरेको वा कुनै सामान्य अवस्था पनि सम्हाल्न नसकेको देखिएमा अझै केही समय पर्खनु नै राम्रो हुन्छ।
घरका नियमहरू (House Rules) स्पष्ट हुनुपर्छ
बच्चालाई घरमा एक्लै छोड्दा के गर्न मिल्छ र के गर्न मिल्दैन भन्ने नियम परिवारमा पहिल्यै तय गर्नु उपयोगी हुन्छ:
- बच्चाले माइक्रोवेभ वा चुलो प्रयोग गरेर खाना तताउन सक्छ कि सक्दैन?
- साथीहरूलाई घरमा बोलाउन पाउँछ कि पाउँदैन?
- कुनै कामले बाहिर निस्कनुपर्ने भए के गर्ने?
ढोका खोल्ने विषयमा पनि बच्चालाई स्पष्ट बुझाउनुपर्छ। आफूले अपेक्षा नगरेको व्यक्ति आएमा ढोका नखोल्ने र आफू घरमा एक्लै भएको कुरा कुनै पनि अपरिचितलाई नभन्ने जस्ता सामान्य सुरक्षा उपायहरू सिकाउनु महत्त्वपूर्ण हुन्छ।
बच्चासँग अभिभावकको फोन नम्बर मात्र होइन, आवश्यक पर्दा छिट्टै आइपुग्न सक्ने अर्को विश्वासिलो वयस्क (जस्तै: छिमेकी, नजिकको आफन्त वा विश्वासिलो साथी) को सम्पर्क नम्बर पनि हुनुपर्छ।
सानो भाइबहिनीको जिम्मा दिनु नितान्त फरक कुरा हो
एउटा बच्चा आफैँ केही समय एक्लै बस्न सक्षम हुनु र उसलाई आफूभन्दा सानो भाइबहिनीको जिम्मेवारी दिनु एउटै कुरा होइन।
अर्को बच्चाको खाना, सुरक्षा, डर, झगडा वा आकस्मिक समस्या सम्हाल्नु निकै ठूलो थप जिम्मेवारी हो। विशेषगरी धेरै सानो बच्चाको हेरचाह किशोरकिशोरीलाई लामो समयका लागि छोड्दा अभिभावकले निकै सावधानीपूर्वक मूल्याङ्कन गर्नुपर्छ।
ठूलो बच्चा घरमा छ भन्ने आधारमा मात्र सानो बच्चाका लागि पर्याप्त वयस्क हेरचाह उपलब्ध भएको मान्न मिल्दैन। बच्चाहरूको उमेर, आपसी सम्बन्ध, परिपक्वता र आपत्कालीन अवस्थामा उपलब्ध वयस्क सहयोग सबै पक्षलाई हेर्नुपर्छ। अभिभावक घरमा उपस्थित नभए पनि बच्चाहरूले पर्याप्त हेरचाह पाउने व्यवस्था मिलाउने कानुनी जिम्मेवारी अभिभावकसँगै रहन्छ।
आपत्कालीन अवस्थाका लागि पूर्वतयारी
बच्चा एक्लै बस्नुअघि सामान्य आपत्कालीन अवस्थामा के गर्ने भन्ने कुरा उसलाई थाहा हुनुपर्छ।
- तत्काल जीवन वा स्वास्थ्यमा गम्भीर खतरा भए: 113
- आगलागी भए: 110
- तुरुन्तै प्रहरी सहायता आवश्यक भए: 112
बच्चाले आफ्नो घरको ठेगाना स्पष्ट रूपमा भन्न सक्ने र फोन गर्दा के भएको हो भनेर छोटकरीमा बुझाउन सक्ने हुनुपर्छ। यी फोन नम्बरहरू र विश्वासिलो व्यक्तिको सम्पर्क नम्बर लेखेर सजिलै देखिने ठाउँ (जस्तै: फ्रिजको ढोकामा) टाँस्न सकिन्छ।
तर, बच्चालाई डर देखाएर सबै सम्भावित दुर्घटनाहरूको लामो सूची सुनाउनु आवश्यक छैन। घरमा धुवाँ देखिएमा बाहिर निस्कने, गम्भीर चोट लागेमा सहायता बोलाउने र अभिभावकसँग सम्पर्क नभए अर्को वयस्कलाई फोन गर्ने जस्ता आधारभूत कुराहरू सिकाउनु पर्याप्त हुन सक्छ।
कहिले बच्चालाई एक्लै छोड्नु हुँदैन?
- यदि बच्चाले एक्लै बस्न अस्वीकार गरिरहेको छ, अत्यधिक डराउँछ वा आवश्यक पर्दा सहयोग माग्न सक्दैन भने उसलाई एक्लै छोड्नु हुँदैन।
- बिरामी बच्चा, नियमित निगरानी वा औषधि आवश्यक पर्ने बच्चालाई एक्लै छोड्नु हुँदैन।
- जोखिमलाई ठीकसँग बुझ्न नसक्ने वा आकस्मिक अवस्थामा घरबाट सुरक्षित रूपमा निस्कन नसक्ने बच्चाका लागि सधैँ वयस्कको उपस्थिति आवश्यक हुन्छ।
- अभिभावक लामो दूरीमा जाने, मोबाइल नेटवर्क नहुने ठाउँमा जाने वा छिट्टै पुग्न सक्ने अर्को वयस्क नहुने अवस्थामा पनि थप सावधानी आवश्यक हुन्छ।
अन्तिम निर्णय उमेरले मात्र गर्दैन
नर्वेमा बच्चालाई घरमा एक्लै छोड्न पाइने कुनै निश्चित उमेर छैन। त्यसैले अर्को परिवारले आफ्नो दस वर्षको बच्चालाई एक्लै छोड्छ भन्दैमा आफ्नो बच्चा पनि तयार छ भन्ने हुँदैन।
सुरक्षित निर्णयका लागि बच्चाको परिपक्वता, एक्लै बस्ने इच्छा, समयको अवधि, दिन वा रात, स्वास्थ्य, घरको अवस्था र नजिकै उपलब्ध सहयोगलाई एकसाथ हेर्नुपर्छ।
अभिभावकको मुख्य जिम्मेवारी बच्चालाई स्वतन्त्र बन्न सिकाउनु मात्र होइन, बरु त्यो स्वतन्त्रता सुरक्षित तरिकाले अभ्यास गर्न सक्ने निर्भय वातावरण तयार गरिदिनु पनि हो।
Norsk
महत्त्वपूर्ण नर्वेजियन शब्दहरू
- Foreldreansvar (फोरेल्द्रे-आन्सभार)
- बच्चा १८ वर्ष नपुग्दासम्म उसको हेरचाह, सुरक्षा र पालनपोषण सुनिश्चित गर्ने तथा जीवनका महत्त्वपूर्ण विषयमा निर्णय गर्ने अभिभावकको कानुनी जिम्मेवारी। अभिभावक घरमा उपस्थित नभएको समयमा पनि बच्चाले पर्याप्त हेरचाह र आवश्यक सहयोग पाउने व्यवस्था मिलाउनुपर्छ।
- Forsvarlig omsorg (फोशभार्ली ओमसोर्ग)
- बच्चाको उमेर, परिपक्वता, स्वास्थ्य, आवश्यकता र परिस्थितिअनुसार दिइने पर्याप्त, उचित र सुरक्षित हेरचाह। बच्चालाई घरमा एक्लै छोड्दा उसले परिस्थिति सम्हाल्न सक्छ कि सक्दैन र आवश्यक पर्दा वयस्कको सहयोग पाउन सक्छ कि सक्दैन भन्ने कुरा पनि यसैअन्तर्गत पर्छ।
- Barneloven (बार्नेलोभेन)
- नर्वेमा बच्चा र अभिभावकका अधिकार, जिम्मेवारी र आपसी सम्बन्धबारे व्यवस्था गर्ने कानुन। यसले अभिभावकीय जिम्मेवारी, बच्चाको हेरचाह र बच्चाको उमेर तथा परिपक्वताअनुसार उसको विचारलाई कति महत्त्व दिने भन्ने आधार तय गर्छ।
- Medbestemmelse (मेदबेस्तेमेल्से)
- आफ्नो जीवनसँग सम्बन्धित निर्णयहरूमा बच्चाले आफ्नो विचार राख्न र त्यो विचारलाई उमेर तथा परिपक्वताअनुसार महत्त्व दिइन पाउने अधिकार। बच्चालाई घरमा एक्लै छोड्ने निर्णय गर्दा पनि बच्चा तयार छ कि छैन, उसलाई डर लाग्छ कि लाग्दैन र ऊ आफैँ के चाहन्छ भन्ने कुरा सुन्नुपर्छ।
थप आधिकारिक लिंकहरू
यो जानकारी कसका लागि हो
- परिवार र अभिभावक
फोरम
समुदायका प्रश्न र अनुभवहरू
फोरमका सामग्री सहभागीहरूको आफ्नै अनुभव र विचार हुन्। तिनले आधिकारिक स्रोत वा प्रमाणित मार्गदर्शनलाई प्रतिस्थापन गर्दैनन्।