Barnevernstjenestenविशेष जानकारी

बार्नेभेर्नेले (Barnevernet) बच्चा लगेपछि के गर्ने? अभिभावकले जान्नैपर्ने अधिकार र प्रक्रिया

बार्नेभेर्नेले बच्चालाई घरबाट अलग गर्नु अत्यन्त पीडादायी अवस्था हो, तर यसको अर्थ सबै कुरा सकियो वा निर्णय सधैं सही छ भन्ने होइन। यस्तो बेला निर्णयको कारण बुझ्ने, निःशुल्क वकिलको सहायता लिने, गलत विवरण भए प्रमाणसहित सच्याउने र आवश्यक परे निर्णयविरुद्ध उजुरी गर्ने प्रक्रिया जान्नुहोस्। साथै बच्चासँगको सम्पर्क र अभिभावकका कानुनी अधिकारबारे जानकारी।

जिम्मेवार सरकारी निकाय
Barnevernstjenesten
प्रकाशित मिति
पछिल्लो पटक जाँच गरिएको
अर्को समीक्षा मिति

बार्नेभेर्ने (Barnevernet) ले बच्चालाई घरबाट अलग गर्ने निर्णय गर्नु कुनै पनि आमाबुबाका लागि अत्यन्तै पीडादायी र अन्योलपूर्ण अवस्था हो। यस्तो बेला डर, रिस र आफ्नो बच्चा कहिले फर्किन्छ भन्ने चिन्ताले सताउनु पूर्ण रूपमा स्वाभाविक हो।

तर बच्चालाई घरबाट लगिँदैमा सबै कुरा सकियो वा बार्नेभेर्नेको निर्णय नै अन्तिम सत्य हो भन्ने हुँदैन। बच्चा घरमै रहँदा गम्भीर हानि हुन सक्ने अवस्था देखिएमा तत्काल बच्चालाई अलग राख्ने निर्णय गर्न सकिन्छ। यस्तो निर्णयलाई नर्वेजियनमा akuttvedtak om omsorgsovertakelse भनिन्छ।

बच्चालाई परिवारबाट अलग गर्नु निकै गम्भीर हस्तक्षेप भएकाले यसका लागि कानुनले निश्चित सर्त तोकेको हुन्छ र निर्णयमाथि थप कानुनी नियन्त्रण पनि हुन्छ। त्यसैले यस्तो संवेदनशील घडीमा आवेगमा आएर कदम चाल्नुभन्दा के निर्णय भएको छ, किन भएको छ र अब आफूले के गर्न सक्छु भन्ने बुझेर शान्त र व्यवस्थित रूपमा अगाडि बढ्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ।

बच्चालाई किन लगिएको हो स्पष्ट रूपमा बुझ्नुहोस्

सबैभन्दा पहिलो कदम बच्चालाई किन लगिएको हो भन्ने स्पष्ट रूपमा बुझ्नु हो। आफ्नो बच्चा कुन निर्णयअन्तर्गत लगिएको हो, बार्नेभेर्नेको मुख्य चिन्ता के हो, बच्चा अहिले कसको हेरचाहमा छ र आफ्नो मुद्दा हेर्ने व्यक्ति को हो भन्ने जानकारी माग्नुहोस्। बच्चालाई कहिले भेट्न वा कुरा गर्न पाइन्छ भन्ने पनि सुरुमै सोध्नुहोस्।

लिखित निर्णय माग्नुहोस् र नबुझेको कुरा सोध्नुहोस्

उनीहरूले गरेको निर्णयको लिखित प्रति (vedtak) मागेर सुरक्षित राख्नुहोस्। यदि पत्रमा लेखिएका वा बैठकमा भनिएका कुरा राम्ररी बुझिएको छैन भने बुझेजस्तो गरेर सहमति नजनाउनुहोस्। नबुझेको कुरा फेरि सोध्नुहोस्।

नर्वेजियन भाषाका कारण कुरा बुझ्न समस्या भइरहेको छ भने दोभाषे (tolk) चाहिएको कुरा स्पष्ट रूपमा भन्नुहोस्। बच्चालाई नै आमाबुबाको दोभाषे बनाउनु उचित हुँदैन।

सकेसम्म चाँडो वकिलसँग कुरा गर्नुहोस्

यस्तो अवस्थामा एक्लै सबै कानुनी प्रक्रिया सामना गर्ने प्रयास गर्नु पनि ठीक हुँदैन। तत्काल बच्चालाई अलग गर्ने निर्णय गरेपछि त्यसलाई Barneverns- og helsenemnda मा पठाइन्छ। यो अदालतजस्तै काम गर्ने स्वतन्त्र निकाय हो। त्यहाँ सकेसम्म ४८ घण्टाभित्र निर्णयको प्रारम्भिक जाँच हुन्छ। तर यो ४८ घण्टाको जाँचलाई अभिभावकले गरेको पूर्ण उजुरीको सुनुवाइ भने मानिँदैन।

त्यसैले सकेसम्म चाँडो वकिलसँग कुरा गर्नुहोस्। यस्ता गम्भीर मुद्दामा कानुनअनुसार अधिकार भएको अभिभावकले राज्यले खर्च बेहोर्ने वकिल पाउन सक्छन्। आफ्नो रोजाइको वकिल लिन पनि सकिन्छ। आवश्यक भए Barneverns- og helsenemnda ले वकिल खोज्न सहयोग गर्न सक्छ।

वकिलको खर्च धान्न सकिँदैन भनेर कानुनी सहायता नलिई बस्नु हुँदैन।

वकिललाई बार्नेभेर्नेबाट आएका पत्र, निर्णय र मुद्दासँग सम्बन्धित महत्त्वपूर्ण कागजातहरू देखाउनुहोस्। आफू किन निर्णयसँग असहमत हुनुहुन्छ भन्ने कुरा पनि स्पष्ट रूपमा बताउनुहोस्। घटनाहरू धेरै छन् भने कुन घटना कहिले भयो भन्ने मितिसहितको सानो सूची बनाएर राख्दा पछि वकिलसँग कुरा गर्दा पनि सजिलो हुन्छ।

बार्नेभेर्नेको निर्णय सधैं सही हुन्छ भन्ने छैन

बार्नेभेर्नेको मुख्य जिम्मेवारी बच्चाको सुरक्षा गर्नु हो। बच्चाको सुरक्षामा गम्भीर खतरा देखिएको अवस्थामा उसले हस्तक्षेप गर्नु आवश्यक हुन सक्छ। तर बार्नेभेर्नेले गरेका सबै मूल्याङ्कन र निर्णय सधैं सही हुन्छन् भन्ने छैन। त्यसैले नै यस्ता गम्भीर निर्णयमाथि अर्को स्वतन्त्र निकायले जाँच गर्ने र निर्णयलाई चुनौती दिन सकिने कानुनी व्यवस्था छ।

कागजातमा गलत कुरा लेखिएको छ भने के गर्ने?

बार्नेभेर्नेले तयार पारेका कागजातहरू ध्यान दिएर पढ्नुहोस्। यदि त्यहाँ कुनै कुरा गलत छ भने केवल “यो सबै झुटो हो” भनेर बस्नु प्रभावकारी हुँदैन। बरु के लेखिएको छ, त्यसमा के गलत छ, वास्तवमा के भएको थियो र त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण छ कि छैन भनेर छुट्टाछुट्टै टिपोट गर्नुहोस्।

उदाहरणका लागि, कुनै घटनाको मिति गलत लेखिएको हुन सक्छ, आफूले नभनेको कुरा भनेको भनेर उल्लेख गरिएको हुन सक्छ वा घटनाको महत्त्वपूर्ण भाग छुटेको हुन सक्छ। त्यस्तो अवस्थामा सम्बन्धित सन्देश, इमेल, स्वास्थ्यसम्बन्धी कागजात, स्कुल वा बार्नेहागेको सान्दर्भिक जानकारी वा अन्य प्रमाण सुरक्षित राख्नुहोस् र वकिललाई देखाउनुहोस्।

तथ्यको जवाफ तथ्य र प्रमाणबाट दिनु धेरै प्रभावकारी हुन्छ।

असहमत हुनु र सहयोग नगर्नु एउटै कुरा होइन

बार्नेभेर्नेसँग असहमत हुनु र उनीहरूलाई सहयोग नगर्नु एउटै कुरा पनि होइन। तपाईं बैठकमा उपस्थित हुन सक्नुहुन्छ, उनीहरूले सोधेका सान्दर्भिक प्रश्नको जवाफ दिन सक्नुहुन्छ र आवश्यक जानकारी उपलब्ध गराउन सक्नुहुन्छ। त्यही समयमा “यो कुरा सही होइन” वा “यस घटनाबारे मेरो भनाइ फरक छ” भनेर आफ्नो असहमति पनि स्पष्ट रूपमा राख्न सक्नुहुन्छ।

रिसमा गलत कदम नचाल्नुहोस्

आफ्नो बच्चा लगिएको बेला रिस उठ्नु स्वाभाविक हो। तर भावनामा आएर गरिने केही कामले अवस्था झन् जटिल बनाउन सक्छ। बार्नेभेर्नेका कर्मचारीलाई धम्की दिने, फोनमा गाली गर्ने वा कर्मचारीको नाम र व्यक्तिगत जानकारी सामाजिक सञ्जालमा राखेर आक्रमण गर्ने बाटोमा नजानुहोस्।

आफूलाई अन्याय भएको लागेको छ भने त्यसलाई कानुनी प्रक्रिया, तथ्य र प्रमाणमार्फत चुनौती दिनुहोस्।

सबै महत्त्वपूर्ण कागजात सुरक्षित राख्नुहोस्

सुरुदेखि नै कागजातहरू पनि व्यवस्थित राख्नु राम्रो हुन्छ। बार्नेभेर्नेबाट आएका पत्र र इमेल, महत्त्वपूर्ण सन्देश, बैठक भएका मिति र उठेका मुख्य कुरा, बच्चासँग भएको भेटघाटको जानकारी, स्वास्थ्यसम्बन्धी सान्दर्भिक कागजात, स्कुल वा बार्नेहागेबाट आएका आवश्यक जानकारी र आफूले लिएको उपचार वा अन्य सहायता सम्बन्धी प्रमाण एउटै सुरक्षित ठाउँमा राख्नुहोस्।

सकेजति धेरै कागज जम्मा गर्नु नै राम्रो हुन्छ भन्ने चाहिँ होइन। मुद्दासँग सम्बन्धित प्रमाण के हो भन्नेबारे वकिलसँग सल्लाह लिनु उचित हुन्छ।

बच्चालाई कहिले र कसरी भेट्न पाइन्छ?

बच्चा लगिएपछि आमाबुबाको अर्को ठूलो चिन्ता उसलाई भेट्न पाइन्छ कि पाइँदैन भन्ने हुन्छ।

बच्चालाई कहिले, कति समय र कसरी भेट्न पाइन्छ? फोन वा भिडियोमा कुरा गर्न पाइन्छ कि पाइँदैन? भेट हुँदा अर्को व्यक्ति पनि उपस्थित हुन्छ कि हुँदैन? यी कुरा स्पष्ट रूपमा सोध्नुहोस्। बच्चालाई भेट्ने समय वा सम्पर्कमा लगाइएको सीमासँग सहमत हुनुहुन्न भने त्यसबारे पनि वकिललाई बताउनुहोस्ब च्चासँग भेट हुँदा भने उसलाई आफ्नो मुद्दाको बीचमा नराख्नुहोस्। नयाँ घर वा वातावरणमा पुगेको बच्चा आफैं पनि डराएको, दुःखी वा अन्योलमा हुन सक्छ।

त्यसैले भेट्नेबित्तिकै “बार्नेभेर्नेले तिमीलाई के भन्यो?”, “त्यहाँ के-के भयो?”, “तिमी मसँग बस्न चाहन्छु भनेर भन” जस्ता कुरा गरेर सोधपुछ वा दबाब नदिनुहोस्।

बच्चाको हेरचाह गरिरहेका व्यक्तिविरुद्ध बोल्न पनि उसलाई उक्साउनु हुँदैन।

वयस्कहरूबीचको कानुनी विवाद समाधान गर्ने जिम्मेवारी बच्चाको होइन। बरु उसले आमाबुबाबाट “हामी तिमीलाई माया गर्छौं। यो तिम्रो गल्ती होइन।” भन्ने सुरक्षा र भरोसा महसुस गर्न पाउनु महत्त्वपूर्ण हुन्छ।

बच्चा घर फर्कन के परिवर्तन आवश्यक छ?

यससँगै बार्नेभेर्नेलाई एउटा अत्यन्त महत्त्वपूर्ण प्रश्न सोध्नुहोस्:

“मेरो बच्चा सुरक्षित रूपमा घर फर्कन सक्ने अवस्था बनाउन के परिवर्तन हुनुपर्छ?”

यो प्रश्नको जवाफ सकेसम्म स्पष्ट रूपमा बुझ्ने प्रयास गर्नुहोस्। परिवारअनुसार समस्या फरक हुन सक्छ। कसैको अवस्थामा घरभित्रको हिंसा वा गम्भीर झगडा मुख्य चिन्ता हुन सक्छ। कसैको अवस्थामा मदिरा वा लागूऔषध, मानसिक स्वास्थ्य, बच्चाको हेरचाह वा अरू कुनै गम्भीर समस्या उठाइएको हुन सक्छ।

बार्नेभेर्नेले औंल्याएको वास्तविक समस्या छ भने त्यसलाई केवल अस्वीकार गरेर बस्नुभन्दा सुधार गर्न काम गर्नु महत्त्वपूर्ण हुन्छ। आवश्यक उपचार लिने, सहायता स्वीकार गर्ने वा घरको अवस्था सुधार्ने जस्ता ठोस परिवर्तनले बच्चाका लागि घर सुरक्षित भएको देखाउन मद्दत गर्न सक्छ।

तर यसको अर्को पाटो पनि उत्तिकै महत्त्वपूर्ण छ। आरोप गलत छ भने नगरेको कुरा गरेको हुँ भनेर स्वीकार गर्नुपर्ने हुँदैन। त्यस्तो अवस्थामा किन आरोप गलत हो भन्ने स्पष्ट रूपमा बताउनुहोस् र उपलब्ध प्रमाण वकिललाई दिनुहोस्।

तत्काल बच्चालाई घरबाट अलग गर्ने निर्णयसँग असहमत हुनुहुन्छ भने त्यसविरुद्ध Barneverns- og helsenemnda मा उजुरी गर्न सकिन्छ। यस्तो उजुरी लिखित रूपमा मात्र होइन, मौखिक रूपमा पनि दिन सकिने व्यवस्था छ। यस्ता उजुरीलाई छिटो हेर्ने व्यवस्था हुन्छ र सामान्यतया एक हप्ताभित्र निर्णय गर्ने लक्ष्य राखिन्छ। व्यवहारमा वकिलले अभिभावकको तर्फबाट यस प्रक्रियामा सहयोग गर्न सक्छन्।

तर एउटा कुरा ध्यान दिनुपर्छ: बार्नेभेर्नेसँग सम्बन्धित सबै प्रकारका उजुरी एउटै ठाउँमा जाँदैनन्। कुन निर्णय गरिएको हो र तपाईं के कुराविरुद्ध उजुरी गर्न चाहनुहुन्छ भन्ने आधारमा प्रक्रिया फरक हुन सक्छ। त्यसैले कुनै निर्णय चित्त नबुझेमा “यसविरुद्ध कहाँ र कति समयभित्र जानुपर्छ?” भनेर वकिलसँग तुरुन्तै बुझ्नु राम्रो हुन्छ।

के बच्चा फेरि घर फर्कन सक्छ?

अन्ततः धेरै आमाबुबाको सबैभन्दा ठूलो प्रश्न हुन्छ:

“के मेरो बच्चा फेरि घर फर्कन सक्छ?”

हो, बच्चालाई एकपटक घरबाट अलग गरिएको छ भन्दैमा ऊ अब कहिल्यै घर फर्कन सक्दैन भन्ने हुँदैन। तत्काल गरिएको निर्णय आफैंमा बच्चा सधैंका लागि परिवारबाट अलग रहने अन्तिम निर्णय पनि होइन। त्यसपछि के हुन्छ भन्ने कुरा बच्चालाई किन अलग गरिएको थियो, देखिएको जोखिम अझै कायम छ कि छैन, घरको अवस्था कसरी परिवर्तन भएको छ र अगाडिको कानुनी प्रक्रियाबाट के निष्कर्ष आउँछ भन्नेमा निर्भर हुन्छ।

त्यसैले यस्तो अवस्थामा दुईवटा काम सँगसँगै गर्नु आवश्यक हुन्छ।

वास्तविक समस्या छ भने त्यसलाई सुधार गर्न गम्भीर रूपमा काम गर्ने।
निर्णय वा आरोप गलत छ भने कानुनी रूपमा त्यसलाई चुनौती दिने।

यी दुई कुरा एकअर्काका विरोधी होइनन्।

निर्णय चित्त नबुझे अदालत जान सकिन्छ

मुद्दा Barneverns- og helsenemnda सम्म पुगेर त्यहाँको निर्णय पनि चित्त नबुझे कानुनी प्रक्रिया त्यहीँ समाप्त नहुन सक्छ। त्यहाँको निर्णयलाई जिल्ला अदालत बाट पुनरावलोकन गराउन सकिन्छ। यस्तो मुद्दा अदालतमा लैजाने सामान्य समयसीमा निर्णय प्राप्त भएको मितिदेखि एक महिना हुने भएकाले निर्णय चित्त नबुझे समय खेर नफाली वकिलसँग कुरा गर्नु महत्त्वपूर्ण हुन्छ।

बच्चालाई घरबाट लगिएको दिनमा आमाबुबालाई आफूले सबै कुरा गुमाएको महसुस हुन सक्छ। तर बच्चा लगियो भन्ने तथ्य आफैंमा अभिभावक गलत र बार्नेभेर्ने सही भएको अन्तिम फैसला होइन। त्यसैले निर्णय किन गरिएको हो बुझ्नुहोस्। लिखित कागजात सुरक्षित राख्नुहोस्। सकेसम्म छिटो वकिलसँग कुरा गर्नुहोस्। गलत तथ्य भए प्रमाणसहित सच्याउनुहोस्। बच्चालाई भेट्न र सम्पर्क गर्न पाउने व्यवस्थाबारे बुझ्नुहोस्।

वास्तविक समस्या छ भने त्यसलाई सुधार गर्न काम गर्नुहोस्। निर्णय गलत छ भने कानुनले दिएको बाटो प्रयोग गरेर त्यसलाई चुनौती दिनुहोस्।

र यो सबै प्रक्रियाको बीचमा एउटा कुरा नबिर्सनुहोस्: वयस्कहरूको विवाद र कानुनी लडाइँको भारी बच्चालाई बोक्न दिनुहुँदैन।

महत्त्वपूर्ण सूचना: यो गाइड सामान्य जानकारीका लागि तयार गरिएको हो र यसलाई व्यक्तिगत कानुनी सल्लाहका रूपमा लिनु हुँदैन। बार्नेभेर्नेसम्बन्धी प्रत्येक मुद्दाको परिस्थिति फरक हुन सक्छ। आफ्नो मुद्दामा लागू हुने अधिकार, उजुरीको समयसीमा र अगाडिको प्रक्रियाबारे सकेसम्म चाँडो योग्य वकिलसँग सल्लाह लिनुहोस्।

Norsk

महत्त्वपूर्ण नर्वेजियन शब्दहरू

Akuttvedtak (आकुत्त-भेद्ताक)
आपत्कालीन निर्णय। बच्चालाई तत्काल गम्भीर खतरा भएको खण्डमा तुरुन्तै सुरक्षित स्थानमा सार्न गरिने निर्णय। यो सामान्य प्रक्रिया पूरा नगरीकन तत्कालै लागू गरिन्छ।
Vedtak (वेद्ताक)
सरकारी निकायबाट आएको औपचारिक निर्णय। NAV वा अन्य सरकारी निकायले आवेदन जाँच गरेपछि दिएको लिखित र औपचारिक निर्णयलाई Vedtak भनिन्छ। यसमा आवेदन स्वीकृत वा अस्वीकृत भएको, कति रकम पाइने, कति समयसम्म पाइने र निर्णयविरुद्ध कसरी उजुरी गर्ने भन्ने जानकारी हुन सक्छ।
Omsorgsovertakelse (ओम्सोर्गस-ओभर-ताकेल्से)
हेरचाहको जिम्मेवारी हस्तान्तरण। घरको वातावरण बच्चाका लागि पूर्ण रूपमा असुरक्षित भएमा र घरमै दिइने सहयोगले पनि काम नगरेमा, कानुनी प्रक्रियामार्फत अभिभावकबाट बच्चाको जिम्मेवारी कोमुनेले लिने गम्भीर निर्णय।
Klage (क्लागे)
कुनै निर्णय, सेवा, वस्तु वा दाबीप्रति चित्त नबुझेर सम्बन्धित निकाय वा व्यक्तिसमक्ष गरिने औपचारिक उजुरी वा पुनरावेदनलाई Klage भनिन्छ। सरकारी निकाय (जस्तै: NAV वा UDI) को निर्णय गलत लागेमा त्यसको पुनःमूल्याङ्कनका लागि दिइने निवेदनदेखि लिएर, घरभाडा विवाद वा किनेको सामान बिग्रिएर गरिने दाबीसमेत यसैभित्र पर्छन्। आधिकारिक निर्णयहरूको हकमा उजुरी दिने प्रक्रिया र म्याद सामान्यतया निर्णयपत्रमै खुलाइएको हुन्छ।
Samvær (साम्भैर)
बच्चा र आमाबुबा वा अन्य नजिकका व्यक्तिबीच हुने प्रत्यक्ष भेटघाटलाई samvær भनिन्छ। यस्तो भेटघाट कति पटक, कति समय र कुन अवस्थामा हुने भन्ने कुरा बच्चाको आवश्यकता र हित हेरेर तय गरिन्छ। भेटघाटका बेला निगरानीका लागि अर्को व्यक्ति उपस्थित रहने व्यवस्था पनि हुन सक्छ। फोन वा भिडियोमार्फत हुने सम्पर्कलाई भने सामान्यतया प्रत्यक्ष samvær भन्दा अलग रूपमा हेरिन्छ।
Fosterhjem (फोस्तर-येम)
हेरचाह गर्ने परिवार (संरक्षक परिवार)। बार्नेभेर्नले जिम्मेवारी लिएपछि वा अस्थायी रूपमा बच्चालाई राख्नका लागि छनोट गरिएको अर्को परिवारको घर। यसमा बच्चालाई निश्चित समय वा अवस्थासम्म सुरक्षित हेरचाह दिनका लागि राखिन्छ।
Tolk (तोल्क)
दोभाषे। नर्वेजियन भाषा राम्रोसँग नबुझ्ने अभिभावक वा बच्चा र बार्नेभेर्नबीच कुराकानीलाई सहज बनाउन र सही अर्थ खुलाउन प्रयोग गरिने व्यक्ति। सार्वजनिक निकायमा दोभाषे निष्पक्ष र गोप्य हुनुपर्छ।

यो जानकारी कसका लागि हो

  • परिवार र अभिभावक