बार्नेभेर्न (Barnevern): परिवारलाई सहयोग र अभिभावकको अधिकार
नर्वेको बाल संरक्षण सेवा बार्नेभेर्नले किन परिवारसँग सम्पर्क गर्छ र त्यसपछि के हुन्छ? यस गाइडमा बच्चाको अवस्था बुझ्ने अनुसन्धान, परिवारलाई दिइने सहयोग र बच्चालाई घरबाहिर राख्नुपर्ने अवस्थाबारे जानकारी दिइएको छ। साथै, अभिभावकले आफ्नो कुरा कसरी राख्ने, मुद्दाका कागजात कसरी हेर्ने र आवश्यक पर्दा वकिलको सहयोग कसरी लिने भन्ने विषय पनि समेटिएको छ।
बार्नेभेर्नेबाट फोन वा पत्र आउँदा परिवारलाई चिन्ता लाग्नु स्वाभाविक हो। यस्तो बेला सबैभन्दा पहिले सम्पर्कको कारण र अब हुने प्रक्रिया बुझ्नु महत्त्वपूर्ण हुन्छ। अनुसन्धान सुरु हुनुको अर्थ बच्चालाई घरबाट अलग गर्ने निर्णय भयो भन्ने होइन, यसको मुख्य उद्देश्य बच्चाको अवस्था बुझेर सहयोग आवश्यक छ कि छैन भन्ने पत्ता लगाउनु हो।
१. बार्नेभेर्न के हो र यसले किन सम्पर्क गर्छ?
बार्नेभेर्न (Barnevern) नर्वेको बाल संरक्षण सेवा हो। बच्चाको स्वास्थ्य वा विकासमा हानि पुग्न सक्ने अवस्था देखिएमा आवश्यक सहयोग, हेरचाह र सुरक्षा उपलब्ध गराउनु यसको मुख्य जिम्मेवारी हो। यसको दैनिक काम तपाईंको आफ्नै कोमुने (kommune) ले गर्छ।
बार्नेभेर्नको काम बच्चालाई घरबाहिर राख्नु मात्रै होइन, सहयोग पाउने धेरैजसो परिवारले बच्चा घरमै बस्ने गरी अभिभावक मार्गदर्शन र अन्य सहयोग पाउँछन्।
कुनै विद्यालय, बार्नेहागे, अन्य सेवा वा निजी व्यक्तिबाट बच्चाको हेरचाहबारे चिन्ता व्यक्त गर्दै सूचना (bekymringsmelding) आएपछि बार्नेभेर्नले परिवारसँग सम्पर्क गर्छ।
परिवारले आफैं पनि सहयोग माग्न सक्छ। सूचना आउँदैमा त्यहाँ लेखिएका सबै कुरा प्रमाणित भइसकेका हुँदैनन्। बार्नेभेर्नले त्यसका आधारमा अनुसन्धान गर्ने वा नगर्ने भनेर मूल्याङ्कन गर्छ।
२. अनुसन्धान (Undersøkelse) प्रक्रिया
चिन्ताको सूचना आएपछि बार्नेभेर्नले सकेसम्म चाँडो, बढीमा एक हप्ताभित्र थप अनुसन्धान गर्ने कि नगर्ने निर्णय गर्नुपर्छ। बच्चालाई सहयोग आवश्यक हुन सक्ने आधार देखिएमा मात्र अनुसन्धान खोलिन्छ। यो प्रक्रिया सामान्यतः तीन महिनाभित्र सकिनुपर्छ, यद्यपि विशेष अवस्थामा यसलाई छ महिनासम्म लम्ब्याउन सकिन्छ।
यस प्रक्रियामा अभिभावक र बच्चासँग कुराकानी गर्ने, घरको भ्रमण गर्ने र आवश्यक परे विद्यालय वा बार्नेहागेबाट जानकारी लिने गरिन्छ।
अनुसन्धान परिवारले नचाहे पनि कानुनी आधारमा अघि बढ्न सक्छ, तर बार्नेभेर्नले बच्चा, परिवार र नजिकको सञ्जालसँग सहकार्य गर्नुपर्ने कानुनी व्यवस्था छ।
३. सम्पर्क हुँदा अभिभावकले के गर्ने?
पहिलो कुराकानीमै कर्मचारीको नाम, सम्पर्कको कारण, भेटको उद्देश्य र आफूले ल्याउनुपर्ने कागजातबारे स्पष्ट जानकारी माग्नुहोस्।
अनुसन्धान खोलिएको हो कि प्रारम्भिक जानकारी मात्र लिइँदै छ भन्ने बुझ्नुहोस्। “चिन्ता ठ्याक्कै कुन विषयमा हो?” भनेर सोध्नु उपयोगी हुन्छ।
भेट्नुअघि आफ्ना कुराहरू छोटकरीमा टिप्नुहोस्। कुराकानीमा आफ्नो कठिनाइसँगै बच्चाको हेरचाहमा काम गरिरहेका राम्रा पक्ष र सहयोग गर्ने व्यक्तिहरूबारे पनि बताउनुहोस्। बार्नेभेर्नले बच्चा, परिवार र नजिकको सञ्जालसँग सहकार्य गर्नुपर्ने कानुनी व्यवस्था छ
थाहा नभएको कुरा अनुमान गरेर उत्तर दिनुभन्दा “यो कुरा अहिले निश्चित छैन, बुझेर जानकारी दिन्छु” भन्नु राम्रो हुन्छ।
४. दोभाषे (Tolk) र कागजातमा पहुँच
नर्वेजियन भाषामा कानुनी वा संवेदनशील विषय बुझ्न कठिन छ भने सुरुमै नेपाली दोभाषेको माग गर्नुहोस्। अधिकार र सुरक्षित सेवा सुनिश्चित गर्न सार्वजनिक निकायले दोभाषेको व्यवस्था गर्नुपर्छ र उनीहरूमा गोपनीयता तथा निष्पक्षताको नियम लागू हुन्छ।
बच्चालाई कहिल्यै पनि दोभाषेको रूपमा प्रयोग नगर्नुहोस्, यो सामान्यतः निषेधित छ।
त्यसैगरी, मुद्दाको पक्ष (part) भएका कारण तपाईंलाई मुद्दाका कागजात हेर्ने अधिकार (partsinnsyn) हुन्छ। कागजातमा कुनै गल्ती भेटिएमा सही विवरण र समर्थन गर्ने प्रमाणसहित लिखित प्रतिक्रिया दिनुहोस् र त्यसलाई मुद्दाको अभिलेखमा राख्न अनुरोध गर्नुहोस्।
५. बच्चासँगको कुराकानी र गोपनीयता
बच्चालाई आफ्नो अवस्था र विचार स्वतन्त्र रूपमा व्यक्त गर्ने अधिकार छ। बार्नेभेर्नले अभिभावकको सहमति वा पूर्वजानकारी बिना पनि बच्चासँग कुरा गर्न सक्छ।
कुराकानी दबाबरहित हुनुपर्छ। अभिभावकले बच्चालाई के बोल्ने भनेर सिकाउनुको सट्टा आफ्नो अनुभव सत्य रूपमा भन्न प्रोत्साहन दिनुपर्छ।
साथै, बच्चाको गोपनीयता जोगाउनुहोस्। सल्लाह वा समर्थन खोज्दा बच्चाको नाम, फोटो र संवेदनशील कागजात सार्वजनिक नगर्नुहोस्। मुद्दाका कागजात वकिल वा आवश्यक सहयोगी व्यक्तिसँग सुरक्षित रूपमा बाँड्नु राम्रो हुन्छ।
बार्नेभेर्नमा बच्चाको सुरक्षा, गोपनीयता र परिवारको अधिकार सबैलाई ध्यानमा राखेर काम गर्नुपर्ने व्यवस्था छ।
६. अनुसन्धानपछिको अवस्था र सहयोग (Hjelpetiltak)
अनुसन्धानपछि कि त मुद्दा बन्द हुन्छ, कि सहयोग प्रस्ताव गरिन्छ, वा अवस्था गम्भीर भए घरबाहिरको व्यवस्था वा थप कानुनी प्रक्रिया सुरु हुन्छ।
परिवारलाई दिइने सहयोग (hjelpetiltak) मा अभिभावकलाई मार्गदर्शन, सहयोगी व्यक्ति (støttekontakt), सहयोगी परिवार (besøkshjem) वा स्कूलपछिको हेरचाह पर्न सक्छन्।
सहयोग सामान्यतः परिवारको सहमतिमा दिइन्छ। केही अवस्थामा सहमतिबिना पनि सहयोगको आदेश दिन सकिन्छ, तर त्यसका लागि छुट्टै कानुनी प्रक्रिया आवश्यक हुन्छ।
७. बच्चालाई घरबाहिर राख्ने अवस्था र कानुनी सहायता
बार्नेभेर्नले सम्पर्क गर्दैमा वा अनुसन्धान गर्दैमा बच्चालाई घरबाट लैजाने होइन। बच्चालाई घरबाट अलग राख्ने निर्णय एउटा गम्भीर हस्तक्षेप हो।
सामान्य अवस्थामा घरमै सहयोग दिएर बच्चालाई सुरक्षित राख्न सकिन्छ कि सकिँदैन भन्ने मूल्याङ्कन गरिन्छ। यस्तो सहयोग पर्याप्त नहुने र घरबाहिर राख्नु आवश्यक तथा बच्चाको हितमा हुने अवस्थामा मात्रै निम्न कारणहरूले हेरचाहको जिम्मेवारी हस्तान्तरण गर्न सकिन्छ:
- कुटपिट र डर देखाएर अनुशासन सिकाउने: नर्वेमा बच्चालाई अनुशासन सिकाउने नाममा कुट्न पाइँदैन। थप्पड हान्ने, कपाल तान्ने वा जानाजानी दुखाउने कामलाई “बच्चाको भलाइका लागि गरेको” भनेर स्वीकार गरिँदैन। धम्की र लगातार अपमान गरेर बच्चालाई डरमा राख्नु पनि गम्भीर विषय हो। उदाहरणका लागि, होमवर्क नगरेको कारण बच्चालाई थप्पड हानेको कुरा विद्यालयमा थाहा भए बार्नेभेर्नले अनुसन्धान गर्न सक्छ। तर प्रत्येक घटनामा बच्चा स्वतः अलग हुन्छ भन्ने होइन, तत्काल गम्भीर हानिको जोखिम भए मात्र आपत्कालीन कदम चालिन्छ।
- आवश्यक हेरचाह नपाएको अवस्था: बच्चाले पर्याप्त खाना, मौसमअनुसार लुगा, स्वास्थ्य हेरचाह, निगरानी र भावनात्मक सुरक्षा नपाउनु गम्भीर चिन्ताको विषय हो। एक दिन टिफिनको बट्टा बिर्सनुजस्तो सामान्य गल्तीलाई यसमा गणना गरिँदैन। तर हेरचाहमा गम्भीर कमी भएर स्वास्थ्य वा विकास जोखिममा परेको छ भने हस्तक्षेप हुन्छ।
- अभिभावकमा नशाको लत : अभिभावकलाई रक्सी वा लागुऔषधको समस्या छ भने बार्नेभेर्नले हस्तक्षेप गर्न सक्छ। तर, नशाको समस्या छ भन्दैमा स्वतः बच्चालाई घरबाट अलग गरिँदैन। मुख्य कुरा त्यसले बच्चाको दैनिक हेरचाह र सुरक्षामा कस्तो असर परेको छ भन्ने हो। नशाका कारण बच्चाले आवश्यक खाना वा निगरानी नपाएको, बेवास्तामा परेको वा घरमा असुरक्षित भएको अवस्था गम्भीर चिन्ताको विषय हुन सक्छ।
घरमै सहयोग दिएर बच्चालाई सुरक्षित राख्न सकिन्छ कि सकिँदैन भन्ने मूल्याङ्कन गरिन्छ। सहयोग पर्याप्त नहुने र कानुनी सर्त पूरा हुने अवस्थामा बार्नेभेर्नले बच्चाको हेरचाहको जिम्मेवारी कोमुनेले लिने प्रस्ताव स्वतन्त्र निर्णय निकायमा पठाउन सक्छ। तत्काल कदम नचाले बच्चालाई गम्भीर हानि पुग्ने जोखिम भए भने आपत्कालीन निर्णय गर्न सकिन्छ। - घरको हिंसा वा मानसिक स्वास्थ्य समस्या: बच्चालाई प्रत्यक्ष कुटिएको नभए पनि घरमा अरूमाथि हुने हिंसा देख्नु वा सुन्नु हानिकारक हुन सक्छ। अभिभावकबीचको गम्भीर द्वन्द्व वा मानसिक स्वास्थ्य समस्याले बच्चाको हेरचाह बिगारेको अवस्थामा पनि बार्नेभेर्नले हस्तक्षेप गर्न सक्छ। यस्तो बेला अभिभावकलाई कुन रोग लागेको छ भन्ने कुरा मात्र निर्णायक हुँदैन। बार्नेभेर्नको मुख्य चासो अभिभावकको 'मेडिकल रिपोर्ट' वा 'रोगको नाम' के हो भन्ने होइन। उनीहरूको मुख्य चासो त्यो रोग वा समस्याको कारणले बच्चाको दैनिक जीवन र हेरचाहमा कस्तो असर परिरहेको छ भन्ने हो।
आप्रवासी अभिभावकले विशेष ध्यान दिनुपर्ने कुराहरू:
आप्रवासी हुनु, घरमा नेपाली बोल्नु,हातले भात खानु वा फरक पारिवारिक चलन हुनु आफैंमा बच्चालाई अलग गर्ने कानुनी आधार होइन।
बच्चाको भाषिक र सांस्कृतिक पृष्ठभूमिलाई ध्यानमा राख्नैपर्छ। तर “नेपालमा हामी यसरी नै हुर्केका थियौं” भनेर बच्चालाई कुट्ने, वा हानिकारक व्यवहार गर्ने छुट नर्वेमा पाइँदैन।
कहिलेकाहीँ भाषा र पृष्ठभूमिको कारण मूल्याङ्कनमा गलत बुझाइ हुन सक्छ। त्यसैले नेपाली दोभाषे माग्नुहोस् र गलत बुझिएको कुरा ठोस उदाहरणसहित स्पष्ट पार्नुहोस्।
परिवारको पृष्ठभूमि बुझाउँदा बच्चाले घरमा बोल्ने भाषा, महत्वपूर्ण नातेदार र दैनिक हेरचाहमा सहभागी हुने व्यक्तिहरूबारे जानकारी दिनुहोस्।
यस्तो निर्णय आएपछि के गर्ने?
सामान्य हेरचाह हस्तान्तरणको- चनलचल्तीको भाषामा भन्दा बच्चा खोस्ने- निर्णय बार्नेभेर्न कार्यालयले एक्लै गर्दैन। यो Barneverns- og helsenemnda नामको स्वतन्त्र निर्णय निकायमा जान्छ। यस्तो मुद्दामा अभिभावकलाई निःशुल्क वकिलको अधिकार हुन्छ।
तत्काल गम्भीर हानिको जोखिम भएमा मात्र अधिकारप्राप्त अधिकारीले आपत्कालीन निर्णय (Akuttvedtak) गर्न सक्छन्।
यस्तो निर्णय आएमा लिखित प्रति लिनुहोस्, कारण बुझ्न दोभाषे माग्नुहोस् र तुरुन्त वकिलसँग सम्पर्क गर्नुहोस्। आपत्कालीन निर्णयविरुद्ध पनि नेम्डामा उजुरी गर्न सकिन्छ र यसका लागि निःशुल्क वकिल नियुक्त गरिन्छ।
८. असहमति र उजुरी प्रक्रिया
यदि निर्णय वा बार्नेभेर्नको व्यवहारप्रति असहमति छ भने उजुरी गर्ने र गुनासो गर्ने प्रक्रिया फरक हुन्छन्। बार्नेभेर्नको काम गर्ने तरिकाबारे गुनासो पहिले बार्नेभेर्नसँगै उठाउन सकिन्छ।
समाधान नभए Statsforvalteren सँग सम्पर्क गर्न सकिन्छ। लिखित निर्णय आएको छ भने त्यसमा उजुरी गर्ने ठाउँ र म्याद हेर्नुहोस्। आपत्कालीन निर्णयको उजुरी सीधै नेम्डा (Barneverns- og helsenemnda) मा जान्छ।
उजुरी लेख्दा गलत तथ्य, त्यसलाई समर्थन गर्ने कागजात र आफूले चाहेको सुधार स्पष्ट राख्नुहोस्।
अन्त्यमा: कुरा बुझेर अघि बढ्नुहोस्
बार्नेभेर्नसँगको सम्पर्क परिवारका लागि तनावपूर्ण हुन सक्छ। यस्तो बेला सबै कुरा एकैपटक बुझ्नुपर्छ भन्ने दबाब नलिनुहोस्। नबुझेको कुरा फेरि सोध्नुहोस्, आफ्नो कुरा स्पष्ट राख्नुहोस् र आवश्यक सहयोग माग्नुहोस्।
कुन विषयमा चिन्ता उठाइएको छ, परिवारलाई के सहयोग प्रस्ताव गरिएको छ र अबको कदम के हो भन्ने बुझ्दै अघि बढ्नुहोस्। आफ्नो अधिकारबारे जानकारी राख्नु र बच्चाको आवश्यकतालाई ध्यानमा राख्नु दुवै महत्त्वपूर्ण छन्। कुनै विवरण गलत बुझिएको छ भने त्यसलाई शान्त र स्पष्ट रूपमा सच्याउनुहोस्।
यो प्रक्रिया एक्लै सम्हाल्नुपर्छ भन्ने छैन। आवश्यक पर्दा दोभाषे, वकिल वा विश्वासिलो सहयोगीको साथ लिनुहोस्। उद्देश्य डरमा निर्णय गर्नु होइन, आफ्नो परिवारको अवस्था सही रूपमा बुझाएर सोचविचारसहित अघि बढ्नु हो।
महत्त्वपूर्ण जानकारी
यो गाइड सामान्य जानकारीका लागि तयार गरिएको हो। यसले व्यक्तिगत कानुनी सल्लाह वा तपाईंको मुद्दाको मूल्याङ्कनलाई प्रतिस्थापन गर्दैन। प्रत्येक परिवारको अवस्था फरक हुने भएकाले यहाँका उदाहरणबाट आफ्नो मुद्दाको परिणाम अनुमान नगर्नुहोस्। आफ्नो मुद्दा, निर्णय वा उजुरीको म्यादबारे बार्नेभेर्न वा वकिलसँग स्पष्ट जानकारी लिनुहोस्। भाषा बुझ्न कठिन भए नेपाली दोभाषे माग्नुहोस्।
Norsk
महत्त्वपूर्ण नर्वेजियन शब्दहरू
- Barnevern / Barnevernet (बार्नेभेर्न / बार्नेभेर्नेत)
- बाल संरक्षण सेवा। नर्वेमा बालबालिकाको अधिकार र सुरक्षा सुनिश्चित गर्ने सरकारी निकाय। यसले बालबालिकाले घरमा सुरक्षित र राम्रो हेरचाह पाएका छन् कि छैनन् भनेर निगरानी गर्छ र आवश्यक पर्दा परिवारलाई मद्दत गर्छ।
- Bekymringsmelding (बेचिम्रिङ्स-मेल्डिङ)
- चिन्ताको सूचना। कुनै बच्चाको अवस्था वा हेरचाह ठीक छैन भन्ने लागेमा बार्नेभेर्नलाई दिइने जानकारी। यो विद्यालय, स्वास्थ्य संस्था, छिमेकी वा परिवार आफैंले पनि पठाउन सक्छन्।
- Undersøkelse (उन्नर-सोकेल्से)
- अनुसन्धान प्रक्रिया। चिन्ताको सूचना प्राप्त भएपछि बार्नेभेर्नले बच्चा र परिवारको वास्तविक अवस्था बुझ्न गर्ने प्रक्रिया। यसमा घरमा भेटघाट गर्ने, कुराकानी गर्ने र आवश्यक जानकारी सङ्कलन गर्ने काम पर्छ।
- Undersøkelsessak (उन्नर-सोकेल्सेस्-साक)
- अनुसन्धान भइरहेको मुद्दा। बार्नेभेर्नले सूचनाको आधारमा औपचारिक रूपमा अनुसन्धान सुरु गरेपछि त्यस अवधिलाई यो नाम दिइन्छ। यो प्रक्रिया सामान्यतया ३ देखि ६ महिनासम्म चल्न सक्छ।
- Hjelpetiltak (येल्पे-तिल्ताक)
- अनुसन्धानपछि बच्चालाई घरमै राखेर परिवारलाई दिइने विभिन्न प्रकारका सहयोग। यसमा अभिभावकलाई सल्लाह दिने, आर्थिक वा व्यावहारिक सहयोग गर्ने जस्ता कुरा पर्छन्, जसले गर्दा बच्चाको हेरचाहमा सुधार आओस्।
- Omsorg (ओम्सोर्ग)
- हेरचाह र सुरक्षा। बच्चालाई हुर्कन आवश्यक पर्ने शारीरिक, मानसिक र भावनात्मक आवश्यकताहरू (जस्तै: खाना, लुगा, माया, सुरक्षित वातावरण) पूरा गर्ने काम। यो अभिभावकको प्रमुख जिम्मेवारी हो।
- Omsorgssvikt (ओम्सोर्गस-स्भिक्त)
- आवश्यक हेरचाहको कमी। जब बच्चाले पर्याप्त खाना, मौसमअनुसारको लुगा, सुरक्षित वातावरण वा माया पाउँदैन, त्यसलाई ओम्सोर्गस्स्भिक्त भनिन्छ। यो बार्नेभेर्नले अत्यन्त गम्भीर रूपमा लिने अवस्था हो।
- Omsorgsovertakelse (ओम्सोर्गस-ओभर-ताकेल्से)
- हेरचाहको जिम्मेवारी हस्तान्तरण। घरको वातावरण बच्चाका लागि पूर्ण रूपमा असुरक्षित भएमा र घरमै दिइने सहयोगले पनि काम नगरेमा, कानुनी प्रक्रियामार्फत अभिभावकबाट बच्चाको जिम्मेवारी कोमुनेले लिने गम्भीर निर्णय।
- Akuttvedtak (आकुत्त-भेद्ताक)
- आपत्कालीन निर्णय। बच्चालाई तत्काल गम्भीर खतरा भएको खण्डमा तुरुन्तै सुरक्षित स्थानमा सार्न गरिने निर्णय। यो सामान्य प्रक्रिया पूरा नगरीकन तत्कालै लागू गरिन्छ।
- Fosterhjem (फोस्तर-येम)
- हेरचाह गर्ने परिवार (संरक्षक परिवार)। बार्नेभेर्नले जिम्मेवारी लिएपछि वा अस्थायी रूपमा बच्चालाई राख्नका लागि छनोट गरिएको अर्को परिवारको घर। यसमा बच्चालाई निश्चित समय वा अवस्थासम्म सुरक्षित हेरचाह दिनका लागि राखिन्छ।
- Støttekontakt (स्तोत्ते-कोन्ताक्त)
- सहयोगी व्यक्ति। बच्चालाई सामाजिक गतिविधिमा भाग लिन, खेल्न वा कुराकानी गर्न सहयोग पुर्याउन बार्नेभेर्नले नियुक्त गरेको व्यक्ति। यो पनि एक प्रकारको सहयोग (Hjelpetiltak) हो।
- Besøkshjem (बेसोक्स-येम)
- भ्रमण गर्ने घर। अभिभावकलाई केही विश्राम दिन वा बच्चालाई नयाँ वातावरण दिन महिनाको केही दिन (जस्तै: सप्ताहन्तमा) बच्चा गएर बस्ने अर्को सहयोगी परिवारको घर।
- Familieråd (फामिलिए-रोद)
- बच्चाको समस्या समाधान गर्न बार्नेभेर्नले बच्चाको परिवार, नातेदार र नजिकका व्यक्तिहरूलाई सँगै राखेर गर्ने छलफल। यसले परिवार आफैंलाई मिलेर समाधान खोज्न मद्दत गर्छ।
- Part (पार्त)
- मुद्दाको पक्ष। कानुनी रूपमा मुद्दामा प्रत्यक्ष सरोकार राख्ने व्यक्ति, जस्तै: अभिभावक वा १५ वर्षभन्दा माथिको बच्चा। मुद्दाको 'पक्ष' भएपछि उनीहरूका केही विशेष कानुनी अधिकार हुन्छन्।
- Partsinnsyn (पार्त-सिन्सिन)
- कागजात हेर्ने अधिकार। मुद्दाको पक्ष (Part) ले आफ्नो मुद्दासँग सम्बन्धित बार्नेभेर्नका सबै रिपोर्ट, टिपोट र निर्णयहरू हेर्न पाउने कानुनी अधिकार।
- Tolk (तोल्क)
- दोभाषे। नर्वेजियन भाषा राम्रोसँग नबुझ्ने अभिभावक वा बच्चा र बार्नेभेर्नबीच कुराकानीलाई सहज बनाउन र सही अर्थ खुलाउन प्रयोग गरिने व्यक्ति। सार्वजनिक निकायमा दोभाषे निष्पक्ष र गोप्य हुनुपर्छ।
- Statsforvalteren (स्तात्स-फोर्भाल्तेरेन)
- सरकारी पर्यवेक्षक कार्यालय। राज्यको तर्फबाट कोमुने र बार्नेभेर्नको कामको निगरानी गर्ने निकाय। यदि बार्नेभेर्नले कानुनविपरीत काम गर्यो वा प्रक्रियामा असन्तुष्टि भयो भने यहाँ उजुरी वा गुनासो गर्न सकिन्छ।
- Kommune (कोमुने)
- नर्वेको स्थानीय सरकार वा नगरपालिका जसले शिक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन र अन्य स्थानीय सेवाहरूको प्रबन्ध गर्छ।
थप आधिकारिक लिंकहरू
यो जानकारी कसका लागि हो
- परिवार र अभिभावक
फोरम
समुदायका प्रश्न र अनुभवहरू
फोरमका सामग्री सहभागीहरूको आफ्नै अनुभव र विचार हुन्। तिनले आधिकारिक स्रोत वा प्रमाणित मार्गदर्शनलाई प्रतिस्थापन गर्दैनन्।