ओस्लो र बेर्गेनसहित आसपासका क्षेत्रमा सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुहरूका लागि आज, १ नोभेम्बर २०२६ देखि ३० दिनको टिकट उल्लेखनीय रूपमा सस्तो भएको छ। सरकारको अतिरिक्त अनुदानसँगै रुटर (Ruter) र शिस (Skyss) ले मासिक टिकटको मूल्य भारी मात्रामा घटाएका हुन्।
नयाँ मूल्यअनुसार ओस्लोको जोन १ मा वयस्कका लागि रुटरको ३० दिनको टिकट अब ४९५ क्रोनर पर्नेछ। यसअघि ६५५ क्रोनर पर्ने यो टिकटमा १६० क्रोनर छुट दिइएको छ। त्यसैगरी, बेर्गेनसहित भेस्तलान (Vestland) मा शिसको एउटै जोनभित्र यात्रा गर्ने वयस्कले अब ८४४ क्रोनरको सट्टा ५०४ क्रोनर मात्र तिरे पुग्नेछ।
ओस्लो र आकेशुसमा बालबालिकालाई १९९ क्रोनरमै सबै जोन रुटरको नयाँ मूल्यअनुसार ओस्लोको जोन १ मा विद्यार्थीले २९३ क्रोनर र ज्येष्ठ नागरिकले २८१ क्रोनर तिर्नुपर्नेछ।
बालबालिका तथा युवाले भने जम्मा १९९ क्रोनरमा ओस्लो र आकेशुसका सबै जोनमा ३० दिनसम्म यात्रा गर्न पाउनेछन्।
दुई वा सबै जोनको यात्रा गर्ने वयस्कलाई पनि राहत मिलेको छ। दुई जोनको टिकटमा ३२० क्रोनर र सबै जोनको टिकटमा ४८० क्रोनर घटाइएको छ।
रुटरका टिकटहरू ओस्लो र आकेशुसभित्र Vy का रेलहरूमा पनि मान्य हुनेछन्, तर छुट्टै रेल टिकटमा भने यो कटौती स्वतः लागू हुँदैन।
बेर्गेनमा ३४० क्रोनर बचत बेर्गेनमा वयस्क यात्रुले मासिक टिकटमा सीधै ३४० क्रोनर बचत गर्नेछन्। बालबालिका र ज्येष्ठ नागरिकका लागि एउटै जोनको टिकट २५२ क्रोनर तथा विद्यार्थीका लागि ३०२ क्रोनर तोकिएको छ। १६ देखि २० वर्षका युवाले २५२ क्रोनरमा भेस्तलानभर यात्रा गर्न पाउनेछन्। यो सहुलियत बस, बेर्गेनको बिबानेन र निश्चित डुंगा सेवामा लागू हुनेछ।
यो पनि पढ्नुहोस्नोभेम्बरदेखि ओस्लोमा मासिक टिकट ४९५ क्रोनर, भीडको समयमा फरक भाडा लगाउने प्रस्ताव पनि चर्चामावार्षिकभन्दा मासिक टिकट सस्तो
यो मूल्य कटौती मुख्यतया ३० दिनको टिकटमा मात्र लागू भएको छ। एकपटकको (Single ticket) र वार्षिक टिकटको मूल्य घटाइएको छैन। ओस्लोमा हाल कायम रहेको वयस्कको वार्षिक टिकट (७,५५० क्रोनर) भन्दा हरेक महिना सहुलियत मूल्यको ३० दिने टिकट किन्नु धेरै सस्तो पर्न आउँछ। रुटरका अनुसार हालको वार्षिक टिकटको मूल्य करिब १५ वटा नयाँ मासिक टिकट बराबर हुन्छ।
पहिले नै वार्षिक टिकट किनेका यात्रुले रकम फिर्ता वा समायोजनका लागि ग्राहक सेवामा सम्पर्क गर्न सक्नेछन्।
६ महिनाका लागि मात्र ग्यारेन्टी
टिकटको यो सस्तो मूल्य स्थायी भने होइन। सरकारी अनुदानमा आधारित यो व्यवस्था तत्कालका लागि अप्रिल २०२७ सम्म अर्थात् आगामी छ महिनाका लागि मात्र लागू गरिएको छ। त्यसपछि पुरानै मूल्यमा फर्किने वा सस्तो दर नै कायम रहने भन्ने कुरा भविष्यको सरकारी आर्थिक सहयोगमा निर्भर हुनेछ।
सस्तो टिकटसँगै भरपर्दो सेवा पनि आवश्यक
टिकटको मूल्य घट्दा सार्वजनिक यातायात नियमित प्रयोग गर्ने विद्यार्थी, कामदार र परिवारको मासिक खर्च कम हुनेछ। तर यात्रुका लागि मूल्य मात्र नभई बस तथा रेल समयमा आउने, पर्याप्त सेवा उपलब्ध हुने र रद्द हुने यात्रा कम हुनु पनि उत्तिकै महत्त्वपूर्ण छ।
विशेषगरी रेलमा ढिलाइ र रद्द हुँदा काममा पुग्न, बालबालिकालाई विद्यालय वा किन्डरगार्टेनबाट समयमा लिन र दैनिक जिम्मेवारी पूरा गर्न कठिन हुने यात्रुहरूको अनुभव रहेको छ।
मूल्य कटौतीले निजी कारको सट्टा सार्वजनिक यातायात रोज्नेको संख्या बढाउँछ कि बढाउँदैन भन्ने कुरा पनि सेवाको विश्वसनीयतामा निर्भर हुनेछ। सस्तो टिकट भए पनि यात्रा समयमा पूरा हुने भरोसा नभए निजी कार प्रयोग गर्ने यात्रुलाई सार्वजनिक यातायाततर्फ आकर्षित गर्न कठिन हुन सक्छ।
सस्तो टिकटसँगै रेल र बस समयमै चल्नुपर्ने र यात्रा रद्द हुने समस्या कम हुनुपर्ने यात्रुहरूको मुख्य माग छ।

