ओस्लो मा सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुले नोभेम्बर १ देखि मासिक टिकटका लागि ४९५ क्रोनर मात्र तिर्नुपर्ने भएको छ। जोन १ को मासिक टिकटको मूल्य हालको भन्दा १६० क्रोनर घट्न लागेको हो।
आकेसहुसमा पनि सोही दिनदेखि मासिक टिकट सस्तो हुँदैछ। यस वर्ष मे महिनामा भएको मूल्य कटौतीपछि सार्वजनिक यातायातको मासिक टिकट फेरि सस्तो हुन लागेको हो।
अहिले हुन लागेको मूल्य कटौतीसँगै एउटा अर्को बहस पनि सुरु भएको छ। यातायातसम्बन्धी अनुसन्धान गर्ने Transportøkonomisk institutt अर्थात TØI का एक वरिष्ठ अनुसन्धानकर्ताले सबै समयमा एउटै भाडा राख्नुभन्दा बढी भीड हुने समयमा फरक मूल्य राख्ने व्यवस्था उपयोगी हुन सक्ने बताएका छन्।
दुई वर्षअघि ८९७ क्रोनर थियो
सन् २०२४ को सुरुमा ओस्लो मा मासिक टिकटको मूल्य ८९७ क्रोनर थियो। नोभेम्बरदेखि यही टिकट ४९५ क्रोनरमा पाइने भएपछि दुई वर्षभन्दा कम अवधिमा यसको मूल्यमा ठूलो कमी आएको छ।
मूल्य घटेपछि नियमित रूपमा सार्वजनिक यातायात प्रयोग नगर्ने मानिसलाई समेत मासिक टिकट किन्न आकर्षक हुन सक्ने देखिन्छ। दिनहुँ काममा जाने व्यक्तिले आवतजावतका लागि मात्रै मासिक टिकट प्रयोग गरे पनि प्रत्येक यात्राको औसत खर्च निकै कम पर्ने तर्क छ।
भीड हुने समयमा बढी भाडा?
टिकट सस्तो हुँदै जाँदा TØI का अनुसन्धानकर्ताहरूले भने सार्वजनिक यातायातमा rushtidsprising अर्थात् बढी भीड हुने र कम भीड हुने समयमा फरक भाडा राख्ने विकल्पमाथि बहस गरिरहेका छन्।
यस्तो व्यवस्थाको उद्देश्य बिहान र दिउँसो यात्रुको अत्यधिक चाप हुने समयबाट केही यात्रालाई अन्य समयमा सार्नु हो। भीड कम हुने समयमा यात्रा सस्तो बनाएमा यात्रा गर्ने समय रोज्न सक्ने केही मानिसले आफ्नो समय परिवर्तन गर्न सक्ने तर्क यसको पक्षमा छ।
सस्तो टिकट कि धेरै बस र रेल?
मासिक टिकट सस्तो बनाउने कि सार्वजनिक यातायातको सेवा अझ राम्रो बनाउने भन्ने प्रश्न पनि बहसको अर्को पक्ष हो।
TØI का अनुसार यात्रुका लागि टिकटको मूल्य अझ घटाउनुभन्दा राम्रो र पर्याप्त सार्वजनिक यातायात सेवा उपलब्ध हुनु बढी महत्त्वपूर्ण छ।
टिकट निकै सस्तो भएपछि अहिले हिँड्ने वा साइकल चलाउने केही व्यक्तिसमेत बस, ट्राम वा ते-बाने (T-bane) तर्फ आकर्षित हुन सक्ने उनीहरुको आकलन छ। तर ओस्लो मा पहिल्यै धेरै मानिससँग मासिक टिकट भएकाले नयाँ यात्रुको संख्या अत्यधिक बढ्ने अपेक्षा भने ठुलो छैन।
२०२७ मा फेरि मूल्य बढ्न सक्छ
अहिलेको मूल्य कटौतीमा सरकारी आर्थिक सहयोगको भूमिका छ। तर पछिल्लो अतिरिक्त अनुदान छ महिनाका लागि मात्र भएकाले अहिले घटेको मूल्य स्थायी हुन्छ भन्ने निश्चित छैन।
यस कारण सन् २०२७ मा मासिक टिकटको मूल्य फेरि बढ्न सक्ने अवस्था रहेको छ।
