नर्वेको केन्द्रीय तथ्यांक ब्युरो (SSB) ले भर्खरै सार्वजनिक गरेको नयाँ तथ्यांकले नर्वेली घरपरिवारको आर्थिक अवस्थाबारे चिन्ताजनक तस्बिर बाहिर ल्याएको छ। तथ्यांकअनुसार नर्वेका ४० प्रतिशत (१० मध्ये ४ जना) व्यक्तिहरू ब्याज लाग्ने उपभोक्ता ऋण (forbruksgjeld) भएको घरपरिवारमा बस्छन्।
उपभोक्ता ऋण अथवा असुरक्षित ऋणमा सामान्यतः उपभोक्ता कर्जा, समयमै नतिरिएको क्रेडिट कार्ड रकम तथा Klarna जस्ता किस्ताबन्दी वा पछि भुक्तानी गर्ने सेवाबाट बाँकी रहेको रकम पर्छ। यस्तो ऋणमा घर वा अन्य सम्पत्ति धितो नराखिने भएकाले यसको ब्याज सामान्यतः घरकर्जाको तुलनामा महँगो हुन्छ।
सन् २०२४ को अन्त्यसम्ममा नर्वेली घरपरिवारहरूको कुल ब्याज लाग्ने असुरक्षित ऋण ११३ अर्ब क्रोनर पुगेको छ।
आप्रवासीहरूमा उपभोक्ता ऋणको भार बढी
यो तथ्यांकले आप्रवासी समुदायमा उपभोक्ता ऋणको असर अझै गहिरो रहेको देखाएको छ। तथ्यांकअनुसार नर्वेको समग्र जनसंख्याको औसत ५.१ प्रतिशतसँग आम्दानीको तुलनामा 'बोक्नै नसकिने' ऋण छ। यसलाई छुट्याएर हेर्दा आप्रवासीबाहेकको बाँकी जनसंख्यामा यो दर जम्मा ४.४ प्रतिशत छ भने, आप्रवासीहरूको हकमा यो दर झण्डै दोब्बर अर्थात् ७.८ प्रतिशत पुगेको छ।
यसको अर्थ बाँकी जनसंख्याको तुलनामा धेरै आप्रवासीहरू महँगो उपभोक्ता ऋणको चपेटामा परेका छन्। तर, शरणार्थी पृष्ठभूमिका व्यक्तिहरूमा भने अन्य आप्रवासीको तुलनामा यस्तो ऋण कम देखिएको छ। SSB का अनुसार यसको मुख्य कारण उनीहरू नर्वेमा बसेको समय कम हुनु (ऋण लिने अवसर नपाउनु) वा बैंक तथा वित्तीय संस्थाहरूले उनीहरूलाई सजिलै ऋण नदिनु हुन सक्छ।
को-को छन् उच्च जोखिममा?
आप्रवासीबाहेक 'एक्लै बस्ने पुरुष' हरू पनि उपभोक्ता ऋणको सबैभन्दा ठूलो जोखिममा छन्। एक्लै बस्ने पुरुषमध्ये ८.३ प्रतिशतसँग उच्च उपभोक्ता ऋण छ, जुन एक्लै बस्ने महिला (३.८ प्रतिशत) को तुलनामा दोब्बरभन्दा बढी हो।
त्यसैगरी, आफ्नो घर नहुने र आर्थिक बचत कम हुने व्यक्तिहरू सबैभन्दा धेरै मारमा परेका छन्। घर नभएका र न्यून बचत भएका १७.७९ प्रतिशत व्यक्तिहरूसँग धान्नै नसकिने उपभोक्ता ऋण रहेको तथ्यांक छ।
ऋणको आकार र ब्याजको पासो
धेरैजसो मानिससँग थोरै मात्रामा उपभोक्ता ऋण भए तापनि, ५.१ प्रतिशत (झण्डै २ लाख ७८ हजार ७ सय) व्यक्तिहरूसँग भने आफ्नो आम्दानीले धान्नै नसक्ने तहको ऋण छ। यद्यपि, यो संख्या सन् २०२० को (३ लाख ७२ हजार) तुलनामा केही घटेको हो।
यसरी अत्यधिक ऋणको भारमा परेका घरपरिवारसँग औसतमा ५ लाख ५० हजार क्रोनर बराबरको असुरक्षित ऋण छ। यसमध्ये करिब ७० प्रतिशत रकम व्यक्तिगत ऋण र ३० प्रतिशत रकम क्रेडिट कार्डको ऋणको रूपमा रहेको छ। यस्तो ऋण हुनेहरूको वार्षिक ब्याज खर्चको मध्यमान मात्रै ७० हजार क्रोनरभन्दा बढी रहेको पाइएको छ।
क्रेडिट कार्ड वा उपभोक्ता ऋण सजिलै पाइने भए पनि समयमै नतिर्दा यसको महँगो ब्याजदरले व्यक्तिलाई लामो समयसम्म आर्थिक सङ्कटमा धकेल्ने गरेको यो प्रतिवेदनले प्रस्ट पारेको छ। विशेषगरी नयाँ देशमा जीवनयापन गर्दै गरेका र आर्थिक रूपमा पूर्ण स्थापित भइनसकेका आप्रवासीहरूले यस्तो ऋण लिँदा विशेष होसियारी अपनाउनुपर्ने देखिन्छ।
