नर्वेमा समयमै बिल र ऋण तिर्न नसकेर इन्कासो (ऋण असुली प्रक्रिया) मा पुगेका मुद्दाको संख्या बढिरहेको छ। सन् २०२६ को पहिलो छ महिनाको अन्त्यसम्ममा देशका इन्कासो कम्पनीहरूमा ६८ लाख ६१ हजारभन्दा बढी मुद्दा प्रक्रियामा थिए।
यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.४ प्रतिशतले बढी हो।
यस वर्षको सुरुदेखि जुन महिनाको अन्त्यसम्म प्रक्रियामा रहेका इन्कासो मुद्दाको संख्या १ लाख ७६ हजारभन्दा बढीले बढेको छ। आर्थिक मामिलाका जानकार याइर ग्रिनलान (Geir Grindland) ले यो अवस्थाले आर्थिक संकटको चेतावनी संकेत गरिरहेको बताएका छन्। उनका अनुसार, घरकर्जा, खाद्यान्न, बिजुली र इन्धनमै आम्दानीको ठूलो हिस्सा खर्च हुने गरेकाले धेरै परिवारसँग आकस्मिक खर्चका लागि बचत घट्दै गएको छ। यस्तो अवस्थामा अचानक आउने डेन्टिस्टको बिल वा महँगो गाडी मर्मत खर्चले पहिले नै दबाबमा रहेको घरायसी बजेटलाई नराम्ररी बिगार्न सक्छ।
पहिलो छ महिनामै ६३ लाखभन्दा बढी नयाँ मुद्दा
नर्वेको वित्तीय पर्यवेक्षण प्राधिकरण (Finanstilsynet) का अनुसार, सन् २०२६ को पहिलो छ महिनामा इन्कासो कम्पनीहरूले कुल ६३ लाख २१ हजार ९२५ वटा नयाँ मुद्दा प्राप्त गरेका थिए। तीमध्ये ४९ लाख ९२ हजार ९८२ मुद्दा सर्वसाधारण उपभोक्तासँग सम्बन्धित थिए भने बाँकी १३ लाख २८ हजार ९४३ मुद्दा व्यवसायी तथा कम्पनीसँग जोडिएका थिए।
अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा नयाँ इन्कासो मुद्दाको कुल संख्या ६.३ प्रतिशतले बढेको छ। जसमा उपभोक्तासँग सम्बन्धित नयाँ मुद्दा ७.६ प्रतिशत र व्यवसायसँग सम्बन्धित मुद्दा १.८ प्रतिशतले बढेका छन्।
६ हजार ६१० वटा घरकर्जा असुली प्रक्रियामा
तथ्याङ्कमा देखिएको सबैभन्दा गम्भीर पक्ष घरकर्जासँग सम्बन्धित छ। जुन २०२६ को अन्त्यसम्ममा बैंकले सम्झौता रद्द गरेर असुलीका लागि पठाएका ६ हजार ६१० वटा घरकर्जा इन्कासो कम्पनीमा पुगेका थिए।
यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढी हो। यी मुद्दाहरूमा सुरुको ऋण रकम कुल नौ अर्ब क्रोनर थियो भने, प्रतिमुद्दा तिर्न बाँकी रहेको औसत घरकर्जा करिब १६ लाख ५० हजार क्रोनर थियो।
घरकर्जा रद्द भएर इन्कासोमा जानुको अर्थ सम्बन्धित घर तत्कालै जबर्जस्ती बिक्री भइसकेको भन्ने हुँदैन। यसको अर्थ बैंकले ऋण सम्झौता रद्द गरेर बाँकी रकम असुली प्रक्रियामा पठाएको हो। तर, यसको समयमै समाधान नखोजिएमा ऋणीले गम्भीर आर्थिक परिणाम सामना गर्नुपर्ने हुन सक्छ।
जानकार ग्रिनलानका अनुसार, घरकर्जा नियमित रूपमा तिर्न नसक्ने अवस्था सामान्यतया एउटा सानो गल्तीका कारण मात्र आउँदैन, यो लामो समयदेखि घरायसी अर्थतन्त्र दबाबमा रहेको गम्भीर संकेत हुन सक्छ।
साना रकमका बिलहरूको ठूलो हिस्सा
इन्कासोमा ठूला ऋण मात्र पुगेका छैनन्। उपभोक्तासँग सम्बन्धित कुल मुद्दामध्ये ४०.७ प्रतिशत मुद्दाहरूको सुरुको बिल ५०० क्रोनरभन्दा कम थियो, जुन अघिल्लो वर्ष ३९.२ प्रतिशत रहेको थियो।
त्यसैगरी, ७३.४ प्रतिशत इन्कासो मुद्दामा सुरुको बिल २ हजार ५०० क्रोनरभन्दा कम थियो। यसले साना बिलहरू समयमै नतिर्दा पनि समस्या चाँडै बढ्न सक्ने देखाउँछ।
५०० क्रोनरभन्दा कमको बिल सामान्य अवस्थामा ठूलो नदेखिन सक्छ। तर घरभाडा वा घरकर्जा, खाद्यान्न, बिजुली, यातायात र अन्य खर्च तिरेपछि हातमा पैसा बाँकी नरहेको परिवारका लागि एकै समयमा आएका धेरै साना बिलहरू सम्हाल्न कठिन हुन सक्छ।
बिल इन्कासोमा पुगेपछि त्यसमा ब्याज र असुली खर्च थपिने भएकाले सुरुमा सानो रहेको रकम पनि समयसँगै भारी हुँदै जान्छ।
असुली गर्नुपर्ने कुल रकम १३४ अर्ब क्रोनर
सन् २०२६ को पहिलो छ महिनाको अन्त्यमा इन्कासो कम्पनीहरूमार्फत असुली गर्न बाँकी कुल रकम १३४ अर्ब क्रोनर पुगेको छ। यसमा सुरुको ऋण, बाँकी ब्याज र असुलीसम्बन्धी खर्च समावेश छन्। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो रकम ३.५ प्रतिशतले बढेको हो। यसमध्ये उपभोक्ताबाट असुली गर्नुपर्ने रकम ११८ अर्ब क्रोनर छ भने व्यवसायी तथा कम्पनीसँग सम्बन्धित रकम १६ अर्ब क्रोनर छ।
उपभोक्तासँग सम्बन्धित इन्कासो मुद्दामध्ये क्रेडिट कार्डका २ लाख ८० हजारभन्दा बढी र असुरक्षित उपभोक्ता ऋणका ४ लाख १० हजारभन्दा बढी मुद्दा प्रक्रियामा छन्।
घरकर्जासहित यी ऋणसम्बन्धी मुद्दाले उपभोक्ताबाट असुली गर्नुपर्ने कुल रकमको ६५.५ प्रतिशत हिस्सा ओगटेका छन्।
त्यस्तै, क्रेडिट कार्डको बाँकी रकममा थपिएको ब्याजको अवस्था झनै डरलाग्दो छ। क्रेडिट कार्डसँग सम्बन्धित कुल असुली रकममध्ये ४४.६ प्रतिशत हिस्सा त पछि थपिएको ब्याजको मात्र छ।
तथ्याङ्कले ऋणी व्यक्तिको वास्तविक संख्या देखाउँदैन
Finanstilsynet ले यी तथ्याङ्कलाई बुझ्दा सावधानी अपनाउन सुझाव दिएको छ। ६८ लाखभन्दा बढी इन्कासो मुद्दा हुनुको अर्थ त्यति नै मानिस समस्यामा परेका हुन् भन्ने होइन। ऋणदाताले तिर्न बाँकी रकम पहिलाभन्दा छिटो इन्कासो कम्पनीमा पठाएको अवस्थामा पनि मुद्दाको संख्या बढ्न सक्छ। त्यसैले इन्कासो मुद्दामा भएको वृद्धि र आर्थिक समस्यामा परेका व्यक्तिको संख्या समान रूपमा बढेको निष्कर्ष निकाल्न मिल्दैन।
यद्यपि, अर्कोतर्फ घरकर्जा असुलीका लागि पठाइएका मुद्दामा १२ प्रतिशतको वृद्धि हुनु र साना रकमका मुद्दाको अनुपात बढ्नुले धेरै घरपरिवारको आर्थिक अवस्था गहिरो दबाबमा रहेको स्पष्ट संकेत भने गर्छ।
बिल तिर्न कठिन भए के गर्ने?
कुनै बिल वा ऋण समयमै तिर्न नसकिने अवस्था देखिएमा पत्र र सूचनालाई बेवास्ता गर्नु हुँदैन। भुक्तानीको म्याद सकिनुअघि नै पैसा माग्ने कम्पनी, बैंक वा इन्कासो कम्पनीसँग सम्पर्क गरेर किस्ताबन्दी वा नयाँ भुक्तानी मिति माग्न सकिन्छ।
यदि आम्दानीभन्दा ऋण र नियमित खर्च धेरै भएको छ भने आफ्नो कोमुने (Kommune) मार्फत निःशुल्क आर्थिक तथा ऋण परामर्श लिन सकिन्छ।
समस्या लुकाएर राख्दा ब्याज, शुल्क र नयाँ इन्कासो मुद्दा थपिन सक्ने भएकाले सक्दो चाँडो सहायता माग्नु नै उपयुक्त हुन्छ।
विशेष गरी घरकर्जाको किस्ता तिर्न कठिन भइरहेको छ भने बैंकसँग सुरुमै सम्पर्क गर्नु अत्यावश्यक हुन्छ। बैंकले अवस्थाअनुसार किस्ता अवधि बढाउने, केही समय मूल रकमको भुक्तानी रोक्ने वा ऋणको संरचना परिवर्तन गर्ने सम्भावना हेर्न सक्छ।
यस्ता उपाय पाउने निश्चित त हुँदैन, तर ऋण सम्झौता रद्द भइसकेपछिको अवस्थाभन्दा पहिले नै समाधान खोज्नु धेरै सजिलो हुन्छ।
