कामको करारमा म्यानेजर वा विशेष स्वतन्त्र पद (særlig uavhengig stilling) लेखिँदैमा रोजगारदाताले ओभरटाइमको पैसा दिनबाट उम्किन नपाउने होर्दालान्ड जिल्ला अदालत (Hordaland tingrett) ले फैसला गरेको छ।

बेर्गेनमा रहेको क्रुज कम्पनी नोर्डिक गेटवे (Nordic Gateway) का पाँच पूर्वकर्मचारीले नपाएको ओभरटाइम रकम माग्दै दायर गरेको मुद्दामा अदालतले उनीहरूको पक्षमा फैसला सुनाएको हो। उनीहरूको काम क्रुज पर्यटकका लागि नर्वेका विभिन्न बन्दरगाहमा स्थल भ्रमण व्यवस्थापन गर्नु थियो। करारमा उनीहरूलाई नेतृत्वदायी वा स्वतन्त्र पदमा राखेर सामान्य कामको समय र ओभरटाइमसम्बन्धी नियमबाट बाहिर राखिएको थियो।

तर अदालतले करारमा लेखिएको पदको नामभन्दा दैनिक काम वास्तवमा कसरी सञ्चालन गरिएको थियो भन्ने कुरालाई मुख्य आधार मानेको छ।

निगरानी र अधिकारविहीन म्यानेजर

अदालतको निष्कर्षअनुसार कर्मचारीहरूलाई आफ्नै कामको मात्रा र समय स्वतन्त्र रूपमा निर्धारण गर्ने पर्याप्त अधिकार थिएन। मुद्दामा प्रस्तुत विवरणअनुसार, एक महिला कर्मचारी ‘डेस्टिनेसन म्यानेजर’ को पदमा थिइन् र एकै समयमा नौवटा बन्दरगाहको जिम्मेवारी सम्हाल्थिन्। तर उनको मातहतमा कुनै कर्मचारी थिएनन् भने कम्पनीको तर्फबाट आर्थिक निर्णय लिने अधिकार पनि उनलाई थिएन।

यसका साथै, कम्पनीको बेर्गेन कार्यालयमा कामको निश्चित समय तोकिएको, फिंगरप्रिन्ट (बायोमेट्रिक) बाट हाजिरी गर्ने प्रणाली रहेको र क्यामरासमेत जडान गरिएको थियो। कर्मचारीले कहिले कार्यालय छाड्छन् भनेर व्यवस्थापनले नजिकबाट निगरानी गर्ने गरेको विवरणसमेत अदालतमा पेस भएको थियो।

७७ दिन लगातार काम, ६ लाख ३० हजार क्रोनर क्षतिपूर्ति

ती महिला कर्मचारीले सन् २०२३ को गर्मीयाममा लगातार ७७ दिन (अप्रिलदेखि) एक दिन पनि बिदा नलिई काम गरेको जानकारी व्यवस्थापनलाई गराएकी थिइन्। उनले २ हजार ८ सय घण्टाभन्दा बढी काम गरेको भन्दै करिब १० लाख क्रोनर दाबी गरेकी थिइन्।

अदालतले चौबीसै घण्टाको तयारी ड्युटी (on-call duty) को दाबी भने पूर्ण रूपमा स्वीकार गरेन। प्रस्तुत गरिएको घण्टाको हिसाब वास्तविकभन्दा बढी हुन सक्ने भन्दै बाँकी रकममा २० प्रतिशत कटौती गरियो। यति हुँदाहुँदै पनि उनलाई बिदा रकम र ढिलाइ ब्याजसहित ६ लाख ३० हजार ३४४ क्रोनर दिनुपर्ने फैसला भएको छ।

अन्य चार कर्मचारीलाई जनही १ लाख २ हजार ५ सयदेखि २ लाख ४४ हजार ६४४ क्रोनरसम्म दिने फैसला भएको छ। फिनान्साभिसन (Finansavisen) का अनुसार, कम्पनीले पाँच कर्मचारीलाई कुल करिब १३ लाख क्रोनर र मुद्दा खर्चबापत थप ९ लाख ४७ हजार ४७४ क्रोनर तिर्नुपर्नेछ।

कम्पनीको भनाइ र पुनरावेदनको सम्भावना

कर्मचारीहरूले साँझ र सप्ताहान्तमा आकस्मिक समस्या समाधान गर्न जानुपर्ने भए पनि निश्चित स्थानमा बसिरहनुपर्ने वा निजी जीवन पूरै त्याग्नुपर्ने अवस्था पुष्टि नभएको भन्दै अदालतले तयारी ड्युटीसम्बन्धी दाबी अस्वीकार गरेको थियो। कम्पनीले फैसलाको विस्तृत अध्ययनपछि पुनरावेदन गर्ने वा नगर्ने निर्णय गर्ने जनाएको छ।

यो पनि पढ्नुहोस्नर्वेमा धेरै कर्मचारीले पाउन सक्छन् पुरानो ओभरटाइमको पैसा

सर्वोच्च अदालतको नयाँ फैसलासँगको सम्बन्ध यो फैसला नर्वेको सर्वोच्च अदालतले अक्टोबर १४, २०२६ मा ‘विशेष स्वतन्त्र पद’ सम्बन्धी गरेको महत्त्वपूर्ण व्याख्याको पाँच दिनपछि आएको हो। सर्वोच्चले एक निर्माण कम्पनीका परियोजना प्रमुखलाई कामको मात्रा र समयमाथि पर्याप्त नियन्त्रण नभएको भन्दै विशेष स्वतन्त्र पद मान्न नमिल्ने ठहर गरेको थियो। लचकदार समय हुँदैमा मात्र यस्तो पदको परिभाषा पूरा नहुने सर्वोच्चको व्याख्यालाई होर्दालान्ड जिल्ला अदालतले पनि यस मुद्दामा आधार मानेको छ।

नर्वेजियन श्रम निरीक्षण प्राधिकरण (Arbeidstilsynet) का अनुसार ‘विशेष स्वतन्त्र पद’ को अपवाद प्रयोग गर्न कडा सर्त पूरा हुनुपर्छ। शङ्का लागेको अवस्थामा सामान्य कामको समयसम्बन्धी नियम लागू हुन्छ।

यस्तो अवस्थामा कर्मचारीले के गर्ने? आफूलाई ‘विशेष स्वतन्त्र पद’ भनिए पनि कामको समय र मात्रा रोजगारदाताले नै निर्धारण गर्ने अवस्था छ भने कर्मचारीले यी विवरण सुरक्षित राख्नुपर्छ:

  • हरेक दिन काम सुरु र समाप्त गरेको समय
  • साँझ, सप्ताहान्त र सार्वजनिक बिदामा गरिएको काम
  • इमेल, सन्देश र कामको जिम्मेवारीसम्बन्धी निर्देशन
  • ओभरटाइम वा बिदा माग्दा प्राप्त जवाफ
  • कामको करार, तलब विवरण र समय दर्ता

समस्या परेमा रोजगारदातासँग कुरा गर्ने, ट्रेड युनियन वा Arbeidstilsynet सँग सम्पर्क गर्न सकिने कानुनी प्रावधान छ।