नर्वेमा लाखौँ कर्मचारीले क्रिसमसअघि आउने तलबमा सामान्य महिनाको तुलनामा बढी रकम हातमा पाउने भएका छन्। यसको मुख्य कारण नोभेम्बर वा डिसेम्बरको तलबमा गरिने आधा कर कटौती (Half tax) हो।
वार्षिक करिब ७ लाख क्रोनर तलब हुने व्यक्तिले एउटा उदाहरणअनुसार सामान्य महिनाभन्दा करिब ८ हजार क्रोनर बढी पाउन सक्छन्। तर, वास्तविक रकम व्यक्तिको तलब, कर कार्ड, कर कटौतीको प्रकार र पाउने छुटमा निर्भर रहन्छ।
यो राज्यले दिएको क्रिसमस उपहार भने होइन। “आधा कर” भनिए पनि वर्षभरि तिर्नुपर्ने कुल कर आधा हुने वा घट्ने होइन। सम्बन्धित महिनामा तलबबाट अग्रिम रूपमा काटिने कर मात्र सामान्यभन्दा कम हुन्छ।
नोभेम्बर वा डिसेम्बरमा लागू हुन सक्छ
मासिक तलब पाउने कर्मचारीको हकमा रोजगारदाताले नोभेम्बर वा डिसेम्बरमध्ये कुनै एक महिनाको तलबमा आधा कर कटौती गर्न सक्छन्। त्यसैले सबै कर्मचारीले एउटै महिनामा बढी तलब पाउँदैनन्।
आफ्नो तलबमा आधा कर कटौती कुन महिना लागू हुन्छ भन्ने थाहा नभए रोजगारदाता वा तलब व्यवस्थापन गर्ने विभागसँग सोध्न सकिन्छ। घण्टाका आधारमा, दैनिक, साप्ताहिक वा प्रत्येक १४ दिनमा तलब पाउने व्यक्तिका लागि छुट्टै गणना अवधि लागू हुन सक्छ।
कर्मचारीले चाहेमा आधा कर कटौती नलिई सामान्य कर कटौती गर्न पनि रोजगारदातालाई अनुरोध गर्न सक्छन्। वर्षभरि आवश्यकताभन्दा कम कर काटिएको आशंका भएमा यो विकल्प उपयोगी हुन सक्छ।
‘आधा कर’ भनेको कम कर तिर्नु होइन
क्रिसमसअघि तलबबाट कम कर काटिँदा धेरैलाई राज्यले कर छुट दिएको जस्तो लाग्न सक्छ। तर, वास्तवमा वर्षभरि तिर्नुपर्ने अनुमानित करलाई फरक–फरक महिनामा बाँडेर कटौती गरिएको हुन्छ।
सामान्यतया कर कार्डको गणना वर्षका १०.५ महिनामा पूर्ण कर कटौती हुने हिसाबले तयार हुन्छ। बिदाको पैसा (Feriepenger) दिइने अवधिमा प्रायः अग्रिम कर कटौती हुँदैन भने क्रिसमसअघिको एउटा तलबमा आधा कर कटौती गरिन्छ। यसको सट्टा वर्षका अन्य महिनामा केही बढी कर काटिएको हुन्छ।
त्यसैले क्रिसमसअघि खातामा आएको बढी रकमलाई राज्यले दिएको बोनस वा उपहारका रूपमा बुझ्नु गलत हुन्छ। यो वर्षभरि तिर्नुपर्ने करको समयगत वितरण मात्र हो।
सबै अतिरिक्त आम्दानीमा एउटै नियम लागू हुँदैन
आधा कर कटौती सामान्य तलबमा लागू हुन्छ। तर ओभरटाइम, कमिसन, सुविधा र तलबसँगै नियमित रूपमा दिइने केही थप रकम पनि निश्चित सीमाभित्र कम कर कटौतीमा समेटिन सक्छन्।
अर्को अवधिमा कमाइएको बोनस, विशेष भुक्तानी वा सामान्य तलबभन्दा अलग प्रकृतिको रकममा भने पूर्ण कर कटौती हुन सक्छ। त्यसैले “ओभरटाइम वा अतिरिक्त आम्दानीमा सधैँ सामान्य कर लाग्छ” अथवा “सबै अतिरिक्त आम्दानीमा आधा कर लाग्छ” भन्ने दुवै बुझाइ पूर्ण रूपमा सही हुँदैनन्। भुक्तानीको प्रकृति र कमाइएको अवधिअनुसार नियम फरक हुन सक्छ।
कुन रकममा कति कर काटिएको छ भन्ने कुरा लोनस्लीपमा जाँच्न सकिन्छ। स्पष्ट नभए रोजगारदाताको तलब विभागसँग सम्पर्क गर्नु उपयुक्त हुन्छ।
कर कार्ड पनि जाँच्नुहोस्
सन् २०२६ मा तलब, ऋण, ब्याज, सम्पत्ति वा अन्य आर्थिक अवस्थामा परिवर्तन भएको छ भने कर कार्डमा रहेको जानकारी जाँच्नु महत्त्वपूर्ण हुन्छ।
कर कार्डको गणनामा अघिल्लो वर्षको आम्दानी, खर्च, सम्पत्ति र ऋणका विवरण प्रयोग गरिन्छ। नयाँ ऋण, परिवर्तन भएको ब्याज, बढेको तलब वा अन्य महत्त्वपूर्ण आर्थिक परिवर्तन स्वतः सही रूपमा समावेश नहुन सक्छ। विवरण गलत भए कर कार्ड परिवर्तन गर्न सकिन्छ।
यो पनि पढ्नुहोस्२०२७ को कर कार्ड (skattekort) डिसेम्बरमा आउँदै, यी विवरण जाँच नगरे पछि थप कर तिर्नुपर्ने हुन सक्छविदेशी कामदारका लागि लागू हुने 'Kildeskatt på lønn' (स्रोतमा कर कटौती) व्यवस्थामा रहेका व्यक्तिले भने सामान्यतया क्रिसमसअघि आधा कर कटौती पाउँदैनन्। त्यसैले आफू कुन कर व्यवस्थामा रहेको हो भन्ने पनि जाँच्नुपर्छ।

