सन् २०२७ का लागि नयाँ कर कार्ड (skattekort) डिसेम्बरमा उपलब्ध हुने अपेक्षा गरिएको छ। कर कार्डमा राखिएको आम्दानी, ऋण, ब्याज र कर छुटसम्बन्धी अनुमान वास्तविक अवस्थासँग नमिले सन् २०२७ भरि आवश्यकभन्दा कम कर काटिन सक्छ र कर हिसाब हुँदा सन् २०२८ मा बाँकी कर (restskatt) तिर्नुपर्ने हुन सक्छ।

डिसेम्बरमा आउनेछ नयाँ कर कार्ड (skattekort)

नर्वेमा प्रत्येक वर्ष नयाँ कर कार्ड जारी गरिन्छ। रोजगारदाता, पेन्सन भुक्तानी गर्ने निकाय वा नाभ Nav ले यही विद्युतीय कर कार्डका आधारमा तलब, पेन्सन वा अन्य भुक्तानीबाट कति कर काट्ने भन्ने निर्धारण गर्छन्।

२०२७ को कर कार्ड डिसेम्बर २०२६ मा उपलब्ध हुने अपेक्षा गरिएको छ। यद्यपि नयाँ कर कार्ड कुन मितिदेखि जारी हुन्छ भन्ने निश्चित मिति अहिलेसम्म सार्वजनिक गरिएको छैन। सन् २०२६ का लागि कर कार्ड अघिल्लो वर्ष डिसेम्बर १५ देखि पठाउन सुरु गरिएको थियो।

कर कार्ड तयार भएपछि सामान्यतया एसएमएस वा इमेलमार्फत सूचना आउँछ। त्यसपछि कर कार्यालय (Skatteetaten) को वेबसाइटमा लगइन गरेर त्यसलाई हेर्न र आवश्यक विवरण परिवर्तन गर्न सकिन्छ।

पहिले नै राखिएको विवरण सही नहुन सक्छ

कर कार्यालयले आफूसँग उपलब्ध पुराना विवरणका आधारमा कर कार्डमा विभिन्न रकम पहिले नै राखेको हुन्छ। तर व्यक्तिको आर्थिक अवस्था परिवर्तन भएको हुन सक्ने भएकाले ती अनुमान सधैँ सही हुन्छन् भन्ने हुँदैन।

तलब बढेको वा घटेको, नयाँ जागिर सुरु गरेको, जागिर परिवर्तन गरेको अथवा काम गर्ने समय बढाएको वा घटाएको भए कर कार्डमा रहेको अनुमानित वार्षिक आम्दानी वास्तविक रकमसँग नमिल्न सक्छ।

अतिरिक्त जागिरबाट प्राप्त हुने आम्दानी, पेन्सन तथा नाभ Nav बाट पाइने करयोग्य भुक्तानी पनि कुल अनुमानित आम्दानीमा समावेश गर्नुपर्छ। एकभन्दा बढी रोजगारदाता भएका व्यक्तिले सबै रोजगारदाताबाट सन् २०२७ मा प्राप्त हुने अनुमानित आम्दानी जोडेर कुल रकम जाँच गर्नुपर्छ।

ऋणको ब्याजमा विशेष ध्यान दिनुपर्ने

घर कर्जा वा अन्य ऋण भएका व्यक्तिले कर कार्डमा राखिएको ऋण र ब्याज रकम विशेष रूपमा जाँच गर्नुपर्ने हुन्छ। ऋणको ब्याज तिर्दा कर छुट (fradrag) पाइने भएकाले ब्याजको अनुमानले मासिक रूपमा काटिने करमा सीधा असर गर्छ।

यदि कर कार्डमा अपेक्षित ब्याज खर्च वास्तविकभन्दा बढी राखिएको छ भने व्यक्तिले पाउने ब्याजसम्बन्धी कर छुटपनि बढी गणना हुन्छ। त्यसका कारण रोजगारदाताले आवश्यकभन्दा कम कर काट्न सक्छ।

उदाहरणका लागि

कर कार्डमा एक वर्षमा १ लाख ५० हजार क्रोनर ब्याज तिर्ने अनुमान राखिएको छ तर वास्तविक ब्याज खर्च १ लाख क्रोनर मात्र हुने भयो भने अनुमानित रकम ५० हजार क्रोनर बढी हुन्छ। कर छुटको मूल्य २२ प्रतिशत नै कायम रहेमा यसबाट करिब ११ हजार क्रोनर कम कर तिरिएको अवस्था आउन सक्छ। यो उदाहरण सन् २०२७ मा पनि ब्याजसम्बन्धी कर छुटको दर २२ प्रतिशत नै रहने अनुमानमा आधारित छ।

कर कार्यालयका अनुसार ऋणको ब्याजदर परिवर्तन हुँदा कर कार्ड स्वतः अद्यावधिक हुँदैन। त्यसैले बैंकको अनलाइन सेवामा रहेको भुक्तानी योजना हेरेर सन् २०२७ मा तिर्नुपर्ने अनुमानित ब्याज रकम कर कार्डमा लेखिएको रकमसँग तुलना गर्नुपर्छ।

एकभन्दा बढी रोजगारदाता भए कर कटौती जाँच गर्नुपर्ने

एकभन्दा बढी ठाउँमा काम गर्ने व्यक्तिले रोजगारदाताहरूले प्रयोग गरिरहेको कर कटौतीको तरिका पनि जाँच गर्नुपर्छ।

कर कार्डमा तालिकाका आधारमा कर काटिने व्यवस्था छ भने मुख्य रोजगारदाताले मात्र तालिका कटौती (tabelltrekk) प्रयोग गर्नुपर्छ। अन्य रोजगारदाताले निश्चित प्रतिशतका आधारमा गरिने प्रतिशत कटौती (prosenttrekk) प्रयोग गर्नुपर्छ।

एकभन्दा बढी रोजगारदाताले तालिका कटौती प्रयोग गरेमा कुल आम्दानीबाट आवश्यकभन्दा कम कर काटिन सक्छ। कर कार्यालयका अनुसार धेरै रोजगारदाता भएका केही व्यक्तिका लागि प्रतिशतका आधारमा कर काटिने कर कार्ड बढी उपयुक्त हुन सक्छ।

घर, सम्पत्ति र कर छुटसम्बन्धी विवरण पनि हेर्नुपर्ने

सन् २०२६ मा घर किनेको वा बेचेको, ऋणको ठूलो हिस्सा चुक्ता गरेको अथवा सम्पत्ति र बचतमा उल्लेखनीय परिवर्तन आएको छ भने कर कार्डमा देखाइएको विवरण पुरानो हुन सक्छ।

जागिर, बसोबास वा पारिवारिक अवस्थामा आएको परिवर्तनले व्यक्तिले पाउने कर छुट (fradrag) मा पनि असर गर्न सक्छ। त्यसैले कर कार्डमा राखिएका छुट र कटौती आफ्नो वास्तविक अवस्थासँग मेल खान्छन् कि छैनन् भन्ने जाँच गर्नुपर्छ।

गलत विवरण अनलाइनबाटै परिवर्तन गर्न सकिन्छ

कर कार्डमा गलत वा पुरानो विवरण भेटिएमा कर कार्यालयको वेबसाइटमा लगइन गरेर अपेक्षित आम्दानी, ऋण, ब्याज र अन्य सम्बन्धित रकम परिवर्तन गर्न सकिन्छ।

संशोधित कर कार्ड तयार भएपछि रोजगारदाताले त्यसलाई विद्युतीय रूपमा स्वतः प्राप्त गर्छ। कर्मचारीले नयाँ कर कार्ड आफैँ लगेर रोजगारदातालाई बुझाउनुपर्दैन।

कर कार्ड एकपटक मात्र परिवर्तन गर्न पाइने होइन। वर्षको बीचमा तलब, ऋण, ब्याज वा अन्य आर्थिक विवरण परिवर्तन भए आवश्यकताअनुसार फेरि अद्यावधिक गर्न सकिन्छ।

थप कर कटाउन पनि अनुरोध गर्न सकिने

कर कार्ड मा राखिएका विवरण सही भए पनि प्रत्येक महिना केही बढी कर तिर्न चाहने व्यक्तिले रोजगारदाता, Nav वा पेन्सन भुक्तानी गर्ने निकायलाई बढी रकम काट्न अनुरोध गर्न सक्छन्।

यस्तो अवस्थामा कर कार्ड परिवर्तन गर्नु अनिवार्य हुँदैन। तर थप कर कटाउन गरिएको अनुरोधले कर कार्ड मा रहेका गलत विवरण सच्याउने आवश्यकतालाई प्रतिस्थापन गर्दैन।

थप

https://www.skatteetaten.no/en/person/taxes/tax-deduction-card-and-advance-tax/order-a-tax-deduction-card/