नयाँ डाटा सेन्टरहरूको तीव्र वृद्धिका कारण आगामी वर्षहरूमा बिजुलीको मूल्यमा उल्लेख्य वृद्धि हुन सक्ने एक नयाँ विश्लेषणले देखाएको छ। जलस्रोत तथा ऊर्जा निर्देशनालय (NVE) का अनुसार, नयाँ विद्युत् उत्पादन पर्याप्त मात्रामा नथपिएमा सन् २०३५ सम्ममा बिजुलीको औसत मूल्य पहिले अनुमान गरिएभन्दा ३५ देखि ५५ प्रतिशतसम्म बढी हुन सक्छ। यो अनुमान सामान्य मौसम भएको वर्षको लागि हो, तर चिसो र सुख्खा मौसममा मूल्य अझै अनियन्त्रित हुन सक्ने चेतावनी दिइएको छ।

अहिलेको विद्युत् बचत समाप्त हुन सक्ने

नर्वेले हाल सामान्य वर्षमा आफूलाई आवश्यक पर्नेभन्दा करिब १५ टेरावाट घण्टा (TWh) बढी विद्युत् उत्पादन गर्दै आएको छ। तर, NVE को पछिल्लो प्रतिवेदनले विद्युत् खपत बढ्ने र नयाँ उत्पादन सुस्त रहने हो भने सन् २०३५ सम्ममा देशको वार्षिक विद्युत् सन्तुलन माइनस ४ TWh पुग्न सक्ने देखाएको छ।

यसको अर्थ नर्वेले आफूलाई आवश्यक बिजुली आफैं उत्पादन गर्न नसक्ने र विदेशबाट ठूलो मात्रामा आयात गर्नुपर्ने अवस्था आउन सक्छ। विशेषगरी खराब मौसम भएको वर्षमा यस्तो आयात आवश्यकता ३० TWh सम्म पुग्न सक्ने अनुमान छ।

NVE का महानिर्देशक शेतिल लुन्ड (Kjetil Lund) का अनुसार, डाटा सेन्टरको हालको वृद्धिदर कायम रहेमा नर्वेले आधुनिक इतिहासकै सबैभन्दा छिटो विद्युत् खपत वृद्धि सामना गर्नेछ। "पर्याप्त नयाँ उत्पादनबिना यसरी खपत बढ्दा नर्वेमा सामान्य वर्षमा समेत विद्युत् अभाव हुन सक्छ," उनले चेतावनी दिए।

यो पनि पढ्नुहोस्सन् २०३५ देखि नर्वेमा ठूलो विद्युत् अभाव हुन सक्ने स्टाटनेट (Statnett) को चेतावनी

डाटा सेन्टरको खपत आठ गुणाले बढ्ने सम्भावना

हाल नर्वेका डाटा सेन्टरहरूले वार्षिक करिब ३ TWh बिजुली प्रयोग गर्छन्। तर भविष्यका लागि विद्युत् सञ्जाल क्षमता (grid capacity) छुट्याइएका सबै परियोजनाहरू निर्माण भएमा, सन् २०३५ सम्ममा यिनीहरूको खपत करिब २५ TWh पुग्न सक्ने अनुमान छ।

नर्वेमा भविष्यका परियोजनाका लागि सुरक्षित राखिएको सञ्जाल क्षमतामध्ये झन्डै आधा हिस्सा डाटा सेन्टरहरूकै लागि छुट्याइएको छ। यसरी डाटा सेन्टरले उपलब्ध विद्युत् र सञ्जाल क्षमताको ठूलो हिस्सा ओगट्दा अन्य उद्योग स्थापना र जलवायु प्रदूषण घटाउने विद्युतीकरणका कार्यहरू महँगो र कठिन हुन सक्ने NVE को चिन्ता छ।

चिसो र सुख्खा मौसममा थप संकट

नर्वे मुख्यतया जलविद्युत्मा निर्भर भएकाले पानीको उपलब्धताले उत्पादनमा ठूलो प्रभाव पार्छ। देश सामान्य वर्षमै विद्युत् आयात गर्नुपर्ने अवस्थामा पुगेमा, चिसो र सुख्खा वर्षहरूमा बिजुलीको मूल्य असाधारण रूपमा आकासिने सम्भावना रहन्छ। त्यस्तो बेला नर्वे युरोपेली बजार र छिमेकी देशहरूको मूल्य र अन्तरदेशीय प्रसारण क्षमताबाट अझ बढी प्रभावित हुनेछ।

यद्यपि, NVE ले यो अनिवार्य रूपमा आउने निश्चित भविष्यवाणी नभएको स्पष्ट पारेको छ। बिजुलीको मूल्य बढेपछि केही डाटा सेन्टर परियोजनाहरू रद्द वा स्थगित हुन सक्ने, उपभोक्ताले खपत घटाउने र नयाँ ऊर्जा उत्पादन सुरु हुन सक्ने सम्भावना पनि रहन्छ। तर ऊर्जा प्रणाली विस्तार गर्न लामो समय लाग्ने भएकाले आगामी केही वर्षमा सरकार र सरोकारवालाहरूले लिने निर्णय अत्यन्त महत्त्वपूर्ण हुने प्रतिवेदनको निष्कर्ष छ।

स्रोतहरू