नर्वेले पर्याप्त मात्रामा नयाँ विद्युत् उत्पादन र प्रसारण सञ्जाल विकास गर्न नसके सन् २०३५ देखि ठूलो विद्युत् अभावको सामना गर्नुपर्ने हुन सक्छ। अक्टोबर १९ मा स्टाटनेटले सार्वजनिक गरेको दीर्घकालीन बजार विश्लेषण का चार मुख्य परिदृश्यमध्ये एउटामा वार्षिक औसत करिब 20 TWh विद्युत् अभाव हुन सक्ने देखिएको छ। तर, यसको अर्थ नर्वेमा विद्युत् अभाव निश्चित भइसकेको भन्ने होइन; यो उच्च खपत र न्यून उत्पादन हुँदा आउन सक्ने एउटा सम्भावित अवस्था हो।
विद्युत् खपत किन बढ्दैछ?
यातायातको विद्युतीकरण, नयाँ उद्योग र डेटा सेन्टरको स्थापनाले आगामी दशकमा विद्युत्को माग ह्वात्तै बढाउने स्टाटनेटको भनाइ छ। कम्पनीले हालकै अवस्थामा करिब 50 TWh नयाँ खपतका लागि आफ्नो सञ्जालमा क्षमता सुरक्षित गरिसकेको छ। यो सबै खपत एकैपटक नआए पनि समयसँगै थपिँदै जाने सम्भावना छ।
नयाँ विश्लेषणअनुसार सन् २०६० सम्ममा नर्वेको विद्युत् खपत वर्तमान अवस्थाभन्दा २० देखि ८० TWh सम्म बढ्न सक्छ। यसअघिको विश्लेषणमा यो वृद्धि ५० देखि १२० TWh सम्म हुने अनुमान थियो, तर नयाँ उद्योग तथा परियोजना कार्यान्वयनको सम्भावना कम देखिएपछि यसपटक अपेक्षित वृद्धि घटाइएको छ।
नयाँ विद्युत् उत्पादन योजनाको कमी
हाल नर्वेमा नयाँ विद्युत् उत्पादनका योजनाहरू निकै कम छन्। उत्पादनभन्दा खपत तीव्र गतिमा बढेमा अहिले नर्वेसँग रहेको अतिरिक्त विद्युत् क्रमशः घट्दै जानेछ। यद्यपि, विश्लेषणको आधारभूत परिदृश्य (Base Scenario) मा भने सन् २०६० सम्म नर्वेको विद्युत् सन्तुलन सामान्य रूपमा सकारात्मक नै रहने अनुमान छ, जसको अर्थ उत्पादन खपतभन्दा केही बढी हुन सक्छ।
अभावको अर्थ घरमा बत्ती निभ्ने होइन
वार्षिक विद्युत् अभाव हुनुको अर्थ घरमा अचानक बिजुली काटिने वा प्रयोगका लागि विद्युत् नै उपलब्ध नहुने भन्ने होइन। नर्वेको विद्युत् प्रणाली छिमेकी देशहरूसँग जोडिएकाले आवश्यक पर्दा विद्युत् आयात गर्न सकिन्छ। यहाँ मुख्य चुनौती भनेको आयातित विद्युत्को मूल्य कति हुन्छ र उद्योगहरूले त्यो लागत धान्न सक्छन् कि सक्दैनन् भन्ने हो।
भविष्यमा विद्युत्को मूल्य कस्तो होला?
आधारभूत परिदृश्यमा दक्षिणी र मध्य नर्वेमा दीर्घकालीन औसत मूल्य घटेर प्रति मेगावाट–घण्टा (MWh) ४० देखि ५० युरो हुन सक्ने स्टाटनेटको अनुमान छ। छिमेकी देशहरूमा विद्युत्को मूल्य कम हुने अपेक्षाले यहाँ पनि मूल्य घट्ने आकलन गरिएको हो।
तर, उत्तरी नर्वेमा भने नयाँ उद्योग र खपत बढ्दा मूल्य माथि जान सक्छ। समग्रमा, सन् २०३० पछिको औसत मूल्य प्रति मेगावाट–घण्टा ३० देखि ७० युरोको दायरामा रहने विश्लेषण छ। वास्तविक मूल्य भने मौसम, विद्युत् उत्पादन, छिमेकी देशको अवस्था र नयाँ उद्योगको खपतमा निर्भर हुनेछ।
प्रसारण सञ्जालमा ठूलो लगानी आवश्यक
विद्युत् खपत र उत्पादनको वृद्धिदर जस्तो भए पनि नर्वेका विभिन्न भाग जोड्ने मुख्य प्रसारण सञ्जाललाई बलियो बनाउनुपर्ने स्टाटनेटको निष्कर्ष छ। यसले देशभित्रको मूल्य अन्तर कम गर्न, नयाँ विद्युत् उत्पादनलाई ग्रिडमा जोड्न र उद्योग तथा व्यवसायलाई आवश्यक क्षमता उपलब्ध गराउन मद्दत गर्नेछ।
अन्ततः, नर्वेले भविष्यमा विद्युत् अभाव सामना गर्छ वा अतिरिक्त विद्युत् कायम राख्छ भन्ने कुरा नयाँ उत्पादन कति निर्माण हुन्छ भन्नेमै निर्भर छ।
त्यसैले, २० TWh को सम्भावित अभाव एउटा पूर्वचेतावनी मात्र हो, निश्चित भविष्यवाणी होइन।
