Helfoविशेष जानकारी

के नर्वेमा स्वास्थ्य सेवा निःशुल्क छ?

नर्वेमा स्वास्थ्य सेवाको अधिकांश खर्च सरकारले बेहोरे पनि सबै उपचार पूर्ण रूपमा निःशुल्क हुँदैन। फास्टलेगे, आकस्मिक सेवा, विशेषज्ञ चिकित्सक वा अस्पतालमा भर्ना नभई गरिने जाँच र उपचारका लागि वयस्कले सामान्यतया निश्चित रकम आफैं तिर्नुपर्छ। अस्पतालमा भर्ना भएर गरिने उपचार र बालबालिकाका धेरै स्वास्थ्य सेवा निःशुल्क हुन्छन् ।

जिम्मेवार सरकारी निकाय
Helfo
प्रकाशित मिति
पछिल्लो पटक जाँच गरिएको
अर्को समीक्षा मिति

नर्वेमा स्वास्थ्य सेवा निःशुल्क छ भन्ने धेरैको बुझाइ हुन्छ। बिरामी भएपछि अस्पताल जाँदा ठूलो रकम तिर्नु नपर्ने भएकाले यस्तो धारणा बनेको हुन सक्छ। तर वास्तविकता अलि फरक छ। नर्वेमा सरकारले स्वास्थ्य सेवाको अधिकांश खर्च बेहोर्छ, तर सबै उपचार पूर्ण रूपमा निःशुल्क हुँदैन।

सामान्य स्वास्थ्य समस्या हुँदा हामी प्रायः आफ्नो नियमित चिकित्सक अर्थात् फास्टलेगेकहाँ जान्छौँ। त्यहाँ जाँच गराउँदा उपचारको पूरा खर्च तिर्नुपर्दैन, तर बिरामीले निश्चित रकम आफैं तिर्नुपर्छ। नर्वेजियन भाषामा बिरामीले तिर्ने यो हिस्सालाई egenandel भनिन्छ।

यसको अर्थ फास्टलेगेले दिएको सेवाको मूल्य त्यति मात्रै हो भन्ने होइन। चिकित्सकको समय, कर्मचारी, कार्यालय सञ्चालन र उपचारको बाँकी खर्च सार्वजनिक स्वास्थ्य प्रणालीले बेहोरेको हुन्छ। बिरामीले भने सरकारले तोकेको सानो हिस्सा तिर्छ।

फास्टलेगे उपलब्ध नभएको बेला उपचार पर्खन नसक्ने अवस्था छ भने लेगेवाक्त इमरजे्न्सी) जान सकिन्छ। लेगेवाक्तमा पनि प्रायः केही रकम तिर्नुपर्छ। साँझ, राति वा बिदाको समयमा उपचार गराउँदा दिनको तुलनामा रकम बढी हुन सक्छ।

तर ज्यान जोखिममा परेको अवस्था भए बिलको चिन्ता गरेर सहायता लिन ढिला गर्नु हुँदैन। त्यस्तो अवस्थामा 113 मा फोन गर्नुपर्छ। तत्काल उपचार चाहिएको तर अवस्था जीवनघातक नभए 116 117 मा फोन गरेर लेगेभाक्टसँग सम्पर्क गर्न सकिन्छ।

अस्पताल जाँदा पनि पैसा लाग्छ?

अस्पतालमा उपचार गराउँदा पैसा लाग्छ कि लाग्दैन भन्ने कुरा तपाईं भर्ना हुनुभएको हो कि केवल जाँच वा उपचार गरेर फर्किनुभएको हो भन्नेमा निर्भर हुन्छ।

यदि तपाईंलाई सार्वजनिक अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ भने सामान्यतया उपचारको शुल्क तिर्नुपर्दैन। शल्यक्रिया, अस्पतालको बेड, खाना र भर्ना अवधिको आवश्यक उपचार सार्वजनिक स्वास्थ्य व्यवस्थाले बेहोर्छ।

तर अस्पतालमा भर्ना नभई विशेषज्ञसँग जाँच गराएर, परीक्षण गरेर वा फलोअप सकेर घर फर्किनुभयो भने केही रकम तिर्नुपर्ने हुन सक्छ। अस्पतालको यस्तो बाह्य बिरामी विभागलाई नर्वेजियनमा poliklinikk भनिन्छ। त्यहाँ तिरिएको स्वीकृत रकम भने पछि frikort पाउने हिसाबमा जोडिन्छ।

त्यसैले “अस्पतालको उपचार निःशुल्क हुन्छ” भन्ने कुरा आधा मात्रै सत्य हो। भर्ना भएर गरिएको उपचार सामान्यतया निःशुल्क हुन्छ, तर अस्पतालमा हुने प्रत्येक भेट, जाँच वा सेवा निःशुल्क हुन्छ भन्ने होइन।

धेरैपटक डाक्टरकहाँ जानुपर्‍यो भने के हुन्छ?

लामो समय बिरामी भएका वा नियमित उपचार चाहिने व्यक्तिले वर्षभरि धेरैपटक डाक्टर, अस्पताल वा अन्य स्वास्थ्य सेवामा जानुपर्ने हुन सक्छ। हरेकपटक केही रकम तिर्दै जाँदा खर्च बढ्न सक्छ। यही कारण नर्वेमा फ्रिकोर्ट (frikort) को व्यवस्था छ।

तपाईंले एक क्यालेन्डर वर्षमा मान्यता प्राप्त स्वास्थ्य सेवाका लागि तिरेको रकम सरकारले तोकेको सीमामा पुगेपछि फ्रिकोर्ट पाउनुहुन्छ। सन् २०२६ मा यो सीमा ३,२७८ क्रोनर छ। त्यसपछि सोही वर्षको बाँकी अवधिमा frikort अन्तर्गत पर्ने धेरै सेवाका लागि थप egenandel तिर्नुपर्दैन।

उदाहरणका लागि, तपाईंले फास्टलेगे, अस्पतालको पोलीक्लिनिक, सार्वजनिक सम्झौता भएका केही विशेषज्ञ वा निश्चित औषधिका लागि तिरेको रकम यस हिसाबमा जोडिन सक्छ। यी भुक्तानी प्रायः स्वचालित रूपमा दर्ता हुन्छन्। कति रकम दर्ता भएको छ र frikort जारी भएको छ कि छैन भन्ने कुरा Helsenorge मा लगइन गरेर हेर्न सकिन्छ।

तर फ्रिकोर्ट पाएपछि स्वास्थ्यसँग सम्बन्धित हरेक कुरा निःशुल्क हुन्छ भन्ने चाहिँ होइन। डाक्टरले लेखिदिएको कुनै सर्टिफिकेट, उपचारमा प्रयोग भएका केही सामग्री, अपोइन्टमेन्टमा उपस्थित नभएको शुल्क वा सार्वजनिक योजनामा नपर्ने निजी उपचारको रकम आफैंले तिर्नुपर्ने हुन सक्छ। यस्तो खर्च फ्रिकोर्टको सीमामा नजोडिन पनि सक्छ।

बालबालिकाको उपचारमा के व्यवस्था छ?

बालबालिकाका लागि व्यवस्था वयस्कको भन्दा फरक छ। १ अगस्ट २०२६ देखि फ्रिकोर्ट व्यवस्थामा पर्ने स्वास्थ्य सेवाका लागि १८ वर्षमुनिका बालबालिका तथा किशोरकिशोरीले सामान्य egenandel तिर्नुपर्दैन।

यसको अर्थ बच्चालाई फास्टलेगे वा अस्पताल लैजाँदा सामान्य उपचार शुल्क नलाग्न सक्छ। तर अपोइन्टमेन्टमा उपस्थित नभएको शुल्क, केही विशेष सामग्री वा सार्वजनिक योजनाबाहिरको सेवा भने निःशुल्क नहुन सक्छ।

बालबालिकाले विद्यालयको स्वास्थ्य सेवा र बाल स्वास्थ्य केन्द्रबाट पनि सहायता पाउन सक्छन्।

दाँतको उपचार किन फरक छ?

दाँतको उपचारलाई नर्वेको सामान्य स्वास्थ्य सेवासँग एउटै रूपमा बुझ्नु हुँदैन। वयस्कका लागि सामान्य दन्त उपचार प्रायः निःशुल्क हुँदैन।

१८ वर्षसम्मका बालबालिकाले सार्वजनिक दन्त स्वास्थ्य सेवाबाट सामान्य उपचार निःशुल्क पाउँछन्। तर दाँत सीधा पार्न लगाइने ब्रेसेसजस्ता उपचारमा फरक नियम लागू हुन सक्छ।

उपचार हुने वर्षमा १९ देखि २८ वर्ष उमेरका व्यक्तिले सार्वजनिक दन्त क्लिनिकमा गएर सहुलियत पाउन सक्छन्। हालको व्यवस्थाअनुसार उनीहरूले सरकारी दरको २५ प्रतिशत आफैं तिर्छन् र बाँकी ७५ प्रतिशत सार्वजनिक व्यवस्थाले बेहोर्छ। यो सुविधा लिन निजी दन्त क्लिनिक होइन, आफ्नो क्षेत्रको सार्वजनिक दन्त स्वास्थ्य सेवामा सम्पर्क गर्नुपर्छ।

त्यसभन्दा माथिका अधिकांश वयस्कले दाँतको सामान्य उपचार खर्च आफैं तिर्छन्। यद्यपि केही रोग, चोट, दाँत वा बंगारासम्बन्धी विशेष अवस्था भएका व्यक्तिले सार्वजनिक सहायता पाउन सक्छन्। त्यसैले महँगो उपचार सुरु गर्नुअघि दन्त चिकित्सकसँग आफ्नो अवस्थामा कुनै सहायता उपलब्ध छ कि छैन भनेर सोध्नु उचित हुन्छ।

औषधि पनि निःशुल्क हुन्छ?

डाक्टरले लेखेको प्रत्येक औषधि निःशुल्क हुँदैन। कतिपय दीर्घकालीन रोग वा निश्चित स्वास्थ्य अवस्थाका औषधिमा सरकारले खर्चको ठूलो हिस्सा बेहोर्छ। बिरामीले तिर्ने स्वीकृत हिस्सा फ्रिकोर्ट को हिसाबमा जोडिन सक्छ। तर सामान्य प्रेस्क्रिप्सनमा दिइएका वा सार्वजनिक सहायतामा नपर्ने औषधिको मूल्य बिरामीले आफैं तिर्नुपर्ने हुन्छ।

औषधि किन्दा आफूले तिरेको रकम फ्रिकोर्ट मा जोडिन्छ कि जोडिँदैन भन्ने थाहा नभए फार्मेसीमा सोध्न सकिन्छ।

निजी चिकित्सककहाँ जाँदा ध्यान दिनुपर्ने

नर्वेमा सार्वजनिक व्यवस्थासँग सम्झौता भएका र नभएका दुवै प्रकारका निजी चिकित्सक तथा उपचार केन्द्र छन्। बाहिरबाट हेर्दा दुवै उस्तै देखिए पनि बिरामीले तिर्नुपर्ने रकममा ठूलो फरक पर्न सक्छ।

सार्वजनिक व्यवस्थासँग सम्झौता भएको चिकित्सककहाँ जाँदा प्रायः निर्धारित egenandel मात्रै तिर्नुपर्छ। तर सम्झौता नभएको निजी क्लिनिकले आफ्नो मूल्य आफैं तोक्न सक्छ। त्यहाँ गरिएको उपचारको पूरै खर्च आफैंले तिर्नुपर्ने हुन सक्छ र त्यो रकम फ्रिकोर्ट मा पनि नजोडिन सक्छ।

त्यसैले निजी सेवा लिनुअघि उपचारको कुल मूल्य, सार्वजनिक सहायता लागू हुन्छ कि हुँदैन र तिरेको रकम फ्रिकोर्ट मा जोडिन्छ कि जोडिँदैन भनेर सोध्नु राम्रो हुन्छ।

त्यसो भए नर्वेको स्वास्थ्य सेवा निःशुल्क हो कि होइन?

सही उत्तर हो: केही सेवा निःशुल्क छन्, धेरै सेवामा बिरामीले सानो हिस्सा तिर्छन् र केही सेवा पूर्ण रूपमा आफैंले तिर्नुपर्छ।

अस्पतालमा भर्ना भएर गरिने उपचार सामान्यतया निःशुल्क हुन्छ।

फास्टलेगे, लेगेभाक्ट, विशेषज्ञ र अस्पतालमा भर्ना नभई गरिने जाँचका लागि प्रायः निश्चित रकम तिर्नुपर्छ। वर्षभरि तिरेको मान्यता प्राप्त रकम निश्चित सीमामा पुगेपछि frikort पाइन्छ। तर वयस्कको सामान्य दन्त उपचार, सार्वजनिक सम्झौताबाहिरको निजी उपचार र केही अतिरिक्त खर्च यो सुरक्षाभित्र पर्दैनन्।

यसैले नर्वेको स्वास्थ्य सेवालाई “सबै निःशुल्क” भन्नुभन्दा उपचारको अधिकांश खर्च सार्वजनिक व्यवस्थाले बेहोर्ने र बिरामीले सीमित हिस्सा तिर्ने प्रणाली भनेर बुझ्नु बढी सही हुन्छ।

Norsk

महत्त्वपूर्ण नर्वेजियन शब्दहरू

Egenandel (एगन-आन्नेल)
सार्वजनिक स्वास्थ्य सेवाको कुल खर्चमध्ये बिरामीले आफैँ तिर्नुपर्ने स्वीकृत शुल्क।
Frikort (फ्रि-कोर्ट)
स्वीकृत एगनआन्नेलको वार्षिक सीमा पार गरेपछि प्राप्त हुने व्यवस्था। फ्रिकोर्ट पाएपछि त्यस क्यालेन्डर वर्षको बाँकी अवधिमा फ्रिकोर्टअन्तर्गत पर्ने स्वास्थ्य सेवाका लागि एगनआन्नेल तिर्नुपर्दैन।
Fastlege (फास्तलेगे)
नियमित वा व्यक्तिगत चिकित्सक। नर्वेमा बस्ने व्यक्तिलाई सामान्य स्वास्थ्य समस्या र नियमित उपचारका लागि तोकिएको चिकित्सकलाई Fastlege भनिन्छ। आवश्यक पर्दा fastlege ले बिरामीलाई अस्पताल वा विशेषज्ञ चिकित्सककहाँ पठाउन सक्छ।
Legevakt (लेगेवाक्ट)
Fastlege उपलब्ध नभएको बेला स्वास्थ्य सहायता पर्खन नसक्ने अवस्था भए सम्पर्क गरिने आकस्मिक चिकित्सकीय सेवा। साँझ, राति, सप्ताहान्त वा बिदाको समयमा अचानक बिरामी पर्दा वा चोट लाग्दा 116 117 मा फोन गरेर legevakt सँग सम्पर्क गर्न सकिन्छ। Legevakt जीवनलाई तत्काल खतरा नभएको तर अर्को दिनसम्म पर्खन नमिल्ने अवस्थाका लागि हो। ज्यान जोखिममा परेको गम्भीर अवस्थामा भने 113 मा फोन गर्नुपर्छ।
Poliklinikk (पोलिक्लिनिक्)
स्पतालमा भर्ना नभई जाँच, उपचार, विशेषज्ञसँगको परामर्श वा फलोअप गरिने बाह्य बिरामी विभाग। सार्वजनिक अस्पतालमा भर्ना भएर गरिने उपचार सामान्यतया निःशुल्क भए पनि poliklinikk मा जाँच वा उपचार गराउँदा वयस्कले प्रायः egenandel तिर्नुपर्छ। स्वीकृत रूपमा तिरिएको यस्तो रकम frikort प्राप्त गर्ने वार्षिक हिसाबमा जोडिन सक्छ।

यो जानकारी कसका लागि हो

  • सबैका लागि