नर्वेका माध्यमिक विद्यालय (videregående skole) मा विद्यार्थीको अनुपस्थिति उल्लेख्य रूपमा घटेको छ। शिक्षा मन्त्रालय (Kunnskapsdepartementet) ले १४ अक्टोबर २०२६ मा सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार, गत शैक्षिक वर्ष विद्यार्थीको अनुपस्थिति अघिल्लो वर्षको तुलनामा औसत दुई दिनले घटेको छ। कोरोना महामारीपछि विद्यालयमा अनुपस्थिति घटेको यो पहिलो पटक हो।
अनुपस्थितिका मुख्य तथ्यांकहरू
गत शैक्षिक वर्ष पाँच दिनभन्दा कम अनुपस्थित हुने विद्यार्थीको संख्या ४७ प्रतिशतबाट बढेर ६५ प्रतिशत पुगेको छ (अर्थात् एक वर्षमै १८ प्रतिशत विन्दुले वृद्धि)।
यसैगरी, धेरै दिन विद्यालय नजाने (१० दिन वा त्यसभन्दा बढी) विद्यार्थीको संख्या पनि २९ प्रतिशतबाट घटेर करिब १६ प्रतिशतमा झरेको छ।
विद्यार्थीको 'मिडियन' (median) अनुपस्थिति ५.३ प्रतिशतबाट घटेर ४.४ प्रतिशत भएको छ। दिनका आधारमा हेर्दा मिडियन अनुपस्थिति ५ दिनबाट ३ दिनमा झरेको छ। तर, दिनको सट्टा घण्टाका आधारमा गणना हुने अनुपस्थिति भने २० बाट बढेर २२ घण्टा पुगेको छ।
नयाँ अनुपस्थिति नियम (Fraværsregler) को प्रभाव
शिक्षा मन्त्री Kari Nessa Nordtun ले विद्यार्थीहरू पहिलेभन्दा बढी विद्यालयमा उपस्थित भएकोमा खुसी व्यक्त गर्दै, नियमित उपस्थितिले पढाइसँगै विद्यालयको सामाजिक वातावरणमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन्।
सरकारले विद्यार्थीको अनुपस्थिति घट्नुमा गत शैक्षिक वर्षदेखि लागू गरिएको नयाँ अनुपस्थिति नियमको प्रमुख भूमिका रहेको बताएको छ।
नयाँ नियमअनुसार स्वास्थ्यसम्बन्धी कारणले अनुपस्थित हुँदा विद्यार्थीले निश्चित सीमासम्म आफैंले जानकारी दिएर (egenmelding) बिदा लिन सक्छन्। तर स्वास्थ्यसम्बन्धी र बिनाकागजातको अनुपस्थिति जोडेर कुनै विषयमा १० प्रतिशत पुगेपछि भने थप अनुपस्थितिलाई छुट दिन स्वास्थ्यकर्मीको प्रमाणपत्र अनिवार्य हुन्छ।
१० प्रतिशतको नियम विद्यार्थी र अभिभावकले बुझ्न जरुरी
१० प्रतिशत अनुपस्थितिको सीमा (Fraværsgrensen) विद्यालयको कुल दिनमा होइन, प्रत्येक विषयमा छुट्टाछुट्टै लागू हुन्छ।
कुनै विषयको वार्षिक पढाइ समयको १० प्रतिशतभन्दा बढी अनुपस्थिति (कागजात नभएको र egenmelding) भएमा सामान्यतया विद्यार्थीले उक्त विषयमा अन्तिम ग्रेड वा मूल्यांकन नपाउने जोखिम हुन्छ।
अनुपस्थितिका कारण ग्रेड नपाउने जोखिममा पुगेका विद्यार्थीलाई (र १८ वर्षमुनिका भए उनीहरूका अभिभावकलाई समेत) विद्यालयले लिखित रूपमा पूर्वसूचना दिनुपर्ने कानुनी व्यवस्था छ।
यद्यपि, सबै अनुपस्थिति यो १० प्रतिशतको सीमाभित्र गणना हुँदैन। कल्याणसम्बन्धी कारण (Velferdsgrunner), कानुनअनुसार अनिवार्य उपस्थिति (Lovpålagt oppmøte), केही राजनीतिक वा मानवीय काम, निश्चित ड्राइभिङ परीक्षा, वा राष्ट्रिय/अन्तर्राष्ट्रिय कार्यक्रममा प्रतिनिधित्व गरेको अवस्थामा आवश्यक कागजात पेस गरेर अनुपस्थितिलाई सीमाबाट अलग गर्न सकिन्छ।
नयाँ परिवर्तन: स्वास्थ्य सेवामा जाँदा अनुपस्थिति नमानिने
१ अगस्ट २०२६ देखि अर्को महत्त्वपूर्ण नियम लागू भएको छ। अब विद्यार्थी स्कूलको स्वास्थ्य सेवा (skolehelsetjenesten) मा परामर्श वा स्वास्थ्य जाँचका लागि गएको समयलाई अनुपस्थितिका रूपमा गणना गरिँदैन र यो कुरा प्रमाणपत्रमा पनि लेखिँदैन।
अभिभावकलाई सुझाव
विशेषगरी videregående मा पढ्ने बालबालिका भएका अभिभावकले यो नियम बुझ्नु निकै उपयोगी हुन्छ। १० प्रतिशत भन्नाले विद्यार्थी वर्षभरि जम्मा १० प्रतिशत विद्यालय नगए पुग्ने भन्ने होइन, यो हरेक विषयमा अलग-अलग गणना हुन्छ।
त्यसैले बच्चा लामो समय बिरामी भएमा वा नियमित रूपमा कुनै निश्चित विषय छुटिरहेको भए समयमै विद्यालयसँग सम्पर्क गरी अनुपस्थिति र आवश्यक कागजातबारे जानकारी लिनु उपयुक्त हुन्छ।
