नर्वेमा अब किशोरकिशोरीले १७ वर्षकै उमेरमा कार (क्लास B) को लाइसेन्स लिन पाउने भएका छन्। तर, लाइसेन्स हात परे पनि १८ वर्ष पूरा नहुँदासम्म उनीहरूले एक्लै कार चलाउन भने पाउने छैनन्।

कार चलाउँदा अगाडिको यात्रु सिटमा मापदण्ड पूरा गरेका एक अनुभवी चालक (Ledsager) अनिवार्य रूपमा राख्नुपर्नेछ। यो नयाँ व्यवस्था २६ नोभेम्बर २०२८ देखि लागू गर्ने सरकारको तयारी छ।

'अभ्यास ड्राइभिङ' भन्दा फरक: सम्पूर्ण जिम्मेवारी १७ वर्षे चालककै

नर्वेमा हाल १६ वर्ष पुगेपछि अनुभवी चालकसँग निजी रूपमा कार चलाउने अभ्यास गर्न पाइन्छ। तर अभ्यास गर्दा चालकसँग लाइसेन्स हुँदैन र कानुनी जिम्मेवारी साथमा बस्ने व्यक्ति (Ledsager) को हुन्छ।

आगामी नयाँ व्यवस्था भने योभन्दा बिलकुल फरक छ। १७ वर्षका किशोरकिशोरीले ड्राइभिङ परीक्षा उत्तीर्ण गरेरै वास्तविक लाइसेन्स प्राप्त गर्नेछन्।

यस्तो लाइसेन्समा '98.02' नामक विशेष कोड राखिनेछ। यसको अर्थ कार चलाउँदाको सम्पूर्ण कानुनी जिम्मेवारी चालक स्वयंको हुनेछ। १८ वर्षसम्म थप अनुभव आर्जन गर्न मात्र उनीहरूले अनुभवी व्यक्तिलाई साथमा राख्नुपर्नेछ।

को बस्न पाउँछन् साथमा? यस्ता छन् कडा सर्त

१७ वर्षे चालकको साथमा बस्ने व्यक्ति जोसुकै हुन पाउँदैनन्। सडक प्रशासन (Statens vegvesen) का अनुसार साथमा बस्ने व्यक्तिका लागि निम्न न्यूनतम सर्तहरू तोकिएका छन्:

  • उमेर कम्तीमा २४ वर्ष पूरा भएको हुनुपर्ने।
  • क्लास B को लाइसेन्स लिएको कम्तीमा ५ वर्ष भएको हुनुपर्ने।
  • उक्त लाइसेन्स युरोपेली आर्थिक क्षेत्र (EØS) अन्तर्गतको देशबाट जारी भएको हुनुपर्ने।
  • पछिल्लो ५ वर्षभित्र गाडी चलाउने अधिकार नखोसिएको हुनुपर्ने।
  • चालकको छेउमा (अगाडिको सिटमा) बसेर आवश्यक सल्लाह दिन सक्ने हुनुपर्ने।
  • मदिरा तथा नशालु पदार्थसम्बन्धी नियम पूर्ण रूपमा पालना गरेको हुनुपर्ने।

सडक प्रशासन (Statens vegvesen)ले यी सर्तहरूमा भविष्यमा थप केही व्यावहारिक नियमहरू पनि परिमार्जन गर्न सक्ने जनाएको छ।

सडक दुर्घटना शून्यमा झार्ने युरोपेली लक्ष्य

यो नियम युरोपेली सडकमा हुने दुर्घटना र मृत्युदर कम गर्ने व्यापक रणनीतिअन्तर्गत ल्याइएको हो। युरोपेली संघको तथ्यांकअनुसार सन् २०२५ मा युरोपका सडकमा करिब १९ हजार ४०० जनाले ज्यान गुमाएका थिए। सन् २०५० सम्ममा सडक दुर्घटनामा हुने मृत्यु र गम्भीर घाइतेको संख्या शून्यको नजिक पुर्‍याउने युरोपेली संघको लक्ष्य छ।

कम उमेरमै लाइसेन्स दिएर अनुभवी चालकको निगरानीमा चलाउन लगाउँदा युवा चालकहरू परिपक्व हुने र दुर्घटना कम हुने विश्वास गरिएको छ।

युरोपभरि नै दुई वर्षे 'परीक्षण अवधि' अनिवार्य

नर्वेमा नयाँ चालकका लागि पहिलो दुई वर्षको 'परीक्षण अवधि' (Prøvetid) अहिले पनि लागू छ। तर नयाँ युरोपेली निर्देशिकाले यो व्यवस्थालाई सम्पूर्ण युरोपभरि नै अनिवार्य र एकरूप बनाउँदैछ।

यस नियमअनुसार १७ वर्षमै लाइसेन्स लिएका वा अन्य नयाँ चालकहरूले युरोपको जुनसुकै देशमा गाडी चलाउँदा पनि परीक्षण अवधिको कडा नियम पालना गर्नुपर्नेछ।

यस अवधिमा मदिरा सेवन गरी गाडी चलाउने , सिटबेल्ट नलगाउने वा बालबालिकाको सुरक्षा उपकरण प्रयोग नगर्नेजस्ता नियम उल्लङ्घनमा युरोपभरि नै समान र कडा कारबाही हुनेछ।

यसका साथै, भविष्यमा 'डिजिटल लाइसेन्स' ल्याइने र कुनै एउटा देशमा गम्भीर ट्राफिक उल्लङ्घनका कारण ड्राइभिङ प्रतिबन्ध लागेमा त्यो युरोपका अन्य देशमा पनि स्वतः लागू हुने व्यवस्था यसमा समेटिएको छ।

कहिलेदेखि लागू हुँदैछ नियम?

युरोपेली संघले नयाँ निर्देशिका पारित गरिसकेको भए पनि नर्वेले यसलाई औपचारिक रूपमा राष्ट्रिय कानुनमा समेट्न बाँकी छ। त्यसैले अहिले नै १७ वर्षका किशोरकिशोरीले पूर्ण लाइसेन्स लिन पाउने छैनन्। सरकारले २६ नोभेम्बर २०२८ बाट मात्रै यो नियम लागू गर्ने लक्ष्य राखेको छ।

परिवार र अभिभावकका लागि यसको अर्थ

नियम लागू भएपछि युवा पुस्ताले १८ वर्ष पुग्नुअघि नै करिब एक वर्षसम्म अनुभवी चालकको निगरानीमा महत्त्वपूर्ण अनुभव बटुल्ने अवसर पाउनेछन्। तर, अभिभावकहरूले ध्यान दिनुपर्ने कुरा के हो भने आफूसँग लाइसेन्स हुँदैमा स्वतः 'सहचालक' बन्न पाइँदैन, तोकिएका सबै मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।

साथै, दुर्घटना भएमा वा नियम तोडिएमा हालको अभ्यास ड्राइभिङमा जस्तो अभिभावक होइन, १७ वर्षे चालक नै कानुनी रूपमा उत्तरदायी हुनेछन्।