नर्वेका सुपर मार्केटहरुले आफ्नै ब्रान्डमा बिक्री गर्ने कतिपय सामान चर्चित तथा स्थापित उत्पादनहरूसँग अत्यधिक मिल्दोजुल्दो देखिएपछि यसबारे बहस सुरु भएको छ। प्याकेजिङको रङ, आकार, चित्र र अक्षरको शैली स्थापित ब्रान्डसँग हुबहु मिल्दा ग्राहकहरू किनमेलका क्रममा झुक्किन सक्ने चिन्ता व्यक्त गरिएको छ।

नर्वेको उपभोक्ता संरक्षण निकाय Forbrukertilsynet का अनुसार, पसलका आफ्नै उत्पादनका यस्ता केही प्याकेजिङ कानुनविपरीत हुन सक्छन्।

मंगलबार (१३ अक्टोबर) NRK Nyhetsmorgen ले यो विषयलाई उठान गर्दै पसलका आफ्नै उत्पादनको प्याकेजिङमाथि भइरहेको आलोचना सार्वजनिक गरेको छ। यद्यपि, यसको अर्थ पसलका आफ्नै सबै ब्रान्ड वा उत्पादनहरू समस्याग्रस्त छन् भन्ने होइन।

पसलको आफ्नै ब्रान्ड भनेको के हो?

नर्वेजियन भाषामा पसलका आफ्नै ब्रान्डलाई 'egne merkevarer' (छोटकरीमा EMV) भनिन्छ। यस्ता ब्रान्डको स्वामित्व र नियन्त्रण सम्बन्धित पसल वा खाद्य समूहले नै राख्छन् र मुख्यतया आफ्नै समूहका पसलमा मात्र बिक्री गर्छन्।

नर्वेमा यसका केही चर्चित उदाहरणहरू यसप्रकार छन्:

  • NorgesGruppen: First Price, Eldorado, Fiskemannen र Jacobs Utvalgte
  • Coop: Xtra, Coop र Coop Änglamark
  • Rema 1000: Prima

NorgesGruppen सँग मात्रै खाद्य तथा अन्य दैनिक उपभोग्य वस्तुका १,५०० भन्दा बढी आफ्नै उत्पादन छन्। यी उत्पादनहरू विशेषगरी Kiwi, Meny, Spar र Joker जस्ता पसलहरूमा पाइन्छन्।

त्यस्तै, Coop ले Xtra लाई सस्तो विकल्पका रूपमा र Coop Änglamark लाई वातावरणमैत्री तथा अर्गानिक उत्पादनका रूपमा प्रस्तुत गर्दै आएको छ।

ग्राहकको सचेत छनोट

पसलका आफ्नै ब्रान्डहरू सस्तो विकल्प मात्र होइनन्। धेरै ग्राहकले उत्पादनको स्वाद, गुणस्तर र अनुभव मन परेकाले जानीजानी यस्ता ब्रान्ड रोज्ने गर्छन्। ग्राहकले स्थापित ब्रान्डको सट्टा First Price, Xtra वा Prima रोज्नुको अर्थ उनीहरू सधैँ झुक्किएका हुन् भन्ने हुँदैन। मूल्य र गुणस्तरको तुलना गरेर उनीहरूले सचेत रूपमै निर्णय गरेका हुन सक्छन्।

सरकारका लागि गरिएको एक अध्ययनले समेत यस्ता ब्रान्डले बजारमा प्रतिस्पर्धा बढाउन, लागत घटाउन, नयाँ उत्पादन ल्याउन र ग्राहकलाई छनोटको फराकिलो विकल्प दिन मद्दत पुर्‍याएको निष्कर्ष निकालेको थियो।

समस्या कहाँबाट सुरु हुन्छ?

अहिलेको मुख्य विवाद पसलले आफ्नै ब्रान्ड राख्न पाउने वा नपाउने भन्ने होइन। बरु निश्चित उत्पादनको प्याकेजिङ अर्को स्थापित ब्रान्डसँग अत्यधिक मिल्ने गरी डिजाइन गरिएको छ कि छैन भन्ने हो।

सुपरमार्केटमा किनमेल गर्दा सबैले सामानको उत्पादक र ब्रान्ड ध्यानपूर्वक पढ्दैनन्। धेरैले प्याकेटको रङ, आकार, चित्र वा लोगो हेरेर हतारमा सामान उठाउँछन्। दुई उत्पादनको नाम फरक भए पनि प्याकेजिङ्गको रंग, लेखिएको नामको शैली र अक्षरको आकार, चित्र र समग्र प्रस्तुतिले ग्राहक झुक्किने सम्भावना उच्च हुन्छ।

यसरी समग्र प्याकेजिङ उस्तै देखिँदा ग्राहकले आफूले चिनेको स्थापित ब्रान्ड नै किनेको भ्रम पर्न सक्छ। कानुनी रूपमा पनि यही 'भ्रम पार्ने अवस्था'लाई मूल्याङ्कनको मुख्य आधार मानिन्छ।

थप जानकारी राख्ने नियम लागू नहुने

सन् २०२२ मा नर्वेको संसद् Stortinget ले पसलका आफ्नै ब्रान्डमा खाद्य चेनको नाम, उत्पादक र उत्पादन भएको देश अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने नियम बनाउन सरकारलाई निर्देशन दिएको थियो।

तर, सरकारले २०२७ को राष्ट्रिय बजेटमा यो व्यवस्था लागू नगर्ने स्पष्ट पारेको छ। यो अनिवार्य नियम EØS सम्झौतासँग बाझिन सक्ने र खाद्य चेनहरूले अधिकांश उत्पादनमा स्वेच्छाले नै आवश्यक जानकारी दिइरहेको तर्क सरकारको छ।

ग्राहकले के ध्यान दिने?

पसलको आफ्नै ब्रान्ड किन्नु गलत होइन। तर परिचित उत्पादनसँग मिल्दोजुल्दो प्याकेट देखिएमा ग्राहकले यी कुरा जाँच गर्नु बुद्धिमानी हुन्छ:

  • उत्पादनको वास्तविक नाम, ब्रान्ड र उत्पादक कम्पनी
  • तौल वा परिमाण
  • सामग्रीको सूची र एलर्जीसम्बन्धी जानकारी
  • प्रतिकिलो वा प्रतिलिटर मूल्य
  • उत्पादन भएको वा प्याक गरिएको देश
  • स्थापित ब्रान्ड र पसलको ब्रान्डबीचको मूल्य अन्तर

सस्तो उत्पादन सधैँ गुणस्तरहीन हुन्छ भन्ने छैन। मुख्य कुरा, ग्राहकले प्याकेटको समानताका कारण झुक्किएर नभई सही जानकारीका आधारमा वस्तु रोज्न पाउनुपर्छ।

यदि कुनै उत्पादनको प्याकेटले अर्को सामानको नक्कल गरेर झुक्याउन खोजेको लागेमा, नर्वेमा उपभोक्ता संरक्षण तथा व्यापारिक अभ्यासको अनुगमन गर्ने निकाय Forbrukertilsynet मा जानकारी दिन सकिन्छ।