चीनबाट नर्वे आउने साना पार्सलको संख्या तीव्र रूपमा बढेपछि भन्सार कर्मचारीहरूको संगठनले सामानको सुरक्षा र जाँच क्षमताबारे गम्भीर चिन्ता व्यक्त गरेको छ। अगस्टमा मात्रै टेमु (Temu), शिन (Shein) र अन्य चिनियाँ अनलाइन विक्रेताहरूबाट ११ लाखभन्दा बढी साना पार्सलहरू नर्वे भित्रिएका थिए।
नर्वेजियन आर्थिक पत्रिका ई२४ (E24) को समाचारअनुसार, अगस्टमा दर्ता भएको यो पार्सलको संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३५ प्रतिशतले बढी हो।
यसको अर्थ दैनिक औसतमा ३५ हजारभन्दा बढी पार्सलहरू नर्वेली घरहरूमा पुग्नका लागि भन्सार विभागमा दर्ता भएका थिए।
धेरै पार्सल, अपूरो जानकारी
नर्वेजियन भन्सार कर्मचारीहरूको संगठन (Norsk Tollerforbund - नोर्स्क तोलरफोर्बुन्द) की प्रमुख कारिन स्काउग (Karin Schaug) का अनुसार, पार्सलको यो विशाल संख्या र सामानसँग आउने कागजातको अत्यन्त असमान गुणस्तरले जाँच प्रक्रियालाई असम्भव जस्तै बनाएको छ।
स्काउगले टेमुबाट मगाइएका सामानमा पहिले गरिएका नमुना परीक्षणहरूमा खतरनाक तथा प्रतिबन्धित पदार्थहरू भेटिएको तथ्य औंल्याएकी छन्।
"हामीले यो केवल आइसबर्गको टुप्पो मात्र हो भनेर मान्नुपर्छ," उनले भनेकी छन्। भन्सारले सबै सामानको पर्याप्त जाँच गर्न नसक्ने हुँदा, उपभोक्ता आफैंले जोखिम उठाउनुपर्ने र अनलाइनबाट मगाइएका सामानहरू पूर्ण रूपमा सुरक्षित नहुन सक्छन् भन्ने कुरामा सचेत हुनुपर्ने उनको भनाइ छ।
नयाँ शुल्क र नियमनको माग
नर्वेको व्यापार तथा सेवा क्षेत्रको प्रमुख संगठन Virke ले पनि यो चेतावनीलाई गम्भीर रूपमा लिँदै राजनीतिज्ञहरूले तत्काल कदम चाल्नुपर्ने माग गरेको छ।
Virke का प्रबन्ध निर्देशक बेर्न्त गे. आपेलान्द (Bernt G. Apeland) ले नर्वेले पनि युरोपेली संघ (EU) ले जस्तै व्यापक भन्सार सुधार गर्नुपर्ने बताएका छन्।
युरोपेली संघले यसै गर्मीयाममा १५० युरोभन्दा कम मूल्यका साना पार्सलहरूमा ३ युरोको शुल्क लागू गरेको थियो। यस कदमले स्विडेनमा टेमु र शिनको मासिक बिक्री ७५ प्रतिशतले घटेको तथ्याङ्क छ।
यसैगरी, नर्वेजियन संसद् स्तोर्तिङ्गेले पनि यसै गर्मीयाममा सरकारलाई कम मूल्यका पार्सलहरूमा भन्सार र सम्भावित जाँच शुल्क लगाउने विकल्पबारे अध्ययन गर्न निर्देशन दिएको थियो।
हाल सरकारले युरोपेली संघको जस्तै सम्भावित उपायहरूबारे अध्ययन गरिरहेको छ।
