स्पेनको टोलेडो (Toledo) नजिकै गत बुधबार दुई उच्च गतिको रेल आपसमा ठोक्किँदा कम्तीमा ७४ जनाको मृत्यु भएको छ। स्पेनमा राष्ट्रिय शोक मनाइरहँदा धेरैले यस्तो भयानक दुर्घटना नर्वेमा हुनसक्छ कि सक्दैन भनेर चासो व्यक्त गरेका छन्।
नर्वेका सुरक्षा प्रणाली र कार्यविधि यस्तो दुर्घटना रोक्ने गरी बनाइएका छन्। तर रेल सुरक्षा विज्ञहरू प्रविधि र मानव निर्णयका धेरै सुरक्षा तह एकैपटक असफल भए जोखिमलाई पूर्ण रूपमा नकार्न नसकिने बताउँछन्। नर्वेमा सन् २००० को ओस्ता रेल दुर्घटना (Åsta-ulykken) पछि विशेषगरी एउटा त्रुटिलाई अर्को स्वतन्त्र सुरक्षा तहले रोक्न सक्ने व्यवस्था बलियो बनाइएको छ।
स्पेनमा के भएको थियो?
दुर्घटना बुधबार बिहान मोरा (Mora) र ओर्गाज (Orgaz) बीचको रेलमार्गमा भएको थियो। स्पेनको सरकारी रेल कम्पनी रेन्फे (Renfe) को उच्च गतिमा गुडिरहेको रेल निजी कम्पनी इरयो (Iryo) को रोकिएको रेलसँग ठोक्किएको थियो। दुर्घटनास्थल स्पेनको राजधानी म्याड्रिडको दक्षिणमा रहेको टोलेडो प्रान्तमा पर्छ।
यो पनि पढ्नुहोस्स्पेनमा दुई उच्च गतिको रेल ठोक्किँदा कम्तीमा ५० जनाको मृत्युप्रारम्भिक जानकारी अनुसार, रेलमार्गको कम्प्युटर प्रणालीमा आएको खराबीका कारण त्यस क्षेत्रका सबै रेलहरूलाई रातो संकेत दिइएर रोकिएको थियो। तर, कन्ट्रोल सेन्टरले पछाडिबाट आएको रेन्फेको रेललाई पुनः चल्न अनुमति दियो। स्पेनका यातायातमन्त्री ओस्कार पुएन्ते (Óscar Puente) ले रातो संकेतको बाबजुद यसरी अनुमति दिनुलाई 'व्याख्या गर्न कठिन' गल्ती भनेका छन्।
TV 2 का अनुसार ठोक्किने समयमा रेलको गति करिब २०० किलोमिटर प्रतिघण्टा थियो भने, NRK ले रेललाई ३०० किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढ्न अनुमति दिइएको जनाएको छ। दुर्घटनाको अन्तिम अनुसन्धान प्रतिवेदन आउन बाँकी छ।
के यहाँ पनि यस्तो हुनसक्छ?
NTNU मा रेलवे इन्जिनियरिङका (Jernbaneteknikk) सह-प्राध्यापक अल्बर्ट लाउ (Albert Lau) का अनुसार, ट्र्याक वा पूर्वाधारमा खराबी आएको खण्डमा यहाँ पनि यस्तो दुर्घटना हुनसक्छ। तर, एउटा प्राविधिक समस्याले मात्रै दुई रेल ठोक्किँदैनन्। प्राविधिक सुरक्षा प्रणालीसँगै कर्मचारीले पालना गर्नुपर्ने कार्यविधि पनि भएकाले धेरै तह एकैपटक असफल हुनुपर्छ।
SINTEF का वरिष्ठ अनुसन्धानकर्ता आन्द्रेयास ड्युपभिक लानमार्क (Andreas Dypvik Landmark) ले स्पेनमा पहिला प्राविधिक समस्या आएको र त्यसपछि सञ्चालनसम्बन्धी गलत निर्णय भएको सम्भावना देखिएको बताए। उनका अनुसार यहाँ जोखिम शून्य छ भन्न सकिँदैन, तर सुरक्षाका धेरै तह भएकाले रेल यात्रा गर्न डराउनुपर्ने अवस्था छैन।
रातो संकेत आएपछि नर्वेमा के हुन्छ?
बाने नोर (Bane NOR) का अनुसार, रातो संकेत वा सिग्नल प्रणालीमा खराबी (signalfeil) आउँदा कर्मचारीले पालना गर्नुपर्ने निश्चित कार्यविधि छ। रेल यातायात नियन्त्रकको (togleder) अनुमति लिएर मात्र रेलले रातो संकेत पार गर्न सक्छ।
तर त्यसअघि अगाडिको ट्र्याक सुरक्षित छ कि छैन भन्ने जाँच गर्नुपर्छ। अनुमति पाएपछि पनि रेलले अगाडि देखिएको अवरोधभन्दा पहिल्यै रोक्न सकिने गतिमा चलाउनुपर्छ, जसलाई 'sikthastighet' भनिन्छ, र यो बढीमा ४० किलोमिटर प्रतिघण्टा हुन्छ।
ATC (स्वचालित रेल नियन्त्रण) सुरक्षा प्रणाली भएको रेलले अनुमति नलिई रातो संकेत पार गरेमा स्वचालित रूपमा आपत्कालीन ब्रेक लाग्छ।
सन् २००० को ओस्ता दुर्घटनाको पाठ
सन् २००० जनवरी ४ मा रोरोसबानेन (Rørosbanen) मा दुईवटा रेल आपसमा ठोक्किँदा १९ जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनाको अनुसन्धान आयोगकी प्रमुख विबेके ग्रोथ (Vibeke Groth) का अनुसार, उक्त दुर्घटनाले कुनै एक व्यक्तिको गल्तीभन्दा प्रणालीगत कमजोरी देखाएको थियो।
त्यसपछि यहाँ रेल सुरक्षामा कम्तीमा 'दुई स्वतन्त्र सुरक्षा घेरा' (to barrierer) हुनुपर्ने सिद्धान्तलाई कडा रूपमा लागू गरिएको छ। यसको अर्थ मानवीय गल्ती भए प्राविधिक प्रणालीले रोक्नुपर्ने र प्रविधि असफल भए कर्मचारीले पालना गर्ने कार्यविधिले जोखिम नियन्त्रण गर्नुपर्ने हो।
Bane NOR ले स्पेनको दुर्घटनाबाट नर्वेका कार्यविधि, प्रविधि वा सुरक्षा संस्कृतिमा थप सुधार गर्नुपर्ने कुरा छन् कि छैनन् भन्ने समीक्षा गर्ने जनाएको छ।
संस्थाका अनुसार नर्वेका सुरक्षा प्रणाली यस्ता दुर्घटना रोक्ने गरी बनाइएका छन्। तर कुनै पनि यातायात प्रणालीमा जोखिम पूर्ण रूपमा शून्य नहुने भएकाले स्पेनमा भएको दुर्घटनाको अनुसन्धानबाट आउने निष्कर्षलाई नर्वेले पनि महत्त्वका साथ हेर्नेछ।

