नर्वेमा डिजिटल स्वास्थ्य सेवा प्रयोग गर्ने क्रम बढेसँगै यी सेवाप्रति नागरिकको सन्तुष्टि पनि उच्च भएको नयाँ सर्वेक्षणले देखाएको छ। नर्वेको स्वास्थ्य निर्देशनालय (Helsedirektoratet) को पछिल्लो सर्वेक्षणअनुसार, सन् २०२६ मा ६५ प्रतिशत नागरिकले नर्वेका डिजिटल स्वास्थ्य सेवाप्रति समग्रमा सन्तुष्ट रहेको बताएका छन्। यो अघिल्लो वर्षको तुलनामा आठ प्रतिशत बिन्दुले बढी हो। असन्तुष्ट नागरिकको हिस्सा भने पछिल्ला वर्षहरूमा झैँ ६ देखि ७ प्रतिशतको आसपासमै स्थिर छ।

डिजिटल स्वास्थ्य सेवाअन्तर्गत इन्टरनेट वा मोबाइलमार्फत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीसँग सम्पर्क गर्ने, औषधिको प्रिस्क्रिप्सन नवीकरण गर्ने, स्वास्थ्य जाँचको समय हेर्ने वा परिवर्तन गर्ने र स्वास्थ्यसम्बन्धी जानकारी प्राप्त गर्नेजस्ता सुविधाहरू पर्छन्।

प्रयोगकर्ताको संख्या झन्डै दोब्बर

पछिल्लो १२ महिनामा ६४ प्रतिशत नागरिकले स्वास्थ्य सेवासँग डिजिटल माध्यमबाट सम्पर्क गरेका छन्। सन् २०१९ मा यो संख्या ३३ प्रतिशत मात्र थियो। यस तथ्यांकले सात वर्षको अवधिमा डिजिटल स्वास्थ्य सेवा प्रयोग गर्ने नागरिकको अनुपात झन्डै दोब्बर भएको देखाउँछ। डिजिटल सेवा प्रयोग गरेकामध्ये करिब सातमध्ये पाँच जनाले पछिल्लो एक वर्षमा कम्तीमा तीन पटक यस्तो सेवा लिएका थिए, जसले एकपटक प्रयोग गरिसकेपछि यो माध्यम नागरिकलाई सजिलो लागिरहेको संकेत गर्छ।

यसैगरी, डिजिटल माध्यमबाट आफ्ना फास्टलेगे (नियमित चिकित्सक) सँग सम्पर्क गर्ने नागरिकको हिस्सा पनि बढेको छ। सन् २०२५ मा ४८ प्रतिशत नागरिकले यसरी सम्पर्क गरेकोमा सन् २०२६ मा यो संख्या बढेर ५६ प्रतिशत पुगेको छ।

प्रत्यक्ष भेटघाट अझै प्राथमिकतामा

सर्वेक्षणमा सहभागी ७७ प्रतिशत नागरिकले आफ्नो फास्टलेगे उपलब्ध नभएको अवस्थामा अर्को चिकित्सकसँग डिजिटल सम्पर्क गर्न स्वीकार्य रहेको बताएका छन्। त्यस्तै, ५५ प्रतिशतले डिजिटल सम्पर्कले भौतिक भेटघाटलाई केही हदसम्म प्रतिस्थापन गर्न सक्ने धारणा राखेका छन्। तर, यसको अर्थ सबै उपचार डिजिटल रूपमै हुनुपर्छ भन्ने होइन। सहायता आवश्यक पर्दा ६९ प्रतिशत नागरिक अझै पनि चिकित्सकलाई प्रत्यक्ष भेट्न रुचाउँछन्। यसले डिजिटल सेवा परम्परागत स्वास्थ्य सेवाको पूर्ण विकल्पभन्दा पनि आवश्यकताअनुसार प्रयोग गर्न सकिने थप माध्यमका रूपमा विकास भइरहेको देखाउँछ।

थप सेवा र सुधारको अपेक्षा

कुल ४१ प्रतिशत नागरिकले अहिले उपलब्ध भएभन्दा थप डिजिटल स्वास्थ्य सेवाको अपेक्षा गरेका छन्। विशेषगरी आफ्नो मेडिकल रेकर्ड तथा रगत र प्रयोगशाला परीक्षणको नतिजा डिजिटल रूपमा हेर्न पाउनुपर्ने माग उच्च छ।

यद्यपि, विभिन्न स्वास्थ्य निकाय (जस्तै अस्पताल र फास्टलेगे) ले फरक–फरक प्रणाली प्रयोग गर्दा बिरामीले एउटै जानकारी पटक–पटक दिनुपर्ने झन्झट छ। डिजिटल प्रणालीहरूबीच पर्याप्त समन्वय नहुनु र स्वास्थ्यकर्मीसँग सहज सम्पर्क हुन नसक्नुलाई असन्तुष्टिका मुख्य कारण मानिएको छ। सरकारले यी सेवाबीच सुरक्षित रूपमा जानकारी आदानप्रदान गर्न सकिने एकीकृत डिजिटल समाधान विकास गर्ने जनाएको छ।

स्वास्थ्य सल्लाहमा AI को प्रयोग

पहिलोपटक सर्वेक्षणमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगबारे पनि अध्ययन गरिएको थियो। कुल ४६ प्रतिशत नागरिकले स्वास्थ्यसम्बन्धी सल्लाह लिन AI उपकरण प्रयोग गरेको बताएका छन्। तर, गम्भीर वा अचानक देखिएको स्वास्थ्य समस्यामा AI लाई चिकित्सकीय जाँच र योग्य स्वास्थ्यकर्मीको सल्लाहको विकल्प मान्न नसकिने बताइएको छ।

नर्वे सरकारले सन् २०२७ सम्ममा नागरिकलाई गुणस्तर जाँच गरिएको स्वास्थ्य उत्तर दिन सक्ने सार्वजनिक AI सेवा ल्याउने योजना बनाएको छ।