नर्वेका युवा कारागारमा पुगेका बालबालिकामध्ये अधिकांश नर्वेमै जन्मिएको र उनीहरूमध्ये ठूलो हिस्सा जेल पुग्नुभन्दा धेरै अघिदेखि नै विभिन्न सहायता सेवाको सम्पर्कमा रहेको NRK को अनुसन्धानले देखाएको छ।

पछिल्ला दुई वर्षका सयौँ अदालती फैसला अध्ययन गरेर NRK ले १८ वर्ष नपुग्दै गम्भीर अपराधका कारण जेल पुगेका बालबालिकाको पृष्ठभूमि खोजेको हो। १ जुलाई २०२४ देखि १ जुलाई २०२६ सम्म ७९६ नाबालिगले अदालतबाट सजाय पाएकोमा ५८ जना एक वा सोभन्दा बढी पटक युवा कारागारमा पुगेको पुष्टि भएको छ।

अध्ययनमा समेटिएका ५८ जनामध्ये करिब दुई तिहाइ नर्वेमै जन्मिएका छन्। नर्वेबाहिर जन्मिएकामध्ये सिरियामा जन्मिएकाको संख्या सबैभन्दा बढी छ भने अन्य बालबालिका युरोप, एसिया र अफ्रिकाका विभिन्न देशमा जन्मिएका छन्।

तर, अर्को तथ्य पनि उल्लेखनीय छ। झन्डै ७० प्रतिशत बालबालिकाको नाम गैर-नर्डिक थियो। यद्यपि, NRK ले नामका आधारमा उनीहरूको आप्रवासी पृष्ठभूमि भने निर्धारण गरेको छैन। बालबालिकाका अभिभावकको सम्भावित आप्रवासी पृष्ठभूमिबारे आफूहरूसँग जानकारी नभएको पनि NRK ले स्पष्ट पारेको छ।

ठूलो हिस्सा पूर्वी ओस्लोमा हुर्किएका

भौगोलिक पृष्ठभूमि हेर्दा, अध्ययनमा समेटिएका बालबालिकामध्ये ४० प्रतिशत पूर्वी ओस्लोमा हुर्किएका थिए। करिब १० प्रतिशत क्रिस्टियानसन् (Kristiansand) मा हुर्किएका थिए भने त्यसपछि स्टाभाङ्गर (Stavanger) र बर्गन (Bergen) को स्थान आउँछ।

लैङ्गिक अन्तर अझ स्पष्ट छ। युवा कारागार पुगेका बालबालिकामध्ये अधिकांश केटा छन्। केटीहरूको हिस्सा केवल ५ प्रतिशत रहेको अनुसन्धानले देखाएको छ।

यद्यपि, ५८ जनाको समूह सानो भएकाले केही व्यक्तिको फरक अवस्थाले समेत प्रतिशतलाई उल्लेखनीय रूपमा परिवर्तन गर्न सक्ने भन्दै NRK ले सचेत गराएको छ।

धेरैजसो बाल संरक्षण सेवाको सम्पर्कमा पहिल्यै थिए

अनुसन्धानको सबैभन्दा गम्भीर पक्ष भने उनीहरूको सहायता सेवासँगको पुरानो सम्बन्ध हो।

जेल पुगेका बालबालिकामध्ये कम्तीमा ६० प्रतिशत जेल जानुअघि कुनै संस्थामा बसिसकेका थिए। झन्डै ८० प्रतिशतको बाल संरक्षण सेवासँग लामो समयदेखि सम्पर्क रहेको थियो। वास्तविक संख्या अझ बढी हुन सक्ने NRK ले जनाएको छ।

अदालती फैसलाहरूमा केही बालबालिकामा गम्भीर व्यवहारसम्बन्धी समस्या, लागुऔषधका कारण उत्पन्न मानसिक स्वास्थ्य समस्या र हल्का बौद्धिक अपाङ्गताजस्ता अवस्थासमेत उल्लेख गरिएको छ।

कम आम्दानी र परिवारभित्रको जेलको इतिहास

राष्ट्रिय हिंसा तथा ट्रमाटिक तनाव अध्ययन केन्द्र (NKVTS) की अनुसन्धानकर्ता Ingeborg Skjærvø ले सन् २००० देखि २०१९ सम्म जेल परेका बालबालिकाबारे गरिएको अघिल्लो अनुसन्धानमा पनि यस्तै समस्या देखिएको बताएकी छन्।

उक्त अनुसन्धानअनुसार तीनमध्ये एक बालबालिकाका अभिभावक पहिले नै जेल परिसकेका थिए भने करिब दुई तिहाइ बालबालिका न्यून आम्दानी भएका परिवारमा हुर्किएका थिए। धेरै बालबालिका १५ वर्ष पुग्नुअघि तीन वा सोभन्दा बढी पटक बसाइँ सरेको पनि अनुसन्धानमा देखिएको थियो।

बारम्बार बसाइँ सर्नु पारिवारिक अस्थिरताको संकेत हुन सक्ने र विद्यालय तथा वातावरण फेरिरहँदा समस्यामा रहेका बालबालिकालाई निरन्तर सहायता दिन कठिन हुने Skjærvø ले बताएकी छन्।

‘हामी धेरै ढिलो पुगिरहेका छौँ’

मनोवैज्ञानिक Zemir Popovac का अनुसार उपलब्ध तथ्यहरूले समस्यामा परेका बालबालिकासम्म आवश्यक सहायता पुर्‍याउन समाज र सम्बन्धित निकाय ढिलो भइरहेको संकेत गर्छन्। कतिपय युवाका लागि अहिले दिइरहेका उपायहरू पर्याप्त प्रभावकारीसमेत नभएको उनको भनाइ छ।

बाल, युवा तथा पारिवारिक निर्देशनालय (Bufdir) की डिभिजन निर्देशक Tove Bruusgaard ले पनि धेरै परिवारमा समस्या प्रारम्भिक अवस्थामै देख्न सकिने भए पनि स्वास्थ्य केन्द्र र बार्नेहागे (Barnehage) बाट आउने चिन्तासम्बन्धी सूचना (bekymringsmelding) को संख्या तुलनात्मक रूपमा कम रहेको बताएकी छन्। उनका अनुसार बाल संरक्षण, स्वास्थ्य सेवा, NAV र प्रहरीबीच अझ प्रभावकारी सहकार्य आवश्यक छ।

जेलबाट छुटेपछि पनि जोखिम उच्च

समस्या जेल सजायसँगै समाप्त हुँदैन।

Skjærvø को अनुसन्धानअनुसार जेलबाट छुटेको एक वर्षपछि तीनमध्ये एक बालबालिका फेरि जेल पुगेका थिए। पाँच वर्षपछि आधाभन्दा बढी पुनः जेल पुगेका थिए।

युवा अवस्थामा जेल परिसकेकाहरूमा अकाल मृत्युको जोखिम पनि चिन्ताजनक देखिएको छ। स्वास्थ्य निर्देशनालय (Helsedirektoratet) को नयाँ रिपोर्टमा समेटिएका तुलनायोग्य पश्चिमी देशका अनुसन्धानअनुसार जेल परिसकेका युवाको मृत्यु दर सामान्य जनसंख्याको तुलनामा ६ देखि ९ गुणासम्म बढी देखिएको छ।

अधिकांश मृत्यु २५ वर्ष पुग्नुअघि भएको र प्रमुख कारणमा लागुऔषधको ओभरडोज, आत्महत्या, दुर्घटना र हत्या रहेका छन्। नर्वेका लागि भने यससम्बन्धी सार्वजनिक तथ्यांक उपलब्ध नभएकाले यो निष्कर्ष अन्य तुलनायोग्य पश्चिमी देशका अनुसन्धानमा आधारित हो।

Helsedirektoratet का मनोवैज्ञानिक विशेषज्ञ Martin Sjøly का अनुसार अपराध मात्रै यसको कारण होइन। लागुऔषध, मानसिक स्वास्थ्य समस्या र आघात (ट्रमा) जस्ता कारणसमेत जोडिएका हुन्छन्।

त्यसैले न्याय प्रणालीसँग युवाको सम्पर्कलाई अपराधको सजाय दिने अवसरका रूपमा मात्र नभई उनीहरूको स्वास्थ्य र सहायता आवश्यकता पहिचान गर्ने अवसरका रूपमा पनि हेर्नुपर्ने उनको भनाइ छ।