ओस्लो (nepali.no) । ओस्लो र यसको आसपासका क्षेत्रमा शनिबार असामान्य रूपमा चिसो बढेको छ। सहरको केन्द्र (सेन्ट्रुम) मा वर्षा भइरहेको भए पनि ओस्लोको उच्च पहाडी भेग त्रिभान (Tryvann) र यसभन्दा उत्तरतर्फका मार्काका उच्च क्षेत्रहरूमा हिमपात र हिउँमिश्रित वर्षा भएको छ।

मौसमविद् तेर्ये आल्स्भिक भालोए (Terje Alsvik Walløe) का अनुसार शनिबार दिनभरि नै वर्षा र हिमपातको क्रम जारी रहने अनुमान छ। ओस्लोको सहरी क्षेत्र र तल्लो भूभागमा पानी परिरहे पनि उचाइमा रहेका स्थानहरूमा भने यो वर्षा हिउँ र हिउँमिश्रित वर्षामा परिणत भएको हो।

त्रिभान र मार्कामा हिउँ जम्न सक्ने

मौसम पूर्वानुमान महाशाखाका अनुसार ओस्लोका अधिकांश तल्लो क्षेत्रमा परेको हिउँ वा हिउँमिश्रित वर्षा जमिनमा बस्ने सम्भावना निकै कम छ। तर, त्रिभान र त्यसभन्दा माथिल्लो क्षेत्रका जङ्गल तथा उच्च पहाडी भेग मार्का मा भने हिउँ जम्न सक्ने अनुमान गरिएको छ।

हिउँ कति तलसम्म झर्छ भन्ने कुरा वायुमण्डलीय तापक्रमको सन्तुलनमा भर पर्ने भएकाले ओस्लोका केही भागमा वर्षा, केहीमा हिउँमिश्रित झरी र डाँडाहरूमा हिउँ परेको हो।

शनिबार यहाँको तापक्रम करिब २ देखि ५ डिग्री सेल्सियसको आसपास रहने अनुमान गरिएको छ।

अक्टोबरका लागि असामान्य चिसो

मौसमविद् भालोएका अनुसार १० अक्टोबरका लागि यो मौसम सामान्यभन्दा निकै चिसो हो। यस्तो खालको चिसो मौसम र हिमपात सामान्यतया नोभेम्बर महिनाको सुरुतिर मात्र देखिने गर्थ्यो।

मौसम पूर्वानुमान वेबसाइट yr.no का अनुसार ओस्लोमा शनिबारको तापक्रम 5 डिग्री सेल्सियस मापन गरिए पनि उत्तर-पूर्वबाट चलेको चिसो हावाका कारण 'महसुस हुने तापक्रम' (Feels Like) 0 डिग्री सेल्सियस वा सोभन्दा तल जस्तो लाग्थ्यो।

यस क्षेत्रमा सामान्यतया 7 मिटर प्रतिसेकेन्डको गतिमा हावा चले पनि, बेलाबेला हावाको वेग बढेर 12 मिटर प्रतिसेकेन्डसम्म पुगेको थियो।"

आइतबारदेखि मौसम सुधार हुने, आगामी हप्ता न्यानो

आइतबार पनि केही मात्रामा वर्षा र हिमपातको सम्भावना रहे पनि शनिबारको तुलनामा यो निकै कम हुनेछ र तापक्रममा केही वृद्धि हुने अनुमान छ।

सोमबारदेखि मौसममा क्रमिक सुधार आई वर्षा पूर्ण रूपमा रोकिने छ। मङ्गलबारदेखि ओस्लोमा फेरि तुलनात्मक रूपमा न्यानो मौसम फर्किने र तापक्रम बढेर 13 डिग्री सेल्सियससम्म पुग्न सक्ने yr ले जनाएको छ।

मौसमविद् तथा स्थानीय प्रशासनले त्रिभान र मार्का जस्ता उच्च पहाडी क्षेत्रहरूमा जाने सर्वसाधारणलाई चिसो, हिउँ र बाटो चिप्लो हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर पर्याप्त न्यानो कपडा र उपयुक्त हिउँमा हिँड्ने जुत्ता (Tursko/vintersko) प्रयोग गर्न आग्रह गरेका छन्।

सवारी चालकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह

अचानक परेको हिउँ र हिउँमिश्रित वर्षाका कारण उच्च भेगका सडकहरू निकै चिप्ला भएका छन्। धेरैजसो सवारी साधनमा अझै पनि 'समर टायर' (sommerdekk) नै रहेकाले, विशेषगरी त्रिभान र मार्का आसपासका सडकमा गाडी चलाउँदा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

हिउँ परेको र चिप्लो बाटोमा समर टायर लिएर गाडी नचलाउन र आवश्यकताअनुसार सार्वजनिक यातायातको प्रयोग गर्न सम्बन्धित निकायले सुझाव दिएका छन्।