रूसको आक्रमणका कारण राष्ट्रिय बीउ सङ्कलन जोखिममा परेपछि युक्रेनले १३ अक्टोबर २०२६ मा ७७३ वटा बीउका नमुना नर्वेको आर्कटिक क्षेत्र स्वालबारमा रहेको विश्व बीउ भण्डारमा सुरक्षित राखेको छ। युक्रेनको राष्ट्रिय जीन बैंकले सूर्यमुखी, विभिन्न अन्न, फापर र पशु आहारका बालीहरू त्यहाँ पठाएको हो। सन् २०२२ मा रूसको पूर्ण आक्रमण सुरु भएपछि युक्रेनले यहाँ बीउ सुरक्षित राखेको यो पहिलो अवसर हो।

स्वालबार कस्तो ठाउँ हो?

स्वालबार नर्वेको मुख्य भूभाग र नर्थ पोल (North Pole) को बीचमा रहेको आर्कटिक द्वीपसमूह हो। करिब ६१ हजार वर्गकिलोमिटरमा फैलिएको यसको सबैभन्दा ठूलो टापु स्पिट्सबेर्गेन हो भने प्रशासनिक केन्द्र लङयेरब्येन हो।

यहाँ जाडोमा महिनौँसम्म सूर्य नउदाउने (ध्रुवीय रात) र गर्मीमा मध्यरातमा पनि सूर्य नअस्ताउने अनौठो प्राकृतिक अवस्था छ। अत्यन्त चिसो र दुर्गम भए पनि लङइयरब्येनमा विद्यालय, पसल, होटल, अस्पताल र अनुसन्धान संस्थासहितको आधुनिक समाज छ।

हिउँले ढाकिएको स्वालबारमा ध्रुवीय भालुको चेतावनी दिने सडक चिह्न, तल ‘सम्पूर्ण स्वालबारमा लागू हुन्छ’ लेखिएको
ध्रुवीय भालुको चेतावनी चिह्न। तलको ‘Gjelder hele Svalbard’ को अर्थ यो चेतावनी सम्पूर्ण स्वालबारमा लागू हुन्छ भन्ने हो। · Photo: Bjørn Christian Tørrissen, CC BY-SA 3.0

विभिन्न देशका मानिसको अन्तर्राष्ट्रिय समुदाय

यहाँ नर्वेजियन मात्र बस्दैनन्। पर्यटन, अनुसन्धान र अन्य कामका लागि विभिन्न देशबाट मानिसहरू यहाँ पुगेका छन्। सन् २०२६ को पछिल्लो ६ महिनामा लङयेरब्येनर अनुसन्धान बस्ती न्य-ओलेसुन्डमा २,५०४ मानिस थिए। यसबाहेक बारेन्ट्सबुर्गमा रूसी समुदायसँग जोडिएका ४१९ जना तथा होर्नसुन्डको पोलिस अनुसन्धान केन्द्रमा १० जना थिए। यहाँको जनसंख्यामा काम गर्ने उमेरका मानिसको हिस्सा ठूलो छ; २,५०४ जनामध्ये ६७ वर्षमाथिका मानिसको संख्या केवल ५३ थियो।

नर्वेबाट स्वालबार जान मिल्छ?

स्वालबार नर्वेको हिस्सा भए पनि सेन्जेन (Schengen) क्षेत्रभित्र पर्दैन। यसका विशेष यात्रा नियमहरू यसप्रकार छन्:

  • सबै यात्रुले मान्य पासपोर्ट वा स्वीकार्य यात्रा कागजात साथमा राख्नुपर्छ।
  • नर्वेमा वैध बसोबास अनुमति भएका व्यक्तिले पासपोर्ट र रेसिडेन्स कार्ड लिएर त्यहाँ यात्रा गर्न सक्छन्।
  • भिजिटर भिसामा आएका व्यक्तिलाई स्वालबारबाट नर्वेको मुख्य भूभाग फर्कन फेरि भिसा चाहिने हुँदा कम्तीमा दुईपटक प्रवेश गर्न मिल्ने (Double-entry वा Multiple-entry) सेन्जेन भिसा आवश्यक पर्छ।
  • स्वालबारमा बस्न सामान्य नर्वेजियन वर्क पर्मिट वा रेसिडेन्स पर्मिट आवश्यक पर्दैन, तर बस्न चाहने व्यक्तिले आफ्नो खर्च, काम र आवासको व्यवस्था आफैँ गर्नुपर्छ।

मृत्यु र अन्त्येष्टिको अनौठो व्यवस्था

स्वालबारमा स्थायी रूपमा जमेको जमिन (Permafrost) का कारण शव सामान्य तरिकाले नगल्ने भएकाले लङयेरब्येनमा कफिनसहित शव गाड्न अनुमति छैन। कसैको मृत्यु भएमा शव मुख्य भूभागमा पठाएर अन्त्येष्टि गरिन्छ। यद्यपि, दाहसंस्कारपछि अस्थि राखिएको कलश भने स्थानीय चिहानमा गाड्न सकिन्छ।

मानिसको शवसमेत सामान्य तरिकाले नगल्ने यही स्थायी चिसो जमिनले स्वालबारलाई विश्वका बीउ लामो समयसम्म सुरक्षित राख्ने उपयुक्त स्थान बनाएको हो।

विश्व बीउ भण्डार भनेको के हो?

नर्वे सरकारले सन् २००८ मा खोलेको 'स्वालबार ग्लोबल सिड भल्ट' संसारका खाद्य बालीका बीउको सुरक्षित जगेडा (Backup) राख्ने विशेष भण्डार हो।

कुनै देशको मूल बीउ सङ्कलन युद्ध वा प्राकृतिक प्रकोपले नष्ट भएमा यहाँ राखिएको अतिरिक्त नमुनाबाट त्यसलाई पुनःस्थापित गर्न सकिन्छ। पहाडभित्र माइनस १८ डिग्री सेल्सियस तापक्रममा राखिने यी बीउलाई कृत्रिम चिस्यान नहुँदा पनि पहाड वरिपरिको पर्माफ्रोस्टले चिसो राख्छ।

यहाँ पठाइएका बीउको स्वामित्व सम्बन्धित संस्थाकै रहन्छ र यो सेवा निःशुल्क छ। हाल यहाँ १३४ संस्थाका १४ लाखभन्दा बढी बीउका नमुना सुरक्षित छन्।

युद्धले युक्रेनको बीउ सङ्कलन जोखिममा

"युरोपको अन्न भण्डार" मानिने युक्रेनको खार्किभस्थित जीन बैंक रूसको बमबारीबाट क्षतिग्रस्त भएपछि सङ्कलनलाई युद्धको अग्रपङ्क्तिबाट टाढा सारिएको थियो। संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि संगठन (FAO), क्रप ट्रस्ट (Crop Trust) र नर्डिक जीन स्रोत केन्द्र (NordGen) लगायतका संस्थाले युक्रेनको बीउ सङ्कलन सुरक्षित राख्ने काममा सहयोग गरेका थिए।

युक्रेनले अहिले पठाएका बीउमध्ये फापरको विशेष महत्त्व छ, जुन हिउँदे बाली असफल हुँदा वैकल्पिक बालीका रूपमा रोप्न सकिन्छ। सैन्य गतिविधिको बीचमा बीउ तयार पारेर सुरक्षित रूपमा स्वालबार पठाउनु निकै चुनौतीपूर्ण थियो।

२१ जीन बैंकले पठाए १६ हजारभन्दा बढी नमुना

अक्टोबरको यस भण्डारणमा युक्रेनबाहेक चार महादेशका २१ जीन बैंकले कुल १६ हजारभन्दा बढी नमुना पठाएका छन्। जसमा मेक्सिकोको CIMMYT र इटालीको कृषि अनुसन्धान संस्थाले पठाएका पुराना बालीका नमुना पनि समावेश छन्।

एउटै बालीका विभिन्न जातमा चिसो, खडेरी वा रोग सहन सक्ने फरक विशेषता हुन्छन्, जुन भविष्यको अनुसन्धानका लागि उपयोगी हुन्छन्। युक्रेनले पठाएका नमुना पनि तत्काल प्रयोगका लागि नभई भविष्यको खाद्य उत्पादनका लागि सुरक्षित राखिएका अतिरिक्त नमुना (ब्याकअप) हुन्।