नर्वेमा बसोबास अनुमतिको निर्णय पर्खिरहेका केही विदेशीहरूले नयाँ काम सुरु गर्न, विदेश यात्रा गर्न र भविष्यको योजना बनाउन कठिन भएको बताएका छन्। आधिकारिक नियमअनुसार काम गर्न र विदेश जान पाउने अवस्था आवेदनको प्रकार, हालको अनुमति तथा वैध ‘रेसिडेन्स कार्ड’ (oppholdskort) मा निर्भर हुन्छ।

नर्वेको अध्यागमन निर्देशनालय (UDI) बाट बसोबास अनुमतिको निर्णय पर्खिरहेका विदेशीहरूका अनुसार लामो प्रतीक्षाले उनीहरूको दैनिक जीवनमा गम्भीर अनिश्चितता सिर्जना गरेको छ।

The Local ले मा प्रकाशित गरेको प्रतिवेदनमा केही आवेदकहरूले निर्णय नआउँदा काम गर्न वा विदेश यात्रा गर्न नसकेको अनुभव सुनाएका छन्। प्रतिवेदनमा अध्यागमन आवेदनको ढिलाइ कागजी प्रक्रियामा मात्र सीमित नभई सम्बन्धित व्यक्तिको रोजगारी, यात्रा र व्यक्तिगत जीवनमा समेत गम्भीर असर पार्ने विषय भएको उल्लेख छ।

काम सुरु गर्न सामान्यतः निर्णय नै पर्खनुपर्ने

रोजगारीको उद्देश्यले पहिलोपटक बसोबास अनुमतिका लागि आवेदन दिएका व्यक्तिले सामान्यतः आवेदन स्वीकृत नभएसम्म काम सुरु गर्न पाउँदैनन्। आवश्यक कागजातहरू बुझाएपछि आवेदन UDI मा पठाइन्छ र सामान्यतया पुराना आवेदनहरूलाई प्राथमिकता दिँदै पहिले प्रशोधन गरिन्छ। कागजात अपुग भएमा वा थप अनुसन्धान आवश्यक परेमा प्रक्रिया अझ लम्बिन सक्छ।

दक्ष कामदारका केही विशेष आवेदनहरूमा रोजगारदाताले प्रहरीबाट आवेदनको निर्णय आउनुअघि नै काम सुरु गर्न पाउने पूर्व-स्वीकृति प्राप्त गर्न सक्छन्। तर यो सुविधा सबै आवेदकहरूका लागि स्वतः उपलब्ध हुने अधिकार भने होइन।

UDI का अनुसार नर्वेमा काम गर्न आउने EU/EEA बाहिरका नागरिकलाई सामान्यतः कामसँग सम्बन्धित बसोबास अनुमति अनिवार्य हुन्छ। आवश्यक पर्ने अनुमतिको प्रकार व्यक्तिको योग्यता र उसले गर्ने कामको प्रकृतिमा निर्भर रहन्छ।

विदेश यात्रा गर्दा वैध रेसिडेन्स कार्ड अनिवार्य

UDI का अनुसार नर्वेबाहिर यात्रा गर्ने व्यक्तिसँग मान्य राहदानी वा वैध यात्रा कागजातका साथै मान्य ‘रेसिडेन्स कार्ड’ हुनु अनिवार्य छ।

नयाँ बसोबास अनुमति वा यात्रा कागजातको निर्णय पर्खिरहेको समयमा यात्रा योजना बनेको कारणले मात्र आवेदनलाई प्राथमिकता दिन नसकिने व्यहोरा पनि UDI ले स्पष्ट पारेको छ।

वैध रेसिडेन्स कार्डबिना नर्वे छाड्दा विमानस्थल, गन्तव्य देशको प्रवेश बिन्दु वा नर्वे फर्कने क्रममा समस्या पर्न सक्ने भएकाले दुवै आवश्यक कागजात हात नपरेसम्म विदेश यात्रा नगर्न UDI ले सल्लाह दिएको छ। यस्तो अवस्थामा गरिने कुनै पनि यात्रा सम्बन्धित व्यक्तिकै व्यक्तिगत जोखिममा हुने निकायको भनाइ छ।

यो सामान्य नियम नर्डिक तथा EU/EEA का नागरिकहरूको हकमा भने पूर्ण रूपमा लागू हुँदैन। यद्यपि, उनीहरूलाई पनि आफूले यात्रा गर्न लागेको देशको परिचयपत्रसम्बन्धी नियम पूर्वजाँच गर्न अनुरोध गरिएको छ।

EU/EEA नागरिकका परिवारका सदस्यले कार्डको को आवेदन प्रक्रिया चलिरहँदा वैध कार्ड साथमा नभए नर्वे नछाड्न UDI को सुझाव छ। भिसा आवश्यक पर्ने देशका नागरिकसँग नर्वेको वैध रेसिडेन्स कार्ड नभए पुनः नर्वे फर्कन सेन्जेन भिजिटर भिसा (Schengen visitor visa) आवश्यक पर्न सक्छ।

अनुमति पाइसके पनि कार्ड पाउन ढिलाइ हुन सक्ने

बसोबास अनुमति स्वीकृत भइसकेपछि पनि भौतिक कार्ड हात पर्न समय लाग्न सक्छ। विदेशबाट आवेदन दिएका व्यक्तिले रेसिडेन्स कार्ड मगाउन स्थानीय प्रहरी कार्यालयमा स्वयं उपस्थित हुनुपर्ने हुन्छ, तर केही प्रहरी कार्यालयहरूमा अप्वाइन्ट्मेन्ट पाउन नै लामो प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको UDI ले जनाएको छ। साथै, कार्ड उत्पादन तथा हुलाकबाट पठाउने प्रक्रियामा पनि अतिरिक्त समय लाग्छ।

यद्यपि, अनुमति स्वीकृत भइसकेका व्यक्तिले आफ्नो कानुनी बसोबास र काम गर्ने अधिकार प्रमाणित गर्न UDI वा प्रहरीले दिएको निर्णयपत्र वा आधिकारिक पत्र प्रस्तुत गर्न सक्छन्।

रोजगारदाता तथा सार्वजनिक निकायहरूले पनि आवश्यक परे UDI सँग प्रत्यक्ष सम्पर्क गरी व्यक्तिको कानुनी स्थिति तथा काम गर्ने अधिकार प्रमाणीकरण गर्न सक्नेछन्।

विदेशबाट आवेदन गरेर काम वा अध्ययनको अधिकारसहितको अनुमति प्राप्त गरिसकेको व्यक्तिले प्रहरीसँग रेसिडेन्स कार्ड मगाउने समय बुक गरेपछि, कार्ड हातमा नआइसकेको अवस्थामा पनि काम वा अध्ययन सुरु गर्न सक्ने UDI ले स्पष्ट पारेको छ।

यदि प्रहरीसँग समय बुक गर्न सम्भव नभएमा आफू नर्वे आइपुगेको र काम वा अध्ययन सुरु गर्न लागेको जानकारी फोन वा इमेलमार्फत UDI लाई गराउनुपर्छ।

स्थायी बसोबासका लागि दुई वर्षभन्दा लामो प्रतीक्षा

२४ सेप्टेम्बर २०२६ मा अद्यावधिक गरिएको UDI को तथ्याङ्कअनुसार स्थायी बसोबास अनुमतिको निर्णय पर्खिरहेका आवेदकहरूको संख्या ५,५४१ रहेको थियो।

UDI मा विचाराधीन रहेका आवेदनहरूमध्ये पारिवारिक पुनर्मिलन (family immigration), संरक्षण (protection) वा मानवीय आधार (humanitarian grounds) मा अस्थायी अनुमति पाएकाहरूका लागि औसत अनुमानित प्रतीक्षा समय २५ महिना रहेको थियो। यस्तै, श्रम अध्यागमन (work immigration) को अनुमति भएकाहरूका लागि यो समय २४ महिना र अन्य श्रेणीका लागि २५ महिना तोकिएको थियो।

प्रहरीले स्थायी बसोबासको आवेदन सिधै स्वीकृत गर्न नसकेर UDI मा पठाएको खण्डमा, साविकको अस्थायी अनुमतिका सर्तहरू पूरा भइरहे प्रहरीले नै अस्थायी अनुमति नवीकरण गरिदिन सक्छ।

यात्रा गर्नका लागि नयाँ रेसिडेन्स कार्ड चाँडै आवश्यक परेमा अस्थायी अनुमति पुनः नवीकरणका लागि आवेदन दिन UDI ले सिफारिस गरेको छ।

UDI ले आफ्नो वेबसाइटमा उल्लेख गरिएका समयहरू अनुमानित मात्र भएको र ठ्याक्कै कुन मितिमा निर्णय आउँछ भनी यकिन गर्न नसकिने जनाएको छ।

आवेदनको चाप, परिस्थितिमा आउने फेरबदल, अन्तर्राष्ट्रिय द्वन्द्व, अपुग कागजात, अन्तर्वार्ता वा डीएनए परीक्षणजस्ता थप अनुसन्धान तथा आपराधिक अभिलेखले निर्णय आउने समयावधिलाई प्रभाव पार्न सक्छन्।

नेपाली आवेदकका व्यावसायिक तथा शैक्षिक कागजातमा थप प्रमाणीकरण

व्यावसायिक तालिम आवश्यक पर्ने कामसम्बन्धी आवेदनहरूमा केही देशबाट प्राप्त शैक्षिक तथा तालिमका प्रमाणपत्रहरूमाथि UDI ले अतिरिक्त प्रमाणीकरण गरिरहेको छ।

यसरी थप जाँच गरिने देशहरूको सूचीमा नेपाल पनि समावेश छ। यसका कारण कुक, कार मेकानिक, सिकर्मी, पेन्टर, डकर्मी र हेयरड्रेसरजस्ता व्यावसायिक सीप चाहिने पदहरूका आवेदनमा सामान्यभन्दा बढी समय लाग्न सक्छ।

UDI ले यस्ता आवेदनहरू सन् २०२६ को अन्त्यसम्ममा टुङ्ग्याउने लक्ष्य राखेको भए पनि प्रक्रिया पूरा हुन त्योभन्दा बढी समय लाग्न सक्ने स्पष्ट पारेको छ।

यो व्यवस्था नेपालबाट परेका हरेक प्रकारका कामसम्बन्धी आवेदनमा स्वतः लागू हुने भने होइन। आधिकारिक सूचनाअनुसार विशेषगरी व्यावसायिक तालिमका प्रमाणपत्रहरूको थप प्रमाणीकरण आवश्यक पर्ने फाइलहरूमा मात्र यो नियम आकर्षित हुनेछ।

पुनरावेदन (Appeal) मा पनि लामो समय

अध्यागमनसम्बन्धी पुनरावेदन बोर्ड (UNE) मा पुगेका मुद्दाहरूमा पनि लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था छ। ८ मे २०२६ को अद्यावधिक विवरणअनुसार अधिकांश वर्क पर्मिटका पुनरावेदन २१ महिनाभित्र, family immigration का १७ महिनाभित्र र asylum वा protection सम्बन्धी पुनरावेदन १२ महिनाभित्र किनारा लगाइने उल्लेख गरिएको थियो।

UNE ले मौसमी काम (seasonal work) सँग सम्बन्धित अपिलहरूलाई प्राथमिकता दिने जनाएको छ।

सबै आवेदकको अधिकार र अवस्था एउटै हुँदैन

आवेदन प्रक्रियामा रहँदा काम गर्न वा विदेश यात्रा गर्न मिल्छ कि मिल्दैन भन्ने विषय सबै आवेदकको हकमा समान हुँदैन। यसको निर्क्योल आवेदनको प्रकृति, नयाँ आवेदन वा नवीकरण, मौजुदा बसोबास अनुमतिको म्याद, सम्बन्धित व्यक्तिको राष्ट्रियता, भिसाको प्रावधान र रेसिडेन्स कार्डको स्थितिजस्ता विविध पक्षहरूमा निर्भर रहन्छ।

त्यसैले, अन्य व्यक्तिको व्यक्तिगत अनुभवका आधारमा मात्र आफ्नो काम वा यात्राको योजना नबनाई, UDI ले उपलब्ध गराएको आफ्नो आवेदन-विशेष विवरण र आफूले प्राप्त गरेको आधिकारिक पत्रमा उल्लिखित अधिकारहरू राम्ररी अध्ययन गर्नु आवश्यक हुन्छ।

मुख्य स्रोतहरू