अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकी कानुनविद् नावी पिल्लेलाई सन् २०२६ को नोबेल शान्ति पुरस्कार दिने निर्णयप्रति कडा आक्रोश व्यक्त गरेका छन्। उनले उक्त निर्णयलाई “नर्वेमाथिको नमेटिने कलङ्क” को संज्ञा दिएका छन्। यता, नर्वेका परराष्ट्रमन्त्री एस्पेन बार्थ आइदेले भने पिल्लईलाई “अत्यन्त योग्य विजेता” बताउँदै निर्णयको बचाउ गरेका छन्।
ट्रम्पले अमेरिकाको न्युयोर्क राज्यस्थित सिराक्युजमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नोबेल शान्ति पुरस्कारको निर्णयलाई “लज्जास्पद र अपमानजनक” भनेका हुन्।
“यो नर्वे र यस्तो लज्जास्पद तथा अपमानजनक निर्णय गर्ने व्यक्तिहरूमाथिको नमेटिने कलङ्क हो,” ट्रम्पले भने। उनले नोबेल शान्ति पुरस्कारलाई प्रजातन्त्रविरोधी कट्टर विचारधारा बोकेका केही व्यक्तिले सधैँका लागि बदनाम गरेको आरोपसमेत लगाए।
‘हामी नर्वेलाई बिर्सने छैनौँ’
ट्रम्पले आफ्नो भाषणमा नर्वेलाई प्रत्यक्ष सम्बोधन गर्दै अमेरिका र आफूलाई पुरस्कार नदिइएकोमा तीव्र असन्तुष्टि जनाए।
“हामी बिर्सने छैनौँ, नर्वे, तपाईंहरूले अमेरिकालाई नोबेल पुरस्कार दिनुभएन,” ट्रम्पले भने। उनले नर्वे र अन्य देशहरूले अमेरिकाको फाइदा उठाइरहेको आरोप लगाउँदै, यो पुरस्कार संयुक्त राज्य अमेरिका र राष्ट्रपतिका रूपमा आफूलाई दिनुपर्ने दाबी गरे।
आफूले आठवटा युद्ध अन्त्य गरेको दाबी गर्दै ट्रम्पले प्रत्येक युद्ध अन्त्य गरेबापत एउटा नोबेल पुरस्कार पाउनुपर्ने जिकिरसमेत गरे। “हामीले प्रत्येक युद्धका लागि एउटा नोबेल पुरस्कार पाउनुपर्थ्यो,” उनले भने।
यद्यपि, उनले दाबी गरेका सबै द्वन्द्वहरू पूर्ण रूपमा अन्त्य भइसकेका छन् भन्ने विषय भने विवादरहित छैन।
आइदे भन्छन्– ‘अत्यन्त योग्य विजेता’
ट्रम्पले पुरस्कारको निर्णयमाथि कडा आक्रमण गरिरहँदा, नर्वेका परराष्ट्रमन्त्री एस्पेन बार्थ आइदेले भने नावी पिल्लेलाई “अत्यन्त योग्य विजेता” भनेका छन्। पिल्लईले अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारका क्षेत्रमा लामो समयदेखि महत्त्वपूर्ण योगदान दिएको आइदेको भनाइ छ।
नोबेल कमिटीले पनि पिल्लेलाई असाधारण साहस र निष्ठाका साथ शान्ति तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था प्रवर्द्धन गरेको भन्दै यो वर्षको शान्ति पुरस्कार दिने निर्णय गरेको हो।
निर्णयमा नर्वे सरकारको भूमिका हुँदैन
ट्रम्पले आफ्नो आलोचना नर्वेतर्फ सोझ्याए पनि नोबेल शान्ति पुरस्कार कसलाई दिने भन्ने निर्णय नर्वे सरकारले गर्दैन। पुरस्कार विजेताको चयन स्वतन्त्र नोबेल कमिटीले गर्ने गर्छ।
कमिटीका सदस्यहरू नर्वेली संसद्ले नियुक्त गरे पनि पुरस्कारसम्बन्धी निर्णय प्रक्रियामा नर्वे सरकारको कुनै प्रत्यक्ष भूमिका हुँदैन।
नोबेल शान्ति पुरस्कार ओस्लोमा प्रदान गरिने र नोबेल कमिटी नर्वेमै रहने भएकाले ट्रम्पले कमिटीको निर्णयलाई नर्वेसँग जोडेर आलोचना गरेका हुन्।
घोषणा भएलगत्तै सुरु भएको थियो आलोचना
नवी पिल्लेलाई पुरस्कार दिने घोषणा भएको केही समयलगत्तै ट्रम्पले आफ्ना पूर्ववकिल डेभिड शोएनले लेखेको एउटा सन्देश ट्रुथ सोसलमा साझा गरेका थिए। उक्त सन्देशमा नोबेल कमिटीले आफैँलाई बदनाम गरेको दाबी गर्दै पिल्लेलाई अमेरिका र इजरायलविरोधी आरोप लगाइएको थियो।
शुक्रबार रातिको चुनावी सभामा ट्रम्पले आलोचनालाई अझ चर्काउँदै आफूले पिल्लेबारे यसअघि कहिल्यै नसुनेको र यो पुरस्कार अमेरिका तथा आफूले पाउनुपर्ने दोहोर्याए।
नावी पिल्लेले किन पाइन् पुरस्कार?
दक्षिण अफ्रिकी कानुनविद् नावी पिल्लेलाई शान्ति र अन्तर्राष्ट्रिय कानुन प्रवर्द्धनमा पुर्याएको उल्लेखनीय योगदानका लागि सन् २०२६ को नोबेल शान्ति पुरस्कार दिने निर्णय गरिएको हो।
नोबेल कमिटीका अनुसार पिल्लेले युद्ध अपराध, मानवताविरुद्धका अपराध र नरसंहारका दोषीमाथि कानुनी कारबाही अघि बढाउन महत्त्वपूर्ण योगदान दिएकी छन्। कमिटीले उनको कानुनी निष्ठा, व्यक्तिगत साहस र अन्तर्राष्ट्रिय कानुनी व्यवस्था विकासमा उनले निर्वाह गरेको भूमिकालाई विशेष महत्त्व दिएको छ।
८५ वर्षीया पिल्लेले दक्षिण अफ्रिकामा रङ्गभेदविरुद्ध उभिएका व्यक्तिहरूको कानुनी प्रतिरक्षा गर्दै आफ्नो व्यावसायिक यात्रा सुरु गरेकी थिइन्। उनी रुवान्डा नरसंहारपछि गठन गरिएको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणकी न्यायाधीश तथा अध्यक्ष, अन्तर्राष्ट्रिय फौजदारी अदालतकी न्यायाधीश र सन् २००८ देखि २०१४ सम्म संयुक्त राष्ट्रसङ्घकी मानवअधिकार उच्चायुक्त रहिसकेकी छन्।
यसका साथै, पिल्लेले कब्जा गरिएको प्यालेस्टिनी भूभागसम्बन्धी संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिन आयोगको नेतृत्व पनि गरेकी थिइन्।
उनी म्यानमारमाथि नरसंहारको आरोप लागेको मुद्दामा अन्तर्राष्ट्रिय न्यायालयकी न्यायाधीशसमेत रहेकी छन्।
नोबेल कमिटीले युद्ध र द्वन्द्व बढिरहेको तथा अन्तर्राष्ट्रिय अदालत र न्यायाधीशहरू राजनीतिक दबाबमा परिरहेको वर्तमान समयमा पिल्लेको काम झन् महत्त्वपूर्ण बनेको जनाएको छ।
