नर्वेले राजा हाराल पाँचौं को अन्त्येष्टिका क्रममा सुरक्षा व्यवस्था मजबुत बनाउन ४ सेप्टेम्बरदेखि १४ सेप्टेम्बर २०२६ सम्म आन्तरिक सीमा नियन्त्रण पुनः लागू गर्ने भएको छ। यो नियन्त्रण नर्वे र अन्य सेंगेन (Schengen) देशबीचका सीमामा लागू हुनेछ। यस अवधिमा विदेशबाट नर्वे आउने यात्रुको प्रहरीले परिचय जाँच गर्न सक्ने भएकाले वैध राहदानी वा मान्य परिचयपत्र अनिवार्य रूपमा साथमा राख्न सुझाव दिइएको छ।
यो निर्णय न्याय तथा आपतकालीन मन्त्रालय (Justis- og beredskapsdepartementet) ले प्रहरीको सिफारिसमा गरेको हो। ९ सेप्टेम्बरमा हुने राजाको अन्त्येष्टिमा विभिन्न देशका उच्च पदस्थ अतिथि तथा आधिकारिक प्रतिनिधिमण्डल सहभागी हुने भएकाले सम्भावित सुरक्षा जोखिम रोक्न र कार्यक्रमलाई सुरक्षित रूपमा सम्पन्न गर्न यो कदम चालिएको हो।
बोर्डर बन्द हुने होइन
अस्थायी सीमा नियन्त्रण लागू हुँदैमा नर्वेको सीमा बन्द हुने वा सेंगेन देशबाट नर्वे प्रवेश गर्न नपाइने भन्ने होइन। सामान्य यात्रा जारी रहनेछ। तर, प्रहरीले विमानस्थल, बन्दरगाह तथा स्थलमार्गका सीमा नाकामा यात्रुको परिचय र यात्रा कागजात जाँच गर्न सक्छ। सबै यात्रुलाई अनिवार्य रूपमा रोक्नुको सट्टा उपलब्ध सूचनाका आधारमा लक्षित र केही स्थानमा नमुना जाँच गरिनेछ।
यसबाट सामान्य अवस्थामा भन्दा बढी व्यवस्थित रूपमा यात्रुसम्बन्धी सूचना संकलन गर्न सकिने र अन्त्येष्टि कार्यक्रममा अवरोध पुर्याउने उद्देश्य राख्ने व्यक्ति वा समूहलाई पहिचान गर्न सहज हुने प्रहरीको भनाइ छ।
यात्रुले के कुरामा ध्यान दिने?
४ देखि १४ सेप्टेम्बरसम्म विदेशबाट नर्वे आउने वा नर्वे फर्किने यात्रुले निम्न विषयमा ध्यान दिनुपर्नेछ:
- वैध कागजात: वैध राहदानी वा नर्वेमा मान्य परिचयपत्र (ID-kort) साथमा राख्ने।
- भिसा/अनुमति: वैध भिसा वा बसोबास अनुमति (Residence permit) आवश्यक पर्ने यात्रुले सम्बन्धित कागजात पनि साथमै राख्ने।
- अग्रिम तयारी: विमान, रेल, बस वा पानीजहाज कम्पनीले मागेका यात्रा कागजात अग्रिम रूपमा जाँच गर्ने।
- समय व्यवस्थापन: सम्भावित जाँचलाई मध्यनजर गर्दै विमानस्थल वा सीमा नाका पुग्न सामान्यभन्दा केही अतिरिक्त समय छुट्याउने।
- सहयोग: प्रहरीको परिचय जाँच वा लक्षित नियन्त्रणका लागि तयार रहने।
स्विडेनबाट नर्वे फर्किने यात्रुलाई पनि लागू
यो नियम नर्वेको बाह्य सीमामा मात्र नभई सेंगेन क्षेत्रभित्रका आन्तरिक सीमामा पनि लागू हुनेछ। त्यसैले स्विडेन, डेनमार्क, जर्मनी वा अन्य सेंगेन देशबाट नर्वे आउने व्यक्तिको पनि परिचय जाँच हुन सक्छ। ओस्लो विमानस्थल हुँदै आउने यात्रुका साथै स्विडेनबाट गाडी, रेल वा बसमा नर्वे प्रवेश गर्ने यात्रु पनि सम्भावित नियन्त्रणका लागि तयार रहनुपर्छ। सेंगेन व्यवस्थाअन्तर्गत सदस्य देशबीच सामान्यतया नियमित सीमा नियन्त्रण नहुने भए पनि विशेष सुरक्षा आवश्यकताका बेला सदस्य देशले यस्तो कदम चाल्न सक्छन्।
सामान्य यात्रामा न्यून असर
प्रहरी महानिर्देशनालय (Politidirektoratet) का अनुसार यस नियन्त्रणको मुख्य उद्देश्य सुरक्षा सुनिश्चित गर्नु हो। यो उपायले सामान्य यात्रामा ठूलो असर पार्ने वा सीमा पार गर्दा उल्लेखनीय ढिलाइ सिर्जना गर्ने अपेक्षा गरिएको छैन।
अस्थायी नियन्त्रण १४ सेप्टेम्बर २०२६ सम्म लागू रहनेछ। यात्राको समयमा अद्यावधिक अवस्था वा विशेष निर्देशन आउन सक्ने भएकाले यात्रुले प्रस्थान गर्नुअघि प्रहरी, सम्बन्धित विमानस्थल र यातायात कम्पनीको सूचना जाँच गर्नु उपयुक्त हुन्छ।
