चिनियाँ अनलाइन पसल 'शिन' (Shein) बाट खरिद गरिएका बालबालिकाका खेलौनाहरूमा मापदण्डभन्दा निकै बढी सिसा (Lead) भेटिएको छ। Framtiden i våre hender नामक संस्थाले गरेको परीक्षणमा यस्तो नतिजा आएपछि अभिभावकहरूलाई ती खेलौना बालबालिकाबाट तत्काल हटाउन चेतावनी दिइएको छ।
परीक्षण गरिएका ७ मध्ये ५ वटा इलेक्ट्रोनिक खेलौनामा गैरकानुनी रूपमा उच्च मात्रामा सिसा पाइएको थियो। एउटा खेलौनाको भित्री धातुको जोडाइमा त तोकिएको कानुनी सीमाभन्दा ३४६ गुणा बढी सिसा भेटिएको थियो।
संस्थाकी प्रमुख ताले हुग्नेस (Tale Hungnes) का अनुसार सबैभन्दा डरलाग्दो कुरा खेलौनामा प्रयोग गरिएको सोल्डर टिनको एक तिहाइभन्दा बढी भाग सिसा थियो, जुन युरोपेली संघ (EU) मा विगत २० वर्षदेखि विद्युतीय सामग्रीमा प्रतिबन्धित छ।
सिसा निकै विषाक्त हुने र यसले बालबालिकाको मस्तिष्क तथा स्नायु प्रणालीमा गम्भीर क्षति पुर्याउने भएकाले यसको कुनै पनि सुरक्षित सीमा हुँदैन।
रसायनिक जोखिमका साथै खेलौनाहरूमा भौतिक जोखिम पनि देखिएको छ। परीक्षण गरिएका तीनवटा खेलौनाका आँखा सजिलै खुस्किएका थिए, जसलाई साना बालबालिकाले निल्दा घाँटीमा अड्किने गम्भीर जोखिम हुन्छ।
खुस्किने साना भाग भएको एउटा खेलौना शिशुहरूले मुखमा हाल्ने 'प्यासिफायर र्याटल' (smokkrangle) समेत थियो, जुन विशेषगरी साना बालबालिकाको मुखमै पुग्ने उद्देश्यले बनाइएको हुन्छ।
नर्वेको वातावरण निर्देशनालय (Miljødirektoratet) को अनुसार तोकिएको सीमाभन्दा बढी सिसा भएका विद्युतीय खेलौना नर्वे र ईयूमा बेच्न पाइँदैन। खेलौना नखोलिएसम्म धातुमा हुने सिसा प्रत्यक्ष सम्पर्कमा आउने जोखिम कम भए पनि यो वातावरणीय र फोहोर व्यवस्थापनको ठूलो समस्या भएको जनाइएको छ।
यसैगरी, नागरिक सुरक्षा तथा पूर्वतयारी निर्देशनालय (DSB) ले ३ वर्षमुनिका बालबालिकाका लागि साना र फुक्ने भाग भएका खेलौना बेच्न पूर्ण रूपमा निषेध गरिएको बताएको छ। यस्ता उत्पादन भेटिएमा DSB ले आयात तथा बिक्रीमा रोक लगाउन र सामान फिर्ता मगाउन (recall) निर्देशन दिन सक्छ।
DSB का अनुसार युरोपेली विक्रेताको तुलनामा टेमु (Temu) र शिन (Shein) जस्ता ठूला अन्तर्राष्ट्रिय अनलाइन स्टोरहरूबाट आउने सामानमा धेरै त्रुटि भेटिने गरेको छ।
यस्ता प्लेटफर्मबाट EU/EEA बाहिरबाट सीधै सामान किन्दा उपभोक्ता आफैं आयातकर्ता मानिने र युरोपेली मापदण्ड पूरा भएको सुनिश्चित गर्ने जटिल जिम्मेवारी उपभोक्ताकै हुने भएकाले नर्वेजियन वा युरोपेली विक्रेताहरूबाटै सामान किन्न DSB ले सुझाव दिएको छ।
वातावरण निर्देशनालयले यस्ता विद्युतीय खेलौनालाई सामान्य फोहोरमा नफ्याँकी विद्युतीय फोहोर (EE-avfall) का रूपमा विसर्जन गर्न भनेको छ।
Framtiden i våre hender का अनुसार Shein ले आफ्ना उत्पादनमा प्रतिबन्धित पदार्थको सूची राखेको छ र त्यसमा कानुनी सीमाभन्दा बढी सिसा पनि निषेध गरिएको छ। तर परीक्षण गरिएका सातमध्ये पाँच खेलौनाले कम्पनीकै घोषित नियम पूरा नगरेको संस्थाको आरोप छ।
