स्ताभाङ्गेर (Stavanger) स्थित तीन मिसेलिन (Michelin) तारा प्राप्त रे-नो (Re-Naa) रेस्टुरेन्टमा गत जनवरी र फेब्रुअरी महिनामा खाना खाएका कम्तीमा ३५ जना ग्राहकहरुले आफूहरू बिरामी परेको गुनासो गरेका छन्। नर्वेको खाद्य सुरक्षा निकाय मात्तिल्सुने (Mattilsynet) ले निरीक्षण गर्दा रेस्टुरेन्टको सामान्य सञ्चालनमा कुनै त्रुटि नभेटिएको र संक्रमणको निश्चित स्रोत पनि पुष्टि हुन नसकेको जनाएको छ।
घटना यस वर्षको सुरुवातमै भएको भए पनि यसबारे एन एर को (NRK) ले २३ अक्टोबरमा विस्तृत रिपोर्ट सार्वजनिक गरेको हो। बिरामी परेका ग्राहकहरुले बान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने र थकान महसुस हुनेजस्ता लक्षण देखिएको बताएका थिए।
तर, उनीहरू बिरामी पर्नुको मुख्य कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन। मात्तिल्सुने (Mattilsynet) र रेस्टुरेन्ट दुवैले यो संक्रमण ठ्याक्कै कहाँबाट फैलियो भनेर यकिन गर्न नसकिएको स्पष्ट पारेका छन्।
मात्तिल्सुने (Mattilsynet) का अनुसार जनवरी २८ देखि ३१ सम्म Re-Naa मा खाना खाएका २१ जनाले पछि आफू बिरामी परेको जानकारी दिएका थिए। तीमध्ये एउटै समूहमा रहेका आठ जनाले राति गम्भीर बान्ता र पखाला लागेको भन्दै निकायमा सूचना दिएका थिए।
त्यसको ठीक एक सातापछि, फेब्रुअरी ४ देखि ६ सम्म सोही रेस्टुरेन्टमा खाना खाएका देशका विभिन्न स्थानबाट आएका एउटै समूहका थप १४ जना सदस्य पनि बिरामी परेका थिए। यसरी दुई फरक अवधिमा बिरामी भएको जानकारी दिने पाहुनाको कुल सङ्ख्या ३५ पुगेको हो।
रेस्टुरेन्टले दिएको जानकारीअनुसार जनवरी अन्तिम साताको सोही अवधिमा भान्सामा काम गर्ने एक जना कर्मचारीमा नोरोभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको थियो। लक्षण सुरु हुनेबित्तिकै ती कर्मचारीलाई घर पठाइएको र आवश्यक समय कामबाट अलग राखेपछि मात्र काममा फर्काइएको बताइएको छ।
मात्तिल्सुने (Mattilsynet) का निरीक्षकले बिरामी कर्मचारी सम्भावित संक्रमणको स्रोत हुन सक्ने अनुमान गरे पनि त्यसलाई पुष्टि गर्न नसकिएको बताएका छन्। यसका साथै मेनुमा विभिन्न प्रकारका काँचो शेलफिस पनि समावेश भएकाले तीमध्ये कुनै अर्को स्रोत हुन सक्ने आशङ्का पनि गरिएको थियो। तर, रेस्टुरेन्टले शेलफिस परीक्षणका लागि पठाउँदा त्यसमा कुनै समस्या नदेखिएको र निश्चित संक्रमण स्रोत फेला नपरेकाले यसलाई रेस्टुरेन्टकै खानाबाट भएको भनी निष्कर्ष निकालिएको छैन।
ग्राहकबाट गुनासो प्राप्त भएपछि मात्तिल्सुने (Mattilsynet) ले फेब्रुअरी १२ मा रेस्टुरेन्टको स्थलगत निरीक्षण गरेको थियो। सो क्रममा Re-Naa को सामान्य सञ्चालन प्रक्रियामा कुनै त्रुटि फेला परेन। यद्यपि, अनिवार्य रूपमा देखिने स्थानमा राख्नुपर्ने स्मिलेफ्येसरापोर्त (smilefjesrapport) नभेटिएका कारण एउटा सामान्य उल्लङ्घन भने दर्ता गरिएको थियो।
सम्भावित संक्रमण रोक्न रेस्टुरेन्टले पूरै परिसरको विस्तृत सरसफाइ गर्नुका साथै मेनुबाट केही परिकारहरू हटाएको थियो। Re-Naa ले बिरामी भएको जानकारी दिने सबै ग्राहकका गुनासोलाई व्यक्तिगत रूपमै सम्बोधन गर्दै सम्भावित कारण पत्ता लगाउन चिकित्सकसँग सम्पर्क गरी परीक्षण गराउन सुझाव दिएको जनाएको छ।
नोरोभाइरस अत्यन्तै संक्रामक भाइरस हो, जुन पेट तथा आन्द्रासम्बन्धी संक्रमणको मुख्य कारणमध्ये एक मानिन्छ। यसको संक्रमण भएको १२ देखि ४८ घण्टाभित्र अचानक वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने र पखाला लाग्नेजस्ता लक्षण देखिन्छन् र अधिकांश मानिस एकदेखि तीन दिनभित्र आफैँ निको हुन्छन्।
जाडो मौसममा बढी फैलिने यस्तो संक्रमणको आशङ्का गरिएको Re-Naa नर्वेमा तीन मिसेलिन (Michelin) स्टार पाउने जम्मा दुईवटा रेस्टुरेन्टमध्ये एक हो।
यहाँ खाना खान देश तथा विदेशबाट पाहुनाहरू स्ताभाङ्गेर (Stavanger) पुग्ने गर्छन्, जहाँ मेनुको मूल्य मात्रै करिब ५,००० क्रोनर छ भने पेय पदार्थसहित यसको कुल खर्च ६,९५० देखि १२,५०० क्रोनरसम्म पर्न सक्छ।
