ओस्लोको मुख्य रेल स्टेसन ओस्लो एस शनिबार १० अक्टोबरमा मर्मतसम्भारका लागि पूर्ण रूपमा बन्द हुँदैछ। यसका कारण ओस्लो हुँदै रेलमा यात्रा गर्ने यात्रीहरुले वैकल्पिक बस वा अन्य सार्वजनिक यातायात प्रयोग गर्नुपर्नेछ।
रेल सेवा सञ्चालन गर्ने कम्पनी भेइ (Vy) का अनुसार शनिबार बिहान ६ बजेदेखि आइतबार बिहान ४ बजेसम्म कुनै पनि रेल ओस्लो एस आउने वा त्यहाँबाट छुट्ने छैन। रेलहरू ओस्लोबाहिरका विभिन्न स्टेसनबाट फर्किनेछन्। प्रभावित यात्राका लागि बस चलाइनेछ र केही ठाउँमा ओस्लोको सार्वजनिक यातायात प्रयोग गर्न सकिनेछ।
रेलमार्ग र स्टेसनको पूर्वाधार हेर्ने संस्था बाने नोर (Bane NOR) ले ओस्लो एसमा योजनाबद्ध मर्मत तथा सुधारको काम गर्न लागेको हो। कामका क्रममा स्टेसनको सिग्नल प्रणालीमा विद्युत् आपूर्ति गर्ने संरचना सुधार गरिने र तीनवटा प्लेटफर्मको जमिनमुनि जाँच गरिनेछ।
विमानस्थल जाने Flytoget पनि प्रभावित
ओस्लो विमानस्थल जाने द्रुत रेल फ्लिटोगे (Flytoget) को सेवा शनिबार बिहान २ बजेदेखि नै प्रभावित हुनेछ।
शनिबार बिहान २ बजेदेखि आइतबार बिहान ३ बजेसम्म फ्लिटोगे स्कोयेन र ओस्लो विमानस्थलबीच चल्ने छैन। फ्लिटोगे स्कोयेनबाटै फर्किनेछ र स्कोयेन तथा ओस्लो विमानस्थलबीच बस चलाइनेछ।
शनिबार विमानस्थल जाने यात्रुले सामान्यभन्दा बढी समय छुट्याउनुपर्छ। कुन बस वा रेल प्रयोग गर्ने भन्ने कुरा यात्राको समयअनुसार फरक पर्न सक्ने भएकाले निस्कनुअघि फ्लिटोगेको यात्रा योजनामा जाँच गर्नु राम्रो हुन्छ।
यी रेलमार्ग बढी प्रभावित हुने
ओस्लो एस बन्द हुँदा विभिन्न स्थानीय तथा लामो दूरीका रेलमार्ग प्रभावित हुनेछन्।
- L1 स्कोयेन र ब्रिनबीच रेल चल्ने छैन।
- L2 स्ताबेक र होल्मलियाबीच रेल चल्ने छैन।
- RE10 द्रामेन र लिल्लेस्ट्रोमबीच रेल चल्ने छैन।
- RE11 स्कोयेन र आइड्सभोलबीच रेल चल्ने छैन।
- R12 स्कोयेन र लिल्लेस्ट्रोमबीच रेल चल्ने छैन।
भेइले प्रभावित यात्राका लागि करिब २४० वटा बस चलाउने जनाएको छ। यात्रुको चापका कारण वैकल्पिक बसमा भीड हुन सक्ने र यात्रा सामान्यभन्दा लामो हुन सक्ने चेतावनी दिइएको छ।
भेइको रेल टिकट प्रभावित क्षेत्रका तोकिएका रुटमा बस, ट्राम र तेबाने, अर्थात् ओस्लोको मेट्रो रेलमा पनि प्रयोग गर्न सकिनेछ। तर कुन यात्रामा कुन वैकल्पिक व्यवस्था लागू हुन्छ भन्ने कुरा फरक हुने भएकाले यात्रा सुरु गर्नुअघि जानकारी जाँच गर्नुपर्छ।
आइतबार बिहान पनि रेल सेवा सामान्य नहुने
ओस्लो एस आइतबार बिहान ४ बजे खुल्ने भए पनि सबै रेल सेवा तत्काल सामान्य अवस्थामा फर्कने छैनन्।
आइतबार बिहान ४ बजेदेखि ११ बजेसम्म ओस्लो एस र लिसाकरबीच मर्मतको काम जारी रहनेछ। यसले L1, L2, R12, R13, R14, R21, RE10 र RE11 लगायतका रेललाई असर गर्नेछ।
यस अवधिमा फ्लिटोगे पनि ओस्लो एसबाटै फर्किनेछ। ओस्लो एस र द्रामेनबीच बस चलाइनेछ।
रेल हडतालले थप यात्रा रद्द हुन सक्ने
ओस्लो एसमा हुने योजनाबद्ध कामसँगै रेल चालकहरूको हडताल पनि जारी छ। हडतालका कारण थप रेल यात्रा रद्द हुन सक्छन् र कुन रेल चल्छ भन्ने जानकारी दिनअनुसार परिवर्तन हुन सक्छ।
यात्रुले घरबाट निस्कनुअघि भेइ, फ्लिटोगे वा सार्वजनिक यातायातको एपमा आफ्नो यात्रा जाँच गर्नुपर्छ।
विशेष गरी विमानस्थल जाने र शनिबार राति यात्रा गर्नेहरूले वैकल्पिक बस छुट्ने समय ध्यानपूर्वक हेर्नुपर्छ।
