राजधानी ओस्लो सुन्दर प्रकृति, आधुनिक वास्तुकला, समृद्ध कला र इतिहासका कारण पर्यटकको रोजाइमा पर्ने सहर हो। तर यहाँको सार्वजनिक यातायात, संग्रहालय प्रवेश शुल्क र अन्य पर्यटकीय गतिविधिको खर्च जोडिँदा छोटो भ्रमण पनि महँगो पर्नसक्छ।
यही खर्चलाई व्यवस्थित गर्न पर्यटकका लागि ओस्लो पास ल्याइएको हो । यसले निश्चित अवधिभित्र सार्वजनिक यातायातको प्रयोग, ३० भन्दा बढी संग्रहालय तथा पर्यटकिय आकर्षणमा निःशुल्क प्रवेश र विभिन्न गतिविधि तथा रेस्टुरेन्टमा छुट प्रदान गर्छ। तर यो पास प्रत्येक पर्यटकका लागि उत्तिकै फाइदाजनक हुन्छ भन्नेचाहिँ छैन।
ओस्लो पासमा के समावेश छ?
ओस्लो पास २४, ४८ वा ७२ घण्टाका लागि खरिद गर्न सकिन्छ। पास सक्रिय गरेपछि छनोट गरिएको अवधिभर यसका सुविधाहरू प्रयोग गर्न पाइन्छ।
यसको प्रमुख आकर्षण सार्वजनिक यातायात हो। पासमार्फत रुटर (Ruter) अन्तर्गतका बस, ट्राम, सबवे, स्थानीय रेल तथा फेरी प्रयोग गर्न सकिन्छ। हालको आधिकारिक विवरणअनुसार यसको यातायात सुविधा जोन १ र २ मा मात्र सीमित नभई जोन १, २, ३, ४V र ४N सम्म लागू हुन्छ। यी जोनभित्र पर्ने ओस्लो विमानस्थल सम्म Vy को स्थानीय रेलबाट गरिने यात्रा पनि पासमा समावेश छ। तर विमानस्थल द्रुत रेल Flytoget भने यसमा पर्दैन।
पासले ३० भन्दा बढी संग्रहालय तथा पर्यटकीय आकर्षणमा निःशुल्क प्रवेश दिन्छ। यसमा MUNCH, Fram Museum, Kon-Tiki Museum, Norwegian Folk Museum, Nobel Peace Center, Holmenkollen Ski Museum and Tower लगायतका लोकप्रिय स्थलहरू समावेश छन्। सहभागी स्थल, खुल्ने समय र छुटको सूची समयअनुसार परिवर्तन हुन सक्ने भएकाले भ्रमणअघि आधिकारिक सूची हेर्नु उपयुक्त हुन्छ।
ओस्लो फ्योर्डका टापुहरूतर्फ चल्ने केही सार्वजनिक फेरी पनि यातायात सुविधाअन्तर्गत प्रयोग गर्न सकिन्छ। यसले संग्रहालय भ्रमणसँगै होभेदोया, लिन्डोया, ग्रेसहोल्मेन, ब्लाइकोया, नाखोल्मेन र लाङ्गोया जस्ता टापु घुम्न चाहने यात्रुलाई थप फाइदा दिन सक्छ।
यसका अतिरिक्त, चयन गरिएका गाइडेड टुर, फ्योर्ड क्रुज, गतिविधि, पसल र रेस्टुरेन्टमा छुट उपलब्ध हुन्छ। तर सबै क्रुज वा निजी गतिविधि निःशुल्क हुँदैनन्। केहीमा प्रवेश निःशुल्क हुन्छ भने केहीमा निश्चित प्रतिशत छुट मात्र पाइन्छ।
पासको मूल्य कति पर्छ?
२०२६ जनवरी २२ मा अद्यावधिक गरिएको आधिकारिक मूल्यअनुसार वयस्कका लागि २४ घण्टे पास ५८० क्रोनर, ४८ घण्टे पास ८४५ क्रोनर र ७२ घण्टे पास ९९५ क्रोनर पर्छ।
ज्येष्ठ नागरिकका लागि क्रमशः ४६५, ६७५ र ७९५ क्रोनर तथा बालबालिकाका लागि २९०, ४२० र ४९५ क्रोनर मूल्य तोकिएको छ। यात्रा गर्नुअघि मूल्य पुनः जाँच गर्नु उचित हुन्छ, किनकि मूल्य र समावेश सुविधाहरू परिवर्तन हुन सक्छन्।
सक्रिय पर्यटकका लागि बढी फाइदा
छोटो समयमा धेरै संग्रहालय हेर्न चाहने यात्रुका लागि ओस्लो पास विशेष रूपमा उपयोगी हुन सक्छ। उदाहरणका लागि, बिहान एउटा कला संग्रहालय, दिउँसो Bygdøy क्षेत्रका दुई संग्रहालय र साँझ अर्को पर्यटकीय गतिविधिमा सहभागी हुने योजना छ भने छुट्टाछुट्टै प्रवेश टिकट र सार्वजनिक यातायातको खर्च छिट्टै बढ्न सक्छ।
यस्तो अवस्थामा एकै पासबाट संग्रहालय प्रवेश तथा यातायात दुवै व्यवस्थापन गर्न सकिने भएकाले आर्थिक बचतसँगै टिकट किन्ने झन्झट पनि कम हुन्छ।
विशेषगरी MUNCH, राष्ट्रिय संग्रहालय, Fram Museum, Kon-Tiki Museum, Norwegian Folk Museum र Holmenkollen जस्ता शुल्क लाग्ने स्थलहरू समेटेर दुई वा तीन दिनको व्यवस्थित कार्यक्रम बनाउने पर्यटकले पासको राम्रो उपयोग गर्न सक्छन्।
कसका लागि पास आवश्यक नपर्न सक्छ?
ओस्लो यात्राको मुख्य उद्देश्य प्रकृति, पैदल भ्रमण, वास्तुकला वा सहरको वातावरण अनुभव गर्नु हो भने ओस्लो पास आवश्यक नहुन सक्छ।
ओपेरा हाउसको छतमा हिँड्न, Vigeland पार्क घुम्न, आकेर ब्रिगे र बन्दरगाह क्षेत्र अवलोकन गर्न तथा सहरका पार्क र वन क्षेत्रमा पदयात्रा गर्न सामान्यतः संग्रहालय प्रवेश टिकट आवश्यक पर्दैन।
दिनमा एउटा मात्र संग्रहालय जाने र बाँकी समय क्याफे, पार्क वा समुद्री किनारमा बिताउने योजना छ भने सार्वजनिक यातायातको सामान्य टिकट वा २४ घण्टे रुटर टिकट छुट्टै लिनु बढी किफायती हुन सक्छ।
त्यसैगरी, विद्यार्थी, ज्येष्ठ नागरिक वा बालबालिकाले संग्रहालय तथा यातायातमा पहिल्यै छुट पाउन सक्ने भएकाले पास किन्नुअघि उपलब्ध व्यक्तिगत छुट र ओस्लो पासको मूल्य तुलना गर्नु बुद्धिमानी हुन्छ।
कसरी किन्ने र प्रयोग गर्ने?
ओस्लो पास आधिकारिक मोबाइल एपमार्फत किन्न सकिन्छ। प्रयोगकर्ताले २४, ४८ वा ७२ घण्टामध्ये उपयुक्त अवधि तथा वयस्क, बालबालिका वा ज्येष्ठ नागरिकको श्रेणी छनोट गरेर भुक्तानी गर्न सक्छन्।
पास खरिद गरेलगत्तै सक्रिय गर्नु आवश्यक छैन। भ्रमण सुरु गर्न तयार भएपछि मात्र एपभित्रबाट पास सक्रिय गर्नु उपयुक्त हुन्छ, किनकि सक्रिय भएपछि छनोट गरिएको समयावधिको गणना सुरु हुन्छ।
संग्रहालय तथा आकर्षणमा प्रवेश गर्दा एपमा रहेको सक्रिय पास देखाउनुपर्छ। सार्वजनिक यातायात प्रयोग गर्दा पनि फोनमा सक्रिय पास उपलब्ध राख्नुपर्छ, ताकि टिकट जाँचका क्रममा देखाउन सकियोस्।
