ओस्लोका विद्यालयहरूमा बालबालिकालाई नियमित पौडी कक्षामा सहभागी हुनबाट अभिभावकले बारम्बार रोक्ने गरेमा प्रहरीमा उजुरी दिनेसम्मको कारबाही विचार गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ।
ओस्लो नगर सरकारकी शिक्षा प्रमुख यूली रेमेन मिटगार्डेन (Julie Remen Midtgarden) ले विशेषगरी छोरीहरूलाई केटा र केटी सँगै सहभागी हुने पौडी कक्षामा जान नदिइएका गम्भीर प्रकृतिका घटनामा विद्यालयले कडा कदम चाल्नुपर्ने बताएकी हुन्।
उनका अनुसार केटा र केटीका लागि छुट्टाछुट्टै पौडी कक्षा सञ्चालन गर्नु कानुनविपरीत हो र ओस्लोका विद्यालयहरूमा यस्तो अभ्यासलाई स्वीकार गर्न सकिँदैन। विद्यार्थीहरूले सामान्यतः नियमित कक्षामा सँगै शिक्षा लिनुपर्ने उनको भनाइ छ।
एक आमाको लेखपछि सुरु भयो बहस
यो बहस Aftenposten मा ग्रोरुडालेन (Groruddalen) की एक आमाले लेखेको विचार प्रकाशित भएपछि सुरु भएको हो। ती आमाका अनुसार, केही अभिभावकले केटा र केटी सँगै पौडी खेल्ने कक्षालाई स्वीकार नगरेपछि उनीहरूका बालबालिका अध्ययन गर्ने विद्यालयले छुट्टाछुट्टै पौडी कक्षाको व्यवस्था गरेको थियो।
यसप्रति प्रतिक्रिया दिँदै मिटगार्डेनले अभिभावकको दबाबका कारण छात्रा र छात्रलाई फरक किसिमको शिक्षा दिनु उचित नभएको स्पष्ट पारेकी छन्।
उनका अनुसार पौडी खेल्न सिक्नु विद्यालयको एउटा सामान्य गतिविधि मात्र होइन, यो पानीमा आइपर्न सक्ने दुर्घटनाबाट जोगिन आवश्यक पर्ने जीवनोपयोगी सीप पनि हो। अभिभावकले छोरीलाई यस्तो शिक्षा लिनबाट रोक्दा त्यसले लैङ्गिक समानतामा नै समस्या सिर्जना गर्ने उनको तर्क छ।
गम्भीर अवस्थामा प्रहरी उजुरीको प्रस्ताव
मिटगार्डेनले पौडी कक्षामा एकपटक मात्र अनुपस्थित हुने सबै बालबालिकाका अभिभावकमाथि प्रहरीमा उजुरी गर्नुपर्छ भनेकी भने होइनन्।
उनको प्रस्ताव अभिभावकले आफ्ना छोरीहरूलाई नियमित पौडी कक्षामा सहभागी हुनबाट लगातार र योजनाबद्ध रूपमा रोकिरहेका गम्भीर घटनासँग मात्र सम्बन्धित छ। त्यस्तो अवस्थामा विद्यालयले प्रहरीमा उजुरी दिनेजस्ता कडा उपाय प्रयोग गर्ने विषयमा विचार गर्नुपर्ने उनले बताएकी छन्।
नर्वेको शिक्षा ऐनको दफा २-७ अनुसार, बालबालिकाको हेरचाहको जिम्मेवारी भएका व्यक्तिले जानाजानी वा लापरवाहीपूर्वक वैध कारणबिना बच्चालाई अनिवार्य आधारभूत शिक्षाबाट अनुपस्थित गराएमा जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।
तर पौडी कक्षामा सहभागी हुन नदिएको आधारमा अभिभावकमाथि प्रहरी उजुरी गरिएको अभ्यास अहिलेसम्म परीक्षण भइसकेको छैन। त्यसैले मिटगार्डेनले अनिवार्य शिक्षाबाट वञ्चित गराइने यस्ता अनुपस्थितिमा विद्यालयले प्रयोग गर्न सक्ने उपायबारे राष्ट्रिय निकायबाट स्पष्ट निर्देशनको मागसमेत गरेकी छन्।
अल्पसङ्ख्यक पृष्ठभूमिका छात्रामा बढी प्रतिबन्ध
मिटगार्डेनले सन् २०२१ को एउटा अनुसन्धान प्रतिवेदनलाई पनि यसको आधार बनाएकी छन्। उक्त अध्ययनअनुसार अल्पसङ्ख्यक पृष्ठभूमिका करिब १५ प्रतिशत छात्रालाई अभिभावकले केटा र केटी सँगै हुने पौडी कक्षामा सहभागी हुन दिएका थिएनन्। छात्रका हकमा भने यो हिस्सा ५ प्रतिशत मात्र थियो।
उनले यस्तो अवस्था विशेषगरी छात्राहरूको समान शैक्षिक सहभागितासँग जोडिएको बताएकी छन्। केटा र केटीका लागि छुट्टाछुट्टै कक्षा सञ्चालन गरेर समस्याको समाधान नहुने र त्यसले उल्टै उनीहरूलाई फरक व्यवहार गर्नुपर्छ भन्ने सोचलाई बल पुर्याउने उनको भनाइ छ।
ओस्लोका विद्यालयहरूको अवस्था खोजिँदै
ओस्लोका कतिवटा विद्यालयमा छात्र र छात्राका लागि छुट्टाछुट्टै पौडी कक्षा सञ्चालन भइरहेको छ भन्ने यकिन विवरण अहिले उपलब्ध छैन।
मिटगार्डेनले यसबारे ओस्लोको शिक्षा विभागसँग विवरण माग गरेकी छन्। Sagene skole ले यसअघि १० कक्षाका विद्यार्थीका लागि परीक्षणका रूपमा छुट्टाछुट्टै पौडी कक्षा सञ्चालन गरेको थियो। तर विद्यालयले यस वर्ष उक्त व्यवस्थालाई निरन्तरता नदिएको जनाएको छ।
विद्यालयहरूले पौडीसम्बन्धी यस्तो व्यवस्था शिक्षा विभागमा नियमित रूपमा रिपोर्ट नगर्ने भएकाले यसको वास्तविक दायरा थाहा नभएको विभागको भनाइ छ।
नर्वेमा पौडी शिक्षा शारीरिक शिक्षाको पाठ्यक्रमभित्र पर्छ। कक्षा १ देखि ४ सम्मका विद्यार्थीका लागि पौडी सीप परीक्षण सञ्चालन गर्नु विद्यालयका लागि अनिवार्य छ। यसको मुख्य उद्देश्य विद्यार्थीलाई चौथो कक्षासम्म पानीमा सुरक्षित रहन र पौडी खेल्न सक्षम बनाउनु हो।
हाल प्रहरी उजुरी गर्ने कुनै नयाँ नियम लागू भइसकेको छैन। यो ओस्लो नगर सरकारकी शिक्षा प्रमुखले गम्भीर प्रकृतिका घटनामा विचार गर्नका लागि प्रस्ताव गरेको एउटा सम्भावित उपाय मात्र हो।
