ओस्लोको प्रशासनिक नक्सामा ठूलो परिवर्तन हुँदैछ। हाल कायम रहेका १५ वटा 'बिदेल' (सहरभित्रका प्रशासनिक क्षेत्र) लाई गाभेर अब आठवटा मात्र बनाइने भएको छ। ओस्लो नगर परिषद्ले बुधबार नयाँ बिदेलका नामहरूलाई अन्तिम स्वीकृति दिएको छ। यो नयाँ व्यवस्था १ जनवरी २०२८ देखि लागू हुनेछ।
नयाँ बिदेलका नामहरू क्रमशः Vestre Aker, Gamle Aker, Gamle Oslo, Frysja, Hovin, Øvre Groruddalen, Østensjø र Nordstrand राखिएका छन्। नयाँ संरचना २०२८ बाट मात्र लागू हुने भए तापनि ओस्लोका मतदाताहरूले सेप्टेम्बर २०२७ मा हुने स्थानीय चुनावमै यी नामहरू देख्न पाउनेछन्। सोही चुनावमार्फत नयाँ बिदेलका प्रतिनिधिहरू चयन गरिनेछ ।
यो परिवर्तन नाम बदल्ने प्रक्रियामा मात्र सीमित छैन। हालका कतिपय बिदेलहरू आपसमा गाभिनेछन् भने केही क्षेत्रलाई टुक्र्याएर फरक बिदेलमा राखिनेछ। त्यसैले, धेरै बासिन्दाहरूले भविष्यमा आफूलाई अहिलेको भन्दा फरक प्रशासनिक क्षेत्रमा पाएको हुनसक्छन्।
नयाँ बिदेलहरूको विभाजन यसप्रकार हुनेछ:
Vestre Aker
नयाँ Vestre Aker मा अहिलेका Vestre Aker र Ullern बिदेलका अधिकांश क्षेत्रहरू समावेश हुनेछन्। तर, Amalienborg, Madserud, Sjølyst, Søndre Skøyen तथा Hoff उत्तर र दक्षिणका केही भागहरूलाई भने नयाँ Gamle Aker मा राखिनेछ ।
Gamle Aker
अहिलेका St. Hanshaugen र Frogner मिलेर मुख्य रूपमा नयाँ Gamle Aker बन्नेछ। यसमा हाल Ullern अन्तर्गत पर्ने Skøyen क्षेत्रका Amalienborg, Madserud, Sjølyst र Søndre Skøyen पनि समावेश हुनेछन्। साथै, Hoff क्षेत्रका केही भाग र E18 को दक्षिणतर्फ रहेको विकास क्षेत्र पनि यही बिदेलमा पर्नेछ ।
Gamle Oslo
अहिलेका Grünerløkka र Gamle Oslo को अधिकांश भाग गाभेर नयाँ Gamle Oslo बनाइनेछ। Oslo S र Vaterland आसपासका क्षेत्र पनि यसैमा समावेश हुनेछन्। तर Hasle, Løren, Helsfyr र Ensjø तथा Etterstad का केही भागहरू भने नयाँ Hovin बिदेलमा जानेछन् ।
Frysja
अहिलेको Sagene र Nordre Aker मिलेर नयाँ Frysja बिदेल बन्नेछ। यसको अर्थ, Sagene वा Nordre Aker मा बस्नेहरू २०२८ देखि Frysja नामको नयाँ प्रशासनिक क्षेत्रअन्तर्गत पर्नेछन्।
Hovin
नयाँ Hovin बिदेलमा अहिलेको Bjerke सहित Hasle, Løren र Teisen समावेश गरिनेछ। यसका अतिरिक्त Ensjø, Helsfyr, Etterstad, Brynslia, Smalvoll र Alnabru का केही भागहरू पनि नयाँ Hovin मा पर्नेछन् ।
Øvre Groruddalen
अहिलेका Stovner, Grorud र Alna का अधिकांश भागलाई गाभेर नयाँ Øvre Groruddalen बनाइनेछ। तर हाल Alna मा पर्ने Teisen तथा Smalvoll र Alnabru का केही भागहरू भने Hovin बिदेलमा जानेछन् ।
Østensjø
अहिलेको Østensjø बिदेलमा हाल Søndre Nordstrand अन्तर्गत पर्ने Bjørndal, Mortensrud र Bjørnerud का अधिकांश क्षेत्रहरू थपेर नयाँ Østensjø बनाइनेछ। तर Bjørnerud को एउटा आधारभूत भौगोलिक क्षेत्र भने नयाँ Nordstrand मा समावेश हुनेछ ।
Nordstrand
नयाँ Nordstrand मा अहिलेको Nordstrand बिदेलसहित Holmlia Nord, Holmlia Sør र Prinsdal समावेश हुनेछन्। Bjørnerud को केही भाग पनि यही बिदेलमै पर्नेछ ।
नामकरणमा राजनीतिक मतभेद
नाम निर्धारणका क्रममा नगर परिषद्मा सबै दलहरू एकमत भने थिएनन्। SV ले नयाँ Østensjø को नाम Søndre Aker र नयाँ Nordstrand को नाम Ljabru राख्न प्रस्ताव गरेको थियो।
Frp ले Frysja को सट्टा Nordre Aker र Øvre Groruddalen को सट्टा Østre Aker नाम राख्न चाहेको थियो।
MDG र Rødt ले भने नाम नराखी बिदेल नम्बर १, २ जस्ता नम्बरहरू मात्रै प्रयोग गर्ने पक्ष लिएका थिए। अन्ततः नगर सरकारबाट प्रस्ताव गरिएका आठवटै नामहरू स्वीकृत भए [nrk.no]।
परिवर्तनको उद्देश्य
ओस्लोमा बिदेलले बालबालिका, वृद्धवृद्धा, स्वास्थ्य, सामाजिक सेवा र स्थानीय लोकतन्त्रसँग सम्बन्धित महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हाल्छन्। यो सुधारलाई ओस्लो कोमुनेको २५ वर्षभन्दा लामो अवधिमा गरिएको सबैभन्दा ठूलो सांगठनिक परिवर्तनका रूपमा लिइएको छ।
नगर सरकारका अनुसार, ठूला र बलिया प्रशासनिक क्षेत्र बनाएर बासिन्दालाई अझ प्रभावकारी र समान सेवा उपलब्ध गराउनु नै यसको मुख्य उद्देश्य हो।
