चुलोमा खाना राखेर बिर्सिने वा घरबाट बाहिर जाने घटनाका कारण ओस्लोमा केवल ४८ घण्टाभित्र २२ पटक दमकल परिचालन गर्नुपरेको छ।

Oslo brann- og redningsetat ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार, केवल ४८ घण्टामा चुलोसँग सम्बन्धित २२ घटनामा दमकल परिचालन गर्नुपरेको थियो।

निकायले लेखेको छ, “हामी वर्षौंदेखि चुलोमा खाना डढ्ने घटनाबारे नियमित रूपमा जानकारी दिँदै आएका छौँ। तैपनि रोक्न सकिने यस्ता घटनामा बारम्बार परिचालन हुनुपरेको छ।”

कतिपय अवस्थामा दमकल पुग्दा घरमा कोही पनि नभएको तर चुलोमा खाना छाडिएको पाइएको निकायले जनाएको छ।

वृद्धवृद्धाबाट मात्र हुँदैन यस्तो गल्ती

चुलोमा खाना राखेर बिर्सिने घटना वृद्धवृद्धासँग मात्र सम्बन्धित नभएको ओस्लो दमकल तथा उद्धार निकायका सञ्चार प्रमुख सिगुर्ड फोल्गेरो दालेनले बताएका छन्।

यस्ता घटना युवा, वृद्धवृद्धा र साना बालबालिका भएका परिवार सबैबाट हुने गरेको उनको भनाइ छ। दैनिक जीवनको तनाव, समयको चाप, शिशुको हेरचाह र स्तनपानपछिको थकान तथा बिर्सने अवस्था, बुढ्यौली, नशालु पदार्थको प्रयोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्याले मानिसले चुलोमा खाना राखेको बिर्सिन सक्ने उनले बताएका छन्।

ओस्लोमा सामान्य अवस्थामा पनि औसतमा दैनिक एउटा चुलोमा खाना डढेको घटनामा दमकल जानुपर्ने गरेको छ।

वास्तविक आपत्‌कालमा ढिलाइ हुन सक्छ

दालेनका अनुसार रोक्न सकिने यस्ता घटनामा दमकल र कर्मचारी खटिँदा अर्को स्थानमा भएको गम्भीर आगलागी वा वास्तविक आपत्‌कालीन घटनामा पुग्न ढिलाइ हुन सक्छ।

जीवन बचाउन प्रत्येक सेकेन्ड महत्त्वपूर्ण हुने अवस्थामा पहिले नै अर्को घटनामा खटिएको टोलीलाई फर्काउन वा अन्यत्रबाट कर्मचारी पठाउनुपर्दा जोखिम बढ्न सक्छ।

अपार्टमेन्ट र धेरै परिवार बस्ने भवनमा बारम्बार यस्तै कारणले आगोको अलार्म बज्दा अर्को समस्या पनि सिर्जना हुन्छ। मानिसहरूले हरेक पटकको अलार्मलाई सामान्य ठान्न थाले साँच्चै आगो लाग्दा पनि भवनबाट निस्कन ढिलाइ गर्न सक्छन्।

यसलाई “ब्वाँसो आयो” भन्ने कथासँग मिल्दोजुल्दो अवस्था भन्दै दालेनले साँच्चिकै आगो लागेको बेला पनि मानिसहरू घरमै बसिरहे उनीहरूलाई बाहिर निकाल्न विशेष दमकल टोली पठाउनुपर्ने बताए।

तीन हजार क्रोनरभन्दा बढीको जरिवाना लाग्नसक्छ

चुलोमा खाना छाडेको घटनामा दमकल बोलाउनुपरेपछि उक्त परिचालन अनावश्यक भएको ठहरिए सम्बन्धित व्यक्तिले ३,००० क्रोनरभन्दा केही बढीको बिल पाउन सक्ने बताइएको छ।

पछिल्ला २२ घटनामध्ये केहीमा यस्तो शुल्क लाग्न सक्ने दालेनले बताएका छन्। तर सबै घटनामा शुल्क लगाइने निश्चित छैन।

कम्फ्युरभाक्त (Komfyrvakt) ले जोखिम घटाउन सक्छ

नयाँ घर तथा चुलोका लागि नयाँ विद्युतीय सर्किट जडान गर्दा कम्फ्युरभाक्त राख्नुपर्ने नियम नर्वेमा सन् २०१० देखि लागू छ। पुरानो भान्सामा यस्तो उपकरण अनिवार्य नभए पनि पछि जडान गर्न सकिन्छ।

कम्फ्युरभाक्तले चुलोमाथिको तापक्रम र सम्भावित खतरा निगरानी गर्छ। जोखिमपूर्ण अवस्था देखिए यसले चेतावनी दिन्छ र कसैले प्रतिक्रिया नदिए चुलोको विद्युत् आपूर्ति बन्द गर्न सक्छ।

नर्वेको नागरिक सुरक्षा तथा आपत्‌कालीन तयारी निर्देशनालय (DSB) का अनुसार चुलो घरमा आगो लाग्ने प्रमुख स्रोत हो र खाना वा भाँडो सुकेर डढ्नु चुलोसँग सम्बन्धित आगलागीको सबैभन्दा सामान्य कारण हो।

दमकल निकायले खाना पकाइरहेको बेला चुलो छाडेर बाहिर नजान र घरबाट निस्कनुअघि चुलो बन्द भए नभएको जाँच गर्न आग्रह गरेको छ।