नर्वे सरकारले कामका कारण लाग्ने रोगको आधिकारिक सूचीलाई आधुनिक बनाउने काम सुरु गरेको छ। अहिले प्रयोग भइरहेको सूची सन् १९६० मा तयार गरिएको र यो आजको कामकाजी जीवनसँग पर्याप्त रूपमा मेल नखाने सरकारले जनाएको छ।

कामका कारण लाग्ने रोगबारे सल्लाह दिने समिति (yrkessykdomsutvalget) ले आफ्नो पहिलो बैठक गरिसकेको छ। यस नयाँ समितिको पहिलो प्रमुख जिम्मेवारी नयाँ रोग सूचीबारे सरकारलाई सुझाव दिनु हो। संशोधित सूची योजनाअनुसार १ जनवरी २०२७ देखि लागू हुनेछ।

श्रम तथा समावेशीकरण मन्त्री शेर्स्ति स्तेन्सेङ (Kjersti Stenseng) का अनुसार, हालको सूची स्वास्थ्य तथा हेरचाह सेवा, र सिफ्ट तथा पालो प्रणालीमा काम गर्ने धेरै मानिस रहेको वर्तमान कामकाजी जीवनका लागि उपयुक्त छैन। कामका कारण बिरामी भएका व्यक्तिहरूले प्रणालीबाट आफ्नो अवस्था पहिचान गराउन वर्षौँ कुर्न नपरोस् भन्ने उद्देश्यले यो परिवर्तन गर्न लागिएको उनले बताएकी छन्।

कामका कारण लागेको रोग भन्नाले के बुझिन्छ?

नर्वेमा कामका कारण भएका सबै स्वास्थ्य समस्यालाई स्वतः कामका कारण लागेको आधिकारिक रोग (yrkessykdom) मानिँदैन।

हालको व्यवस्थाअनुसार, कुनै रोगलाई कामका कारण लागेको रोगका रूपमा स्वीकृत गर्न रोगको कारण कार्यस्थलमा भएको हानिकारक प्रभावसँग सम्बन्धित हुनुपर्छ। साथै, उक्त रोग सरकारी नियममा उल्लेख गरिएको सूचीभित्र पनि पर्नुपर्छ।

यो सूची NAV को कामसम्बन्धी चोट तथा रोग सुरक्षा प्रणाली र रोजगारदाताले गरेको कामसम्बन्धी दुर्घटना तथा रोग बीमा दुवैमा प्रयोग हुन्छ। त्यसैले सूचीमा कुन रोग समावेश छ भन्ने कुराले बिरामी कामदारको मुद्दा कसरी मूल्याङ्कन हुन्छ भन्नेमा ठूलो प्रभाव पार्छ।

नयाँ सूचीमा कुन-कुन रोग पर्न सक्छन्?

अन्तिम सूची अहिलेसम्म तय भइसकेको छैन। नयाँ समितिले सन् २०२४ मा सार्वजनिक परामर्शका लागि पेस गरिएको प्रस्तावको समीक्षा गरेर सरकारलाई सुझाव दिनेछ। त्यसपछि श्रम तथा समावेशीकरण मन्त्रालयले अन्तिम सूची निर्धारण गर्नेछ।

सन् २०२४ को प्रस्तावमा केही मानसिक स्वास्थ्यसम्बन्धी रोगलाई समावेश गर्न सकिने आधार रहेको उल्लेख थियो। यसमा गम्भीर वा भयावह घटनापछि देखिने posttraumatisk stresslidelse अर्थात् PTSD तथा युद्धमा सहभागी भएपछि उत्पन्न हुने डिप्रेसनजस्ता अवस्था थिए। साथै, केही मांसपेशी र हड्डी–जोर्नीसम्बन्धी रोगलाई पनि सूचीमा समावेश गर्ने आधार रहेको प्रस्तावमा उल्लेख गरिएको थियो।

तर यी रोग नयाँ सूचीमा निश्चित रूपमा समावेश भइसकेका छैनन्। समितिको सुझाव र मन्त्रालयको अन्तिम निर्णयपछि मात्रै कुन रोग समावेश हुने स्पष्ट हुनेछ।

समितिले केही प्रकारका क्यान्सरलाई सूचीमा छिटो समावेश गर्न सकिने विशेष प्रक्रिया चाहिन्छ वा चाहिँदैन भन्नेबारे पनि सरकारलाई सुझाव दिनेछ। भविष्यमा अग्निनियन्त्रक र चिम्नी सफा गर्ने कामदारमा देखिने क्यान्सर, महिलाको सङ्ख्या बढी भएका पेसामा हुने मांसपेशी तथा हड्डी–जोर्नीका समस्या र सिफ्ट वा पालोमा काम गर्ने व्यक्तिमा देखिने स्वास्थ्य समस्याबारे अध्ययन गर्न सकिने सरकारले जनाएको छ।

सूचीमा नभएका रोगका लागि पनि नयाँ बाटो

प्रस्तावित परिवर्तनको एउटा महत्त्वपूर्ण भाग कडा सर्त पूरा भएको अवस्थामा सूचीमा उल्लेख नभएका रोगलाई पनि कामसम्बन्धी रोग वा चोटसरह मान्ने सम्भावना खोल्नु हो। यसलाई sikkerhetsventil भनिन्छ।

हाल सामान्यतः रोग सरकारी सूचीमा परेको हुनुपर्ने भएकाले, कामका कारण रोग लागेको चिकित्सा आधार भए पनि सूचीबाहिरका रोग स्वीकृत हुन कठिन हुने गर्छ। नयाँ सुरक्षा व्यवस्थाले यस्ता केही मुद्दालाई व्यक्तिगत रूपमा मूल्याङ्कन गर्ने बाटो दिन सक्नेछ। यस्तो व्यवस्था पनि योजनाअनुसार १ जनवरी २०२७ देखि लागू गर्ने लक्ष्य राखिएको छ।

यद्यपि, सूचीमा नभएको हरेक रोग स्वतः स्वीकृत हुन्छ भन्ने यसको अर्थ होइन। रोग र काममा भएको हानिकारक प्रभावबीचको सम्बन्ध प्रमाणित गर्नुपर्ने हुन्छ र अन्तिम नियममा राखिने सर्त पूरा गरेको हुनुपर्छ।

रोग स्वीकृत भए के अधिकार पाइन्छ?

कामका कारण लागेको रोग वा चोट NAV बाट स्वीकृत भए उपचारसम्बन्धी केही खर्चमा विशेष अधिकार प्राप्त हुन सक्छ। यसमा चिकित्सक, दन्त उपचार, शारीरिक उपचार, औषधि तथा आवश्यक चिकित्सा उपकरणको खर्च समावेश हुन सक्छ। सार्वजनिक प्रणालीअन्तर्गतका उपचारमा यस्तो सहायता हेल्फो (Helfo) मार्फत प्रदान गरिन्छ।

स्वीकृत रोगका कारण स्थायी र उल्लेखनीय शारीरिक वा मानसिक असर परेको अवस्थामा स्थायी स्वास्थ्य क्षतिका लागि दिइने क्षतिपूर्ति (ménerstatning) माग गर्न सकिन्छ। NAV बाट यस्तो क्षतिपूर्ति पाउन सामान्यतः स्थायी चिकित्सा अशक्तताको स्तर कम्तीमा १५ प्रतिशत हुनुपर्छ।

यसका साथै, रोजगारदाताले आफ्ना कर्मचारीका लागि कामसम्बन्धी चोट तथा रोगको बीमा गर्नुपर्ने नियम छ। रोजगारदाताको बीमा कम्पनीबाट प्राप्त हुन सक्ने क्षतिपूर्ति नाभ NAV को सामाजिक सुरक्षा व्यवस्थाबाट पाइने अधिकारभन्दा अलग हुन सक्छ।

रोजगारदाताले सूचना नदिए कामदार आफैँले दिन सक्छन्

कामका कारण लागेको रोगबारे NAV लाई सूचना दिने मुख्य जिम्मेवारी रोजगारदाताको हुन्छ। कामदारले रोगको कारण कामसँग सम्बन्धित भएको थाहा पाएको मितिदेखि सामान्यतः एक वर्षभित्र सूचना दिनुपर्ने नियम छ।

रोजगारदाता बन्द भएको, टाँट पल्टेको वा अन्य कारणले सूचना नदिएको अवस्थामा बिरामी व्यक्ति स्वयंले NAV लाई सूचना दिन सक्छन्। रोग र काममा भएको हानिकारक प्रभावसम्बन्धी चिकित्सा कागजात तथा अन्य प्रमाण यस प्रक्रियामा महत्त्वपूर्ण हुन्छन्।

यदि चिकित्सकलाई बिरामीको रोग कामको अवस्थाका कारण लागेको शङ्का भएमा चिकित्सकले त्यसबारे Arbeidstilsynet लाई जानकारी दिनुपर्ने नियम पनि छ। आवश्यक परे बिरामीलाई कामसम्बन्धी रोगको विशेषज्ञ विभागमा थप परीक्षणका लागि पठाउन सकिन्छ।

भविष्यमा सूची नियमित रूपमा समीक्षा गरिने

नयाँ सूची तयार गर्नु मात्र यस परिवर्तनको उद्देश्य होइन। सूची लागू भएपछि समितिले कुन रोग थप्नुपर्छ वा हटाउनुपर्छ भनेर नियमित रूपमा मूल्याङ्कन गर्नेछ।

समितिमा कामदार र रोजगारदाता पक्षका प्रतिनिधि, कामसम्बन्धी स्वास्थ्यका विशेषज्ञ तथा सम्बन्धित संस्थाका प्रतिनिधि सहभागी छन्।

सरकारका अनुसार कामको प्रकृति र प्रविधि परिवर्तन हुँदा नयाँ स्वास्थ्य जोखिमहरू देखिन सक्छन्। नियमित समीक्षा गर्ने व्यवस्थाले नयाँ ज्ञान र अनुसन्धानका आधारमा रोग सूचीलाई समयअनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

थप