नर्वेका प्रमुख सञ्चारमाध्यमहरूले फेसबुक र इन्स्टाग्राम सञ्चालन गर्ने कम्पनी मेटा (Meta) विरुद्ध अदालतको ढोका ढकढक्याएका छन्। विवादको केन्द्रमा मेटाले ल्याउन लागेको नयाँ प्रयोग सर्त र त्यसअन्तर्गत समाचार संस्था तथा अन्य व्यावसायिक खाताबाट प्रकाशित सामग्री कसरी प्रयोग गर्न पाउने भन्ने विषय छ।

एनएर्को (NRK) को समाचार अनुसार एनएर्को (NRK), तेभेतो (TV 2), शिब्स्तेद (Schibsted), आमेदिया (Amedia), पोलारिस (Polaris), आल्लर (Aller), देएन (DN), मेन्तोर मेदिएर (Mentor Medier), एनतेबे (NTB) र होर्दालान फोल्केब्ला (Hordaland Folkeblad) ले नयाँ सर्त तत्काल लागू हुन नदिन ओस्लो अदालत (Oslo tingrett) सँग माग गरेका छन्।

समाचार, फोटो र भिडियो प्रयोग गर्न पाउने विषयमा विवाद

मेटाले नोभेम्बर २० देखि व्यावसायिक खाता प्रयोग गर्नेहरूका लागि नयाँ सर्त लागू गर्ने तयारी गरेको छ। तर नर्वेको मिडिया व्यवसायहरूको राष्ट्रिय महासंघ (Mediebedriftenes Landsforening) का सदस्यहरूले ती सर्तले मेटालाई सम्पादकीय सञ्चारमाध्यमले प्रकाशित गरेका लेख, फोटो र भिडियो संकलन तथा प्रयोग गर्ने निकै व्यापक अधिकार दिने बताएका छन्।

उनीहरूको चिन्ता फेसबुक वा इन्स्टाग्राममा राखिएको सामग्रीमा मात्र सीमित छैन। MBL का अनुसार नयाँ सर्तले सञ्चारमाध्यमका आफ्नै वेबसाइटमा प्रकाशित सामग्री र पैसा तिरेर मात्र पढ्न पाइने समाचारसमेत समेट्न सक्छ।

विशेष गरी आफ्ना समाचार, फोटो र भिडियो मेटाले कृत्रिम बुद्धिमत्ता (AI) को तालिमका लागि प्रयोग गर्न सक्ने सम्भावनाप्रति सञ्चारमाध्यमहरूले आपत्ति जनाएका छन्। उनीहरूले आफ्नो स्वीकृतिबिना सामग्री प्रयोग वा वितरण गर्न पनि नहुने बताएका छन्। यसै कारण अदालतले नयाँ सर्त नर्वेली कानुनअनुसार वैध छन् कि छैनन् भनेर निर्णय नगरेसम्म तिनलाई लागू गर्न रोक्न सञ्चारमाध्यमहरूले माग गरेका हुन्।

फेसबुक र इन्स्टाग्राम छाड्न किन सजिलो छैन?

नयाँ सर्त स्वीकार नगर्ने हो भने सञ्चारमाध्यमले फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न छाड्न सक्दैनन् र भन्ने प्रश्न पनि उठेको छ।

NRK का कानुनी निर्देशक ओलाभ न्युहुस (Olav Nyhus) का अनुसार कुरा त्यति सरल छैन। सञ्चारमाध्यमका लागि जनतासम्म समाचार र सूचना पुर्‍याउन यी प्लेटफर्म निकै महत्त्वपूर्ण बनिसकेका छन्। उनले NRK को जिम्मेवारी मानिसहरूसम्म पुग्नु पनि भएकाले यस्ता प्लेटफर्मप्रतिको निर्भरता बढेको बताएका छन्।

MBL ले पनि सामाजिक सञ्जाल नर्वेली जनताले समाचार र सूचना प्राप्त गर्ने महत्त्वपूर्ण माध्यम बनेको जनाएको छ। तर केही सञ्चारमाध्यमले फरक बाटो रोजेका छन्। Røros को स्थानीय पत्रिका फ्येल-योम (Fjell-Ljom) ले जनवरी १, २०२७ देखि मेटासँगको सम्बन्ध अन्त्य गर्ने र आफ्नो आधिकारिक फेसबुक पेज स्थायी रूपमा हटाउने निर्णय गरेको छ।

नर्वेबाटै पहिलो कानुनी चुनौती

NRK र MBL का अनुसार उनीहरूलाई थाहा भएसम्म मेटाका नयाँ सर्तलाई यसरी अदालतमा चुनौती दिने नर्वे पहिलो देश हो। MBL ले मेटाको व्यवहार र सर्त प्रतिस्पर्धासम्बन्धी कानुनविपरीत रहेको दाबी गरेको छ। अन्य देशका प्रकाशकहरूले पनि नयाँ सर्तले आफ्ना सामग्री एआई सेवामा प्रयोग गर्न मेटालाई अत्यधिक अधिकार दिन सक्ने भन्दै आपत्ति जनाएको NRK ले उल्लेख गरेको छ।

मेटाले भने सञ्चारमाध्यमहरूको दाबी अस्वीकार गरेको छ। कम्पनीले यसअघि नयाँ सर्त लागू गर्ने मिति नोभेम्बर २० सम्म सारेको र परिवर्तनबारे थप स्पष्ट पार्न समय लिएको बताएको थियो।

मुद्दाबारे प्रतिक्रिया लिन NRK ले मेटालाई सम्पर्क गरे पनि समाचार प्रकाशित हुँदासम्म कम्पनीबाट जवाफ आएको थिएन।