नर्वे सरकारले आप्रवासीहरूलाई नर्वेजियन भाषा सिक्न, रोजगारी तथा शिक्षामा प्रवेश गर्न र आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुर्याउने उद्देश्यले विभिन्न कार्यक्रमका लागि थप ९ करोड ६० लाख क्रोनर छुट्याउने प्रस्ताव गरेको छ।
यो रकम सरकारले हालै संसद (Stortinget) मा प्रस्तुत गरेको सन् २०२७ को राज्य बजेट प्रस्तावमा समावेश गरिएको छ।
सरकारका अनुसार, आम नागरिकको तुलनामा आप्रवासीहरूको रोजगारी दर अझै पनि कम छ। रोजगारीमा प्रवेश गर्नका लागि राम्रो नर्वेजियन भाषाको ज्ञान र आवश्यक योग्यता निकै महत्त्वपूर्ण हुने भन्दै सरकारले भाषा प्रशिक्षणदेखि महिलालाई रोजगारीमा ल्याउने कार्यक्रमसम्ममा थप लगानी बढाउन लागेको हो।
श्रम तथा समावेशीकरण मन्त्री श्येस्ती स्टेन्सेङ (Kjersti Stenseng) का अनुसार नर्वेजियन भाषाको कमजोर ज्ञान नै रोजगारीमा प्रवेश गर्ने प्रमुख अवरोधमध्ये एक हो। सरकारले आवश्यक सहयोग उपलब्ध गराउनुका साथै नर्वे आउने व्यक्तिहरूबाट भाषा सिक्ने, काममा जाने र समाजको अभिन्न हिस्सा बन्ने अपेक्षा राखेको उनले बताएकी छन्।
नर्वेजियन भाषा सिकाउन थप १ करोड ७७ लाख क्रोनर
सरकारले नर्वेजियन भाषा प्रशिक्षण योजना (Norskopplæringsordningen) मा थप १ करोड ७७ लाख क्रोनर खर्च गर्ने प्रस्ताव गरेको छ। यो योजना स्थानीय कोमुने (Kommune) मार्फत उपलब्ध हुने नियमित नर्वेजियन भाषा प्रशिक्षणभन्दा अतिरिक्त व्यवस्था हो। यस थप रकमबाट कोमुने र अन्य स्वीकृत भाषा प्रशिक्षण प्रदायकहरूले आवश्यकता अनुसार बढी लक्षित र लचिलो प्रशिक्षण दिन सक्ने सरकारको भनाइ छ।
त्यसैगरी, आप्रवासीहरूका लागि लिइने मौखिक नर्वेजियन भाषा परीक्षाको मूल्याङ्कनका लागि नयाँ व्यवस्था बनाउन २५ लाख क्रोनर छुट्याउने प्रस्ताव गरिएको छ। यस्ता भाषा परीक्षाको नतिजा स्थायी बसोबास अनुमति र नर्वेजियन नागरिकता प्राप्त गर्ने प्रक्रियामा अनिवार्य हुन्छ।
घरमै रहेका आप्रवासी महिलालाई काम वा शिक्षामा ल्याउन ३ करोड
प्रस्तावित बजेटको सबैभन्दा ठूलो हिस्सा अर्थात् ३ करोड क्रोनर योब्सयान्सेन (Jobbsjansen) कार्यक्रमका लागि छुट्याइएको छ। यो कार्यक्रम विशेष गरी घरमै रहेका आप्रवासी महिलाहरूलाई आवश्यक योग्यता हासिल गर्न र काम वा शिक्षामा प्रवेश गर्न मद्दत गर्ने उद्देश्यले सञ्चालित छ।
यस वृद्धिपछि सन् २०२७ मा यस कार्यक्रममार्फत १,३०० भन्दा बढी सहभागीहरूले अवसर पाउने सरकारको अनुमान छ। परिवारको न्यून आय बढाउन मात्र नभई महिलालाई आर्थिक स्वतन्त्रता, सामाजिक सञ्जाल र आत्मनिर्भरता हासिल गर्न रोजगारी अत्यन्तै महत्त्वपूर्ण रहेको सरकारले जनाएको छ।
परिवार पुनर्मिलनबाट आएका महिलाका लागि नयाँ प्रयोगात्मक कार्यक्रम
सरकारले परिवार पुनर्मिलन (Familieinnvandring) मार्फत नर्वे आएका महिलाहरूलाई लक्षित गरी परिचयात्मक कार्यक्रम (Introduksjonsprogram) को नयाँ प्रयोगात्मक व्यवस्था सुरु गर्न ८८ लाख क्रोनर प्रस्ताव गरेको छ।
यद्यपि, यो परिवार पुनर्मिलनबाट आएका सबै महिलाले स्वतः पाउने नयाँ अधिकार भने होइन; यो केवल परीक्षणका रूपमा सञ्चालन गर्न लागिएको योजना हो।
९ करोड ६० लाख क्रोनरको बाँडफाँड:
सरकारले प्रस्ताव गरेको थप रकमको विवरण यस प्रकार छ:
- ३ करोड क्रोनर: Jobbsjansen कार्यक्रमका लागि।
- १ करोड ७७ लाख क्रोनर: नर्वेजियन भाषा प्रशिक्षण योजनाका लागि।
- ८८ लाख क्रोनर: परिवार पुनर्मिलनबाट आएका महिलाका लागि परिचयात्मक कार्यक्रमको प्रयोगात्मक व्यवस्था गर्न।
- २५ लाख क्रोनर: मौखिक नर्वेजियन भाषा परीक्षाको नयाँ मूल्याङ्कन व्यवस्थाका लागि।
- ५० लाख क्रोनर: सरकारी निकायहरूमा विविधता बढाउन एकीकरण तथा विविधता निर्देशनालय IMDi को कामका लागि।
- ३ करोड २० लाख क्रोनर: युक्रेनबाट विस्थापित व्यक्तिहरूसँग सम्बन्धित काम व्यवस्थापन गर्न इम्दीलाई दिइँदै आएको अतिरिक्त बजेटलाई निरन्तरता दिन।
अन्तिम निर्णय हुन बाँकी
यो रकम खर्च हुने पूर्ण निश्चित भइसकेको छैन। सरकारले ७ अक्टोबर २०२६ मा सन् २०२७ को राज्य बजेट प्रस्ताव संसदमा प्रस्तुत मात्र गरेको हो। अब संसदमा बजेटमाथि विस्तृत छलफल र आवश्यक प्रक्रिया पूरा भएपछि मात्र अन्तिम बजेट पारित हुनेछ।
स्रोत
