नर्वेको परम्परागत ब्रुनोस्त अब पहिलोपटक चीनतर्फ पठाइने भएको छ। चीन निर्यातका लागि तयार गरिएको पहिलो खेप शुक्रबार, २३ अक्टोबरमा भेस्तलान (Vestland) को ग्लोप्पेन (Gloppen) स्थित Tine Byrkjelo डेरीमा उत्पादन गरिएको हो। चीनले नर्वेका दुग्ध उत्पादनलाई आफ्नो बजारमा प्रवेश गर्न स्वीकृति दिएपछि Tine ले यो पहिलो खेप तयार पारेको हो, जसले गर्दा नर्वेमा उत्पादन भएको ब्रुनोस्त अब चिनियाँ उपभोक्ताले पनि त्यहाँका पसलमा किन्न पाउने बाटो खुलेको छ।

यस पहिलो खेपमा नर्वेमा निकै परिचित गुदब्रान्सदाल् ओस्त (Gudbrandsdalsost) पठाइँदैछ भने चिनियाँ बजारका लागि यसको प्याकेटमा ब्रुनोस्तलाई अङ्ग्रेजीमा Smooth Caramel Cheese भनेर प्रस्तुत गरिएको छ।

एसियामा फरक तरिकाले प्रयोग हुन्छ ब्रुनोस्त

नर्वेमा ब्रुनोस्त सामान्यतया पाउरोटी वा वाफलमा राखेर खाइने भए पनि एसियाका केही देशमा यसलाई पिज्जा, कफी तथा नुडल्समाथिको टपिङका रूपमा समेत फरक तरिकाले प्रयोग गरिएको टिने र नर्वेको कृषि तथा खाद्य मन्त्रालयले जनाएका छन्।

ब्रुनोस्त चिनियाँ बजारका लागि पूर्ण रूपमा नयाँ उत्पादन भए तापनि चिनियाँ उपभोक्ताले यसको स्वाद मन पराउने विश्वास व्यक्त गरिएको छ।

लामो प्रयासपछि खुलेको बजार

नर्वे र चीनबीच सन् २०२५ मा भएको सम्झौताले नर्वेली दुग्ध उत्पादन चीन निर्यात गर्ने बाटो खोलेको थियो। त्यसैअनुरूप आवश्यक औपचारिक स्वीकृति पूरा गरेर अहिले पहिलो ब्रुनोस्तको खेप पठाउन लागिएको हो। पहिलो खेप उत्पादन गरिएको अवसरमा चीनका नर्वेस्थित राजदूत र नर्वेको कृषि तथा खाद्य मन्त्रालयकी राज्यमन्त्रीपनि बुर्क्येलो डेरीमा उपस्थित थिए। यसै सन्दर्भमा, 'टिने इन्टरनेसनल' (Tine International) का निर्देशक एरिक स्मिथ-हान्सेन (Erik Smith-Hansen) ले यसलाई कम्पनी र नर्वेको सिङ्गो दुग्ध उद्योगका लागि ऐतिहासिक उपलब्धि भनेका छन्।

उनका अनुसार चीनमा बजार खुल्नुले नर्वेको खाद्य निर्यातका लागि नयाँ अवसर सिर्जना गर्नुका साथै ब्रुनोस्तलाई अझ धेरै उपभोक्तासम्म पुर्‍याउन ठूलो सहयोग गर्नेछ।

नर्वेली किसानका लागि पनि महत्त्वपूर्ण

सन् २०२४ मा टिनेले करिब ७५० टन ब्रुनोस्त विदेश निर्यात गरेको थियो, जुन नर्वेको कुल ब्रुनोस्त उत्पादनको लगभग ११ प्रतिशत हुन आउँछ। त्यसबेला स्विडेन, डेनमार्क, फिनल्यान्ड, अमेरिका र दक्षिण कोरिया यसका प्रमुख निर्यात बजार थिए।

ब्रुनोस्तको उत्पादन नर्वेको बाख्राको दूध उत्पादनसँग प्रत्यक्ष रूपमा जोडिएको छ। कृषि तथा खाद्य मन्त्रालयका अनुसार यसले देशभरिका बाख्रापालक किसानको आम्दानीको मुख्य आधार जोगाउन र परम्परागत खेती तथा सांस्कृतिक भू-दृश्य कायम राख्न अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्छ।

यसैगरी, बुर्क्येलो डेरीका प्रमुख योन राइदार क्रोके (Jon Reidar Krøke) ले चिनियाँ बजारमा ब्रुनोस्त सफल भएमा अहिलेका रोजगारी सुरक्षित गर्न वा भविष्यमा थप रोजगारी सिर्जना गर्न प्रत्यक्ष सहयोग पुग्न सक्ने बताएका छन्।

यद्यपि, चीनबाट कति माग आउँछ भन्ने अझै स्पष्ट नभएकाले यसको वास्तविक प्रभाव देखिन केही समय लाग्ने टिनेले जनाएको छ।

हाल टिनेको बुर्क्येलो डेरीका साथै हाइमदाल (Heimdal) र क्लेप्प (Klepp) मा रहेका प्याकिङ केन्द्रले चीनमा दुग्ध उत्पादन निर्यात गर्नका लागि औपचारिक स्वीकृति पाएका छन्।