नर्वेमा जागिरको प्रस्ताव (Job offer) पाउँदैमा कामका लागि बसोबास अनुमति (Work residence permit) पाइन्छ भन्ने निश्चित हुँदैन।
आवेदकको शैक्षिक वा व्यावसायिक योग्यता, गर्न लागेको काम र योग्यताबीचको तालमेल, प्रस्तावित तलब तथा कामका सर्तहरू र पेस गरिएका कागजातहरूले आवेदन स्वीकृत वा अस्वीकृत हुने कुरामा महत्त्वपूर्ण भूमिका खेल्छन्।
हालै सार्वजनिक भएको एक विवरणअनुसार नर्वेको अध्यागमन निर्देशनालय (UDI) ले कामका लागि बसोबास अनुमति अस्वीकृत हुनुका मुख्य कारणबारे जानकारी गराएको छ। UDI का अनुसार, तोकिएका आवश्यक सर्तहरू पूरा नहुनु नै यस्ता आवेदनहरू अस्वीकृत हुनुको प्रमुख कारण हो।
यो विषय विशेषगरी नेपाललगायत EU/EEA बाहिरका देशहरूबाट नर्वेमा काम गर्न आउने सोचमा रहेका व्यक्तिहरूका लागि निकै महत्त्वपूर्ण छ। दक्ष कामदार (Skilled worker) का रूपमा आवेदन दिँदा सामान्यतया पहिल्यै जागिरको प्रस्ताव आवश्यक हुन्छ, तर जागिर पाउनु मात्रै पर्याप्त हुँदैन।
जागिर पाएर मात्रै पुग्दैन
UDI का अनुसार, दक्ष कामदारका रूपमा बसोबास अनुमति लिन आवेदकसँग आवश्यक शिक्षा, व्यावसायिक तालिम वा विशेष योग्यता हुनुपर्छ।
यसका लागि कम्तीमा तीन वर्षको सम्बन्धित व्यावसायिक शिक्षा, विश्वविद्यालय वा कलेजबाट पूरा गरेको उच्च शिक्षा, अथवा लामो कार्यअनुभवबाट हासिल गरेको विशेष योग्यता मुख्य आधार बन्न सक्छ।
कार्यअनुभवबाट मात्रै विशेष योग्यता प्रमाणित गर्न खोज्दा सामान्यतया कम्तीमा ६ वर्षको अनुभव आवश्यक पर्छ र अघिल्ला रोजगारदाताहरूबाट विस्तृत प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ।
यस्तो आधारमा अनुमति पाउन उच्च मापदण्ड पूरा गर्नुपर्ने र यस प्रक्रियामा धेरै आवेदनहरू अस्वीकृत हुने UDI ले स्पष्ट पारेको छ।
आफ्नो योग्यता र गर्न लागेको काम पनि मिल्नुपर्छ
आवेदकसँग स्नातक (Bachelor's) वा स्नातकोत्तर (Master's) डिग्री हुनु मात्रै पर्याप्त हुँदैन। नर्वेमा प्रस्ताव गरिएको पद आफैंमा दक्ष कामदार स्तरको योग्यता आवश्यक पर्ने काम हुनुपर्छ र आवेदकसँग उक्त काम गर्नका लागि आवश्यक योग्यता हुनुपर्छ।
उदाहरणका लागि, उच्च शिक्षा हासिल गरेको व्यक्तिले त्यस्तो शिक्षा वा दक्ष कामदार स्तरको योग्यता आवश्यक नपर्ने कामको प्रस्ताव पाएको छ भने, डिग्री भएको आधारमा मात्रै दक्ष कामदारको सर्त पूरा हुँदैन।
त्यसैले, आवेदनको मूल्याङ्कन गर्दा “तपाईंसँग कस्तो डिग्री छ?” मात्रै होइन, “जुन जागिरका लागि अनुमति मागिएको छ, त्यसमा त्यो योग्यता आवश्यक छ कि छैन?” भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
तलब कम भएमा आवेदनमा समस्या आउन सक्छ
योग्यता र जागिर मिलेर मात्रै पनि अनुमति पाइँदैन। कामका लागि बसोबास अनुमति पाउन प्रस्ताव गरिएको तलब र कामका सर्तहरू नर्वेमा सामान्य मानिने स्तरभन्दा कम हुनु हुँदैन।
UDI का अनुसार, सामूहिक तलब सम्झौता (Tariffavtale) लागू हुने क्षेत्रमा काम गर्ने हो भने कम्तीमा सम्बन्धित सम्झौता (Tariff) अनुसारको तलब हुनुपर्छ। यस्तो सम्झौता नभएको क्षेत्रमा भने सोही पेसा र काम गर्ने स्थानमा सामान्य मानिने तलबभन्दा प्रस्तावित तलब कम हुनु हुँदैन।
उच्च शिक्षा आवश्यक पर्ने पदका लागि UDI ले सन् २०२६ का लागि स्पष्ट तलब मापदण्ड तोकेको छ:
- स्नातकोत्तर (Master's degree) आवश्यक पर्ने पदमा: कर काट्नुअघि वार्षिक कम्तीमा ६ लाख २४ हजार ७०० क्रोनर।
- स्नातक (Bachelor's degree) आवश्यक पर्ने पदमा: कर काट्नुअघि वार्षिक कम्तीमा ५ लाख ४५ हजार ४०० क्रोनर।
मासिक औसतमा हेर्दा यो रकम मास्टर डिग्री आवश्यक पर्ने पदका लागि कर काट्नुअघि करिब ५२,०५८ क्रोनर र ब्याचलर डिग्री आवश्यक पर्ने पदका लागि करिब ४५,४५० क्रोनर पर्न आउँछ।
तर, यी रकमहरू नर्वेमा सबै कामका लागि तोकिएको सामान्य न्यूनतम तलब भने होइनन्। यी मापदण्डहरू सम्बन्धित पदमा स्नातक वा स्नातकोत्तर स्तरको उच्च शिक्षा आवश्यक पर्ने अवस्थामा मात्र लागू हुन्छन्।
अन्य प्रकारका दक्ष कामदार पदहरूमा तलबको मूल्याङ्कन पेसा, लागू हुने ट्यारिफ (Tariff) र सामान्य तलब स्तरका आधारमा गरिन्छ।
UDI ले केही विशेष अवस्थामा तोकिएको रकमभन्दा कम तलब पनि स्वीकार गर्न सकिने जनाएको छ, तर त्यसका लागि उक्त तलब सम्बन्धित पेसा र स्थानका लागि सामान्य भएको बलियो प्रमाण पेस गर्नुपर्छ। यस्तो अपवाद प्रमाणित गर्न उच्च मापदण्ड रहेको UDI ले जनाएको छ।
कार्यअनुभव मात्रै देखाएर आवेदन गर्दा प्रमाण महत्त्वपूर्ण
औपचारिक व्यावसायिक शिक्षा नभए पनि लामो अनुभवबाट प्राप्त विशेष योग्यता देखाएर केही अवस्थामा दक्ष कामदारका रूपमा आवेदन दिन सकिन्छ।
तर, “मैले धेरै वर्ष यो काम गरेको छु” भनेर मात्रै पुग्दैन। अघिल्ला रोजगारदाताबाट प्राप्त विस्तृत प्रमाणपत्रमा आवेदकले के काम गरेको थियो र कस्तो दक्षता हासिल गरेको थियो भन्ने कुरा प्रस्ट रूपमा देखिनुपर्ने UDI को नियममा उल्लेख छ। यसका लागि सामान्यतया कम्तीमा ६ वर्षको कार्यअनुभव आवश्यक पर्ने बताइएको छ।
गलत वा विश्वास गर्न नसकिने कागजातले समस्या निम्त्याउन सक्छ
UDI ले केही देशहरूबाट आएका आवेदनहरूमा पेस गरिएका कागजातहरू नक्कली भएको वा गलत जानकारी समावेश भएको घटनाहरू अनुभव गरेको जनाएको छ।
यसको प्रभाव वास्तविक योग्यता भएका आवेदकहरूमा समेत पर्न सक्छ, किनकि अधिकारीहरूले शिक्षा, कार्यअनुभव तथा अन्य कागजातहरू विश्वसनीय छन् कि छैनन् भनेर कडा मूल्याङ्कन गर्नुपर्ने हुन्छ।
विशेषगरी रेस्टुरेन्ट, मोटर वाहन र निर्माण क्षेत्रमा व्यावसायिक स्तरको दक्ष कामदारका रूपमा अनुमति लिन केही अवस्थामा कठिन हुन सक्ने UDI ले आफ्नो आधिकारिक जानकारीमै उल्लेख गरेको छ।
नक्कली जागिरको प्रस्ताव रोक्न रोजगारदाताबाटै पुष्टि आवश्यक
नर्वेले नक्कली जागिरको प्रस्ताव प्रयोग गरेर बसोबास अनुमति लिने प्रयासलाई रोक्न प्रक्रियामा थप कडाइ गरेको छ। विदेशबाट कामका लागि बसोबास अनुमति आवेदन गर्दा धेरै अवस्थामा नर्वेमा रहेको रोजगारदाता वा काम दिने पक्षले जागिरको प्रस्ताव (Job offer) वा कार्यभार (Assignment) वास्तविक भएको पुष्टि गर्नुपर्छ।
UDI का अनुसार नक्कली जागिरका प्रस्तावहरूलाई निरुत्साहित गर्न यो व्यवस्था ल्याइएको हो।
यसकारण एजेन्ट वा अन्य व्यक्तिमार्फत नर्वेको जागिरको प्रस्ताव प्राप्त गर्ने व्यक्तिले विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ। आवेदनमा पेस गरिने जागिरको प्रस्ताव वास्तविक हुनुका साथै रोजगारदाता, पद, तलब र कामका सर्तहरू पनि UDI का आवश्यकताअनुसार हुनुपर्छ।
आवेदन दिनुअघि के जाँच्ने?
दक्ष कामदारका रूपमा नर्वे आउने योजनामा हुनुहुन्छ भने, आवेदन दिनुअघि मुख्यतः यी कुराहरू जाँच्नु उपयोगी हुन्छ:
- नर्वेमा वास्तविक र ठोस जागिरको प्रस्ताव छ कि छैन।
- प्रस्ताव गरिएको काम दक्ष कामदार स्तरको योग्यता आवश्यक पर्ने हो कि होइन।
- आफ्नो शिक्षा वा व्यावसायिक योग्यता उक्त कामसँग मेल खान्छ कि खाँदैन।
- प्रस्ताव गरिएको तलब र कामका सर्तहरू UDI को मापदण्डअनुसार छन् कि छैनन्।
- शिक्षा र कार्यअनुभवसम्बन्धी कागजातहरू पूर्ण र प्रमाणित गर्न सकिने खालका छन् कि छैनन्।
- आवश्यक अवस्थामा रोजगारदाताले जागिरको प्रस्ताव पुष्टि गरेको छ कि छैन।
नर्वेमा काम गर्न आउन चाहनेहरूका लागि मुख्य कुरा जागिर खोज्नु मात्रै होइन; जागिर, आफ्नो योग्यता, तलब र आवश्यक कागजात—यी चारै पक्ष UDI का सर्तअनुसार मिल्नु महत्त्वपूर्ण हुन्छ।
थप जानकारी
