बिहीबार (अक्टोबर ८) मा Telenor को मोबाइल नेटवर्कमा आएको प्राविधिक समस्याका कारण देशभरको रेल सेवा केही समयका लागि प्रभावित भएको थियो।
मोबाइलबाट गरिने फोन सम्पर्कहरू अवरुद्ध भएपछि यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न Bane NOR ले सञ्चालनमा रहेका सबै रेललाई नजिकैको स्टेसनमा रोक्ने निर्णय गरेको थियो।
Telenor का अनुसार यो समस्या दिउँसो ३:१५ बजेबाट सुरु भएको थियो। यसले गर्दा Telenor का आफ्नै ग्राहकहरूबीच मात्र नभई अन्य दूरसञ्चार कम्पनीका नेटवर्कमा गरिएका कलहरूसमेत सम्पर्क हुन सकेका थिएनन्।
रेल सञ्चालनको जिम्मा पाएको Bane NOR को आफ्नै आन्तरिक सञ्चार प्रणाली भने सामान्य रूपमै चलिरहेको थियो, जसले गर्दा ट्राफिक नियन्त्रक र रेल चालकहरूबीचको सम्पर्क टुटेको थिएन।
तर, आम मोबाइल नेटवर्कमा आएको समस्याका कारण आपत्कालीन सेवा, प्रहरी र सर्वसाधारणले रेलमार्गमा हुन सक्ने सम्भावित खतरा वा घटनाबारे समयमै जानकारी दिन नसक्ने उच्च जोखिम देखियो। यही सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सम्पूर्ण रेल सेवा रोक्नुपरेको Bane NOR ले स्पष्ट पारेको छ।
सेवा पुनः सञ्चालन समस्या उत्पन्न हुँदा गुडिरहेका सबै रेललाई कम गतिमा नजिकैको स्टेसनसम्म पुर्याएर सुरक्षित रूपमा रोकिएको थियो।
पछि Telenor ले साँझ ५:२५ बजेदेखि मोबाइल नेटवर्कको फोन सेवा सामान्य अवस्थामा फर्किएको जानकारी गराएपछि बिहीबार साँझबाटै रेल सेवा पुनः सञ्चालनमा आएको थियो।
Telenor ले नेटवर्कमा आएको यो अवरोधको मुख्य कारण पत्ता लगाउने अनुसन्धान जारी रहेको र यसका लागि अझै केही समय लाग्न सक्ने बताएको छ।
हाल मोबाइल नेटवर्क र रेल सेवा दुवै सामान्य अवस्थामा फर्किसकेका छन्। यद्यपि, यस घटनाले मोबाइल सञ्चार प्रणालीमा आउने एउटा प्राविधिक गडबडीले देशको समग्र यातायात सञ्जाल र आपत्कालीन सुरक्षा तयारीमा कति गम्भीर प्रभाव पार्न सक्छ भन्ने प्रस्ट पारेको छ।
