नर्वेमा जारी रेल चालकहरूको हडताल विस्तार भएपछि पूर्वी नर्वेका यात्रुहरू थप प्रभावित भएका छन्। रेल चालकहरूको संगठन 'Norsk Lokomotivførerforbund' ले ५ अक्टोबरदेखि हडताल थप विस्तार गरेको हो। Vy का अनुसार Kongsvinger क्षेत्रका धेरै चालकहरू हडतालमा सहभागी भएकाले त्यहाँको रेल सेवा विशेष रूपमा प्रभावित भएको छ।
आज (मंगलबार, ६ अक्टोबर) Asker–Kongsvinger रुटमा चल्ने R14 का सबै ४२ प्रस्थानहरू रद्द भएका छन्। यसैगरी, Drammen–Lillehammer चल्ने RE10 का ३१ प्रस्थान र Oslo S–Ski चल्ने R23 का ३८ प्रस्थान पनि रद्द हुने Vy को तालिकामा उल्लेख छ। अन्य केही रुटहरूमा पनि सेवा प्रभावित भएको छ।
कामको तालिका र पारिश्रमिकसम्बन्धी असहमतिका कारण यो हडताल सुरु भएको हो। रेल चालकहरूको संगठनले चालकहरूले आफ्नो काम गर्ने समय र बिदाको पूर्वानुमान गर्न पाउनुपर्ने तथा समान कामका लागि समान पारिश्रमिक सुनिश्चित हुनुपर्ने माग राखेको छ।
Vy का अनुसार श्रमिक र रोजगारदाता पक्षबीच भएको मध्यस्थतामा सहमति हुन नसकेपछि गत १८ सेप्टेम्बरदेखि हडताल सुरु भएको थियो।
यात्रुहरूलाई यात्रा गर्नुअघि आफ्नो प्रस्थान तालिका जाँच्न सुझाइएको छ। Vy का अनुसार रद्द हुने रेलहरू दिनअनुसार फरक पर्न सक्छन्।
Vy को एप वा यात्रा खोज (Journey Planner) मा आफूले चढ्ने रेल नदेखिएमा उक्त प्रस्थान रद्द भएको बुझ्नुपर्छ।
कम्पनीले हडतालका कारण रद्द भएका रेलहरूको सट्टामा वैकल्पिक यातायात उपलब्ध गराउन नसक्ने जनाएको छ।
