Lånekassen ले यस वर्ष निश्चित ग्रामीण क्षेत्र तथा उत्तरी नर्वेका योजनामार्फत १ अर्ब ३६ करोड क्रोनरभन्दा बढी अध्ययन ऋण मिनाहा गरेको छ। योग्य ऋणीले हरेक वर्ष आवेदन दिनुपर्ने र समयसीमा सम्झनुपर्ने निकायले जनाएको छ।
Lånekassen भनेको के हो?
नर्वेमा उच्च शिक्षा तथा अन्य मान्यता प्राप्त अध्ययनका लागि विद्यार्थीहरूलाई सरकारी छात्रवृत्ति र शैक्षिक ऋण उपलब्ध गराउने आधिकारिक निकायलाई Lånekassen (Statens lånekasse for utdanning) भनिन्छ।
यसै निकायमार्फत नर्वेमा करिब ५० हजार ऋणीले आफ्नो अध्ययन ऋणको केही हिस्सा मिनाहा (gjeldslette) पाएका छन्। Lånekassen ले १५ अक्टोबर २०२६ मा सार्वजनिक गरेको विवरणअनुसार, अक्टोबरको सुरुसम्म विभिन्न क्षेत्रीय योजनामार्फत कुल १ अर्ब ३६ करोड क्रोनरभन्दा बढी ऋण मिनाहा भएको हो।
यी योजनाअन्तर्गत ऋण मिनाहाका लागि करिब ६० हजारले आवेदन दिएका छन्। निश्चित ग्रामीण कोमुनेमा बस्ने व्यक्तिका लागि लागू नयाँ योजनामार्फत १ अर्ब १० करोड क्रोनर र फिनमार्क तथा नोरत्रोम्स (Finnmark og Nord-Troms) समेटिने विशेष क्षेत्रको योजनामार्फत २६ करोड क्रोनर मिनाहा भएको निकायले जनाएको छ।
नयाँ ग्रामीण योजनाअन्तर्गत तोकिएका कोमुनेमा बस्ने र काममा सक्रिय रहेका योग्य व्यक्तिले वर्षमा बढीमा २५ हजार क्रोनर अध्ययन ऋण मिनाहा पाउन सक्छन्। फिनमार्क र नोरत्रोम्सको विशेष क्षेत्रमा बस्ने र काम गर्ने योग्य ऋणीका लागि भने वार्षिक बढीमा ६० हजार क्रोनर सम्म मिनाहा हुने व्यवस्था छ।
दुवै योजनामा योग्य हुने अवधि पूरा गर्न स्वीकृत कोमुनेमा लगातार १२ महिना बसेको हुनुपर्छ। यो नर्वेका सबै ऋणीलाई लागू हुने आम ऋणमाफी होइन। बसोबास, काम र सम्बन्धित योजनाका सर्त पूरा गर्ने व्यक्तिका लागि मात्र उपलब्ध व्यवस्था हो।
कुल मिनाहा रकमका आधारमा भेस्टलान (Vestland) का ऋणी अगाडि छन्। त्यहाँ ३० करोड क्रोनरभन्दा बढी अध्ययन ऋण मिनाहा भएको छ। कोमुनेअनुसार हेर्दा सुन्नफ्योर (Sunnfjord) मा सबैभन्दा बढी अर्थात् पाँच करोड क्रोनर मिनाहा भएको छ। फिनमार्कमा भने करिब २३ करोड क्रोनर ऋण मिनाहा भएको विवरण छ।
हालसम्म ऋण मिनाहा पाएका करिब ५० हजारमध्ये ६८ प्रतिशत व्यक्ति ४० वर्षभन्दा कम उमेरका छन्।
Lånekassen का अनुसार अधिकांश आवेदन स्वचालित रूपमा प्रशोधन हुन्छन्। सम्भव भएसम्म निकायले बसोबास र कामसम्बन्धी विवरण सरकारी अभिलेख (Folkeregisteret) बाटै प्राप्त गर्छ। त्यहाँबाट आवश्यक जानकारी नपाए आवेदकसँग थप प्रमाण मागिन्छ।
ऋण मिनाहाका लागि आवश्यक अवधि (१२ महिना) पूरा भएको तीन महिनाभित्र आवेदन दिइसक्नुपर्छ। ढिलो आवेदन दिएमा ढिलाइअनुसार योग्य अवधिका केही दिन वा हप्ता गुम्न सक्ने Lånekassen ले जनाएको छ।
एकपटक आवेदन दिएपछि अर्को वर्ष पनि स्वतः ऋण मिनाहा हुँदैन। हरेक वर्ष फेरि आवेदन दिनुपर्ने भएकाले आफ्नो योग्य अवधि र आवेदनको समयसीमा ध्यानमा राख्न निकायले आग्रह गरेको छ।
ऋण मिनाहा पाउन पहिले प्राप्त गरेको अध्ययन ऋण तथा छात्रवृत्तिका सर्त पनि पूरा भएको हुनुपर्छ। अध्ययनमा प्रगति वा सक्रियता स्पष्ट नभएका अवधिबारे Lånekassen ले थप प्रमाण माग्न सक्छ। मागिएका कागजात नबुझाउँदा ऋण मिनाहाको अधिकारमा असर पर्न सक्ने निकायले जनाएको छ।
सम्बन्धित क्षेत्रमा बस्ने ऋणीले आफ्नो कोमुने योजनामा पर्छ कि पर्दैन, कामसम्बन्धी सर्त पूरा हुन्छ कि हुँदैन र आवेदन कहिले दिनुपर्छ भन्ने कुरा Lånekassen को आधिकारिक वेबसाइटबाट जाँच्नुपर्छ।
