नर्वेमा दैनिक चुरोट पिउने मानिसको संख्या निरन्तर ओरालो लागिरहेको छ। सन् २०२६ को तथ्यांकअनुसार १६ देखि ७९ वर्ष उमेर समूहका ६ प्रतिशतले मात्र दैनिक चुरोट पिउने गरेको बताएका छन् भने दैनिक स्नुस (Snus) प्रयोग गर्नेको संख्या १५ प्रतिशत पुगेको छ। विशेषगरी युवा पुस्तामा चुरोटको प्रयोग निकै घटेको छ, तर स्नुसको लोकप्रियता भने उच्च नै छ।
नर्वेको केन्द्रीय तथ्यांक विभाग (SSB) ले २३ अक्टोबर २०२६ मा सार्वजनिक गरेको विवरणअनुसार, अहिले दैनिक स्नुस प्रयोग गर्नेको संख्या चुरोट पिउनेको तुलनामा दोब्बरभन्दा बढी छ। कुल २१ प्रतिशत नर्वेलीले दैनिक रूपमा चुरोट वा स्नुसमध्ये कुनै एकको प्रयोग गर्छन्। यी दुवै दैनिक रूपमा प्रयोग गर्नेको संख्या भने अत्यन्तै न्यून छ।
एक दशकअघिको अवस्था निकै फरक थियो। सन् २०१७ मा दैनिक चुरोट पिउने र स्नुस प्रयोग गर्नेहरूको अनुपात समान (११-११ प्रतिशत) थियो। त्यसयता चुरोट पिउनेको दर लगभग आधाले घटेको छ भने स्नुसको प्रयोग उच्च बिन्दुमै स्थिर छ।
नयाँ पुस्तामा चुरोटको प्रयोग न्यून
तथ्यांकले नर्वेका विभिन्न पुस्ताबीच चुरोट प्रयोगमा स्पष्ट अन्तर देखाएको छ। सन् १९९० देखि १९९४ बीच जन्मिएका व्यक्ति करिब १८ वर्षका हुँदा आठ प्रतिशतले दैनिक चुरोट खान्थे। सन् १९९५ देखि १९९९ बीच जन्मिएका व्यक्ति त्यही उमेरमा पुग्दा यो हिस्सा दुई प्रतिशत मात्र थियो। सन् २००० पछि जन्मिएका व्यक्तिमध्ये करिब १८ वर्षको उमेरमा दैनिक चुरोट खानेको हिस्सा एक प्रतिशतमा सीमित थियो।
SSB का वरिष्ठ सल्लाहकार Sindre Mikael Haugen का अनुसार मध्य १९९० को दशकपछि जन्मिएका पुस्तामा दैनिक चुरोट खानेको हिस्सा अघिल्ला पुस्ताको तुलनामा निकै कम छ। यही क्रम निरन्तर रहेमा Gen Z दैनिक चुरोट खानेको ठूलो समूह नभएको नर्वेको पहिलो पुस्ता बन्न सक्ने SSB ले जनाएको छ।
आज १६ देखि २४ वर्ष उमेर समूहका एक प्रतिशतले मात्र दैनिक चुरोट खाने बताएका छन्। ४५ वर्ष वा त्यसभन्दा माथिका व्यक्तिमा यो हिस्सा नौ प्रतिशत छ। यसले दैनिक चुरोट खाने चलन नयाँ पुस्तामा निकै कम भएको देखाउँछ।
स्नुसको प्रयोग उमेरसँगै बढ्ने संकेत
चुरोटको प्रयोगमा कमी आए पनि स्नुसको प्रयोगमा त्यस्तो स्पष्ट गिरावट देखिएको छैन। सन् १९९० देखि १९९४ को बीचमा जन्मिएका व्यक्तिहरू १८ वर्षको हुँदा उनीहरूमध्ये १७ प्रतिशतले दैनिक स्नुस प्रयोग गर्थे। तर, यो समूह २० देखि ३० वर्षको उमेरमा पुग्दा स्नुस प्रयोगकर्ताको संख्या घट्नुको साटो झन् बढेको देखिएको छ।
SSB का अनुसार, चुरोट छाडेकाहरूले मात्र स्नुस प्रयोग गर्न थालेका हुन् भन्न मिल्दैन; पहिले चुरोट नपिउने कतिपयले पनि स्नुस प्रयोग गर्न थालेको तथ्यांकले संकेत गर्छ। यद्यपि, सन् २०२५ देखि २०२६ को बीचमा केही उमेर समूहमा स्नुसको प्रयोगमा सामान्य कमी आएको छ। यो नमुना छनोटका कारण देखिएको अस्थायी परिवर्तन हो वा वास्तविक गिरावट सुरु भएको हो भन्ने निष्कर्षमा पुग्न थप तथ्यांक आवश्यक पर्ने बताइएको छ।
धेरै वृद्धवृद्धाले छाडे चुरोट
हाल युवा पुस्तामा चुरोट पिउने दर कम भए पनि, अघिल्लो पुस्ताका धेरै मानिसले जीवनको कुनै कालखण्डमा नियमित चुरोट पिउने गर्थे। ६५ देखि ७९ वर्ष उमेर समूहका ४० प्रतिशतले विगतमा दैनिक चुरोट पिउने गरेको र थप १२ प्रतिशतले कहिलेकाहीं पिउने गरेको बताएका छन्। यसको अर्थ, सो उमेर समूहका आधाभन्दा बढीले अहिले चुरोट छाडिसकेका छन्।
समग्रमा, सन् २०२६ मा १६ देखि ७९ वर्ष उमेर समूहका ५२ प्रतिशत मानिसले आफूले जीवनमा कहिल्यै चुरोट नपिएको बताएका छन्, जुन सन् २०२४ मा ४९ प्रतिशत थियो।
यसले नर्वेमा पुस्तान्तरणसँगै दैनिक चुरोट पिउने चलन क्रमशः लोप हुँदै गएको देखाउँछ। तर, सुर्तीजन्य पदार्थको प्रयोग भने पूरै हटिसकेको छैन। प्रयोगको स्वरूप चुरोटबाट स्नुसतर्फ सरेको स्पष्ट हुन्छ।
