नर्वे सरकारले गोपनीयताको चिन्तालाई मध्यनजर गर्दै केही सार्वजनिक स्थानहरूमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) सुविधायुक्त चस्माको प्रयोगमा अस्थायी प्रतिबन्ध लगाउने तयारी गरेको छ।

यस्ता चस्माको प्रयोगबाट मानिसहरूलाई थाहै नदिई गोप्य रूपमा फोटो खिच्न, भिडियो बनाउन वा आवाज रेकर्ड गर्न सकिने जोखिम बढेको भन्दै सरकारले यो कदम चाल्न लागेको हो।

सरकारले सबै सार्वजनिक स्थानमा नभई निश्चित ठाउँहरूमा मात्र यस्तो प्रतिबन्ध लागू गर्ने योजना बनाएको छ। सम्भावित प्रतिबन्धित स्थानहरूमा पार्क, समुद्री किनार, सङ्ग्रहालय, किनमेल केन्द्र र सार्वजनिक कार्यक्रमहरूलाई उदाहरणका रूपमा अघि सारिएको छ।

यसका साथै विद्यालय, बालविकास केन्द्र, खेलमैदान, स्वास्थ्य संस्था र कपडा फेर्ने वा नुहाउने सुविधा भएका व्यायाम केन्द्र (जिम) हरूलाई पनि विचाराधीन सूचीमा राखिएको छ। यद्यपि, यी स्थानहरूमा अहिल्यै प्रतिबन्ध भने लागू भइसकेको छैन।

यस प्रस्तावित प्रतिबन्धले कुन–कुन प्रकारका चस्मा वा शरीरमा लगाइने अन्य उपकरण (वेयरेबल डिभाइस) लाई समेट्नेछ भन्ने विषयमा थप अध्ययन भइरहेको छ।

यससम्बन्धी कानुन निर्माणका लागि सरकारले छिट्टै संसदमा विधेयक पेस गर्ने जनाएको छ। साथै, यस्ता नयाँ प्रविधिसम्बन्धी दीर्घकालीन नियम र मापदण्ड तय गर्न सरकारले एउटा विज्ञ समूहसमेत गठन गर्ने भएको छ।

स्रोत: नर्वे सरकारको ५ अक्टोबरको प्रेस विज्ञप्ति।