नर्वेमा सूचना प्रविधि (IT) क्षेत्रमा पढाइ सकेर पहिलो जागिरको खोजीमा रहेका नयाँ जनशक्तिका लागि प्रतिस्पर्धा निकै कडा बन्दै गएको देखिएको छ। हालै प्रविधि कम्पनी टेट डिजिटल (Tet Digital) ले आह्वान गरेको चारवटा नयाँ डेभलपर (Junior Developer) पदका लागि ४७९ जनाले आवेदन दिएका छन्।
कम्पनीले गत सेप्टेम्बरमा nyutdannet utvikler अर्थात भर्खर पढाइ सकेका डेभलपरका लागि चारवटा पद एउटै विज्ञापनमार्फत खुलाएको थियो।
एउटै विज्ञापनमा झन्डै पाँच सय आवेदन पर्नुले नर्वेको आईटी क्षेत्रमा नयाँ र कम अनुभव भएका उम्मेदवारहरूले कति कडा प्रतिस्पर्धाको सामना गरिरहेका छन् भन्ने स्पष्ट पार्छ। अर्थात्, औसतमा एउटा पदका लागि करिब १२० जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
पहिलेभन्दा निकै फरक अवस्था
प्रविधि तथा इन्जिनियरिङ पढिरहेका विद्यार्थीहरूको छाता संगठन टेक्ना स्टुडेन्ट (Tekna Student) का प्रमुख टिम सोरेन्सेन बेर्नलोभ (Tim Sørensen Bernløv) का अनुसार अहिलेको अवस्था दुई–तीन वर्षअघिको तुलनामा निकै फेरिएको छ।
पहिले आईटी पढिरहेका विद्यार्थीलाई पढाइ नसक्दै कम्पनीहरूले आफैं खोजेर जागिरको प्रस्ताव दिने गर्थे। तर अहिले, नयाँ आईटी जनशक्तिले थोरै संख्यामा खुल्ने प्रवेश स्तर पदका लागि पनि ठूलो संख्यामा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ।
नयाँ स्नातकका लागि समग्र रोजगारी बजार नै केही कमजोर भए पनि आईटी क्षेत्रमा यसको प्रभाव अझ स्पष्ट देखिएको उनको भनाइ छ।
तथ्याङ्कले देखाएको चुनौती
NIFU (Nordisk institutt for studier av innovasjon, forskning og utdanning) को पछिल्लो सर्वेक्षणले पनि यो चुनौतीलाई पुष्टि गर्छ। उक्त सर्वेक्षणअनुसार समग्रमा सबै विषयका नयाँ स्नातकोत्तर (Master) तहका विद्यार्थीहरूको बेरोजगारी दर ९.५ प्रतिशत पुगेको छ, जुन २०२३ को तुलनामा तीन प्रतिशत बिन्दुले बढी हो।
तर, प्रविधि (IT) क्षेत्रका नयाँ स्नातकहरूको अवस्था भने अझ चुनौतीपूर्ण छ। उनीहरूमध्ये ११.६ प्रतिशत विद्यार्थी पढाइ सकेको छ महिनापछि पनि बेरोजगार पाइएका छन्।
यी तथ्याङ्क र एउटै पदका लागि परेको ४७९ जनाको आवेदनले विशेषगरी पहिलो जागिर खोज्ने नयाँ जनशक्तिका लागि रोजगारीको बजार पहिलेभन्दा निकै कठिन भएको प्रष्ट पार्छ।
नयाँ जनशक्तिमा लगानी गर्न कम्पनीहरूलाई आग्रह
टेट डिजिटल (Tet Digital) का प्रमुख एन्रे सुन्द्स्दाल (Endre Sundsdal) कम्पनीहरूले अनुभवी कर्मचारी मात्रै खोजिरहँदा दीर्घकालमा समस्या आउन सक्ने बताउँछन्।
सबै कम्पनीले सुरुदेखि नै पूर्ण रूपमा काम गर्न सक्ने अनुभवी व्यक्ति मात्रै खोजे नयाँ जनशक्तिले अनुभव हासिल गर्ने अवसर नै नपाउने उनी बताउँछन्। त्यसैले प्रविधि क्षेत्रले नयाँ जनशक्तिलाई अवसर दिने साझा जिम्मेवारी लिनुपर्ने उनको धारणा छ।
टेक्ना स्टुडेन्टले पनि कम्पनीहरूलाई अनुभवी कर्मचारीमा मात्रै ध्यान नदिन आग्रह गरेको छ।
आज नयाँ कर्मचारी नियुक्त नगरे भविष्यका डिजिटल परियोजनाका लागि आवश्यक अनुभवी जनशक्ति नै तयार नहुने उनीहरूको तर्क छ।
