नर्वेका अस्पतालहरूमा नर्स तथा अन्य स्वास्थ्यकर्मीबीच १२ घण्टे ड्युटी निकै लोकप्रिय हुँदै गएको छ। लामो ड्युटी गर्दा लगातार धेरै दिन बिदा पाइने र बिरामीको उपचारमा राम्रो निरन्तरता दिन सकिने कर्मचारीहरूको अनुभव छ।
यद्यपि, लामो समय काम गर्दा एकाग्रता घट्न सक्ने र गल्तीको जोखिम बढ्ने भन्दै अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन्।
नर्वेका विभिन्न अस्पतालमा नर्स र स्वास्थ्यकर्मीका लागि १२ घण्टासम्मको लामो ड्युटी (Langvakter) प्रयोग गर्ने क्रम बढेको छ। स्टाभाङ्गर युनिभर्सिटी अस्पताल (Stavanger universitetssjukehus) मा मात्रै पछिल्ला दुई वर्षमा करिब दुई हजारमध्ये झन्डै ४०० स्वास्थ्यकर्मी सामान्यबाट १२ घण्टे ड्युटीतर्फ सरेका छन्।
NRK को सर्वेक्षणअनुसार स्टाभाङ्गरबाहेक ओस्लो, बर्गेन, ट्रोन्डहाइम, ट्रोम्सो र हामरफेस्टका अस्पतालहरूमा पनि यस्तो ड्युटी प्रणाली लागू भइरहेको छ। धेरै ठाउँमा यो व्यवस्था रोज्ने कर्मचारीको संख्या तीव्र रूपमा बढिरहेको छ।
किन रोज्छन् कर्मचारीले लामो ड्युटी?
यसको मुख्य फाइदाका रूपमा कर्मचारीले 'लगातार धेरै दिन पाइने बिदा' लाई औँल्याएका छन्। नर्सहरूको कर्मचारी संगठन (Norsk Sykepleierforbund) को सर्वेक्षणमा सहभागी ६५ प्रतिशतले बढी खाली समय पाउनकै लागि लामो ड्युटी रोजेको बताएका छन्।
लामो ड्युटीको अर्थ वर्षभरि गर्नुपर्ने कुल कामको घण्टा घट्नु भने होइन। कर्मचारीले थोरै दिनमा लामो समय काम गर्छन् र त्यसको बदलामा लगातार धेरै दिन बिदा पाउँछन्। यसले टाढा बस्ने, परिवारलाई बढी समय दिन चाहने वा कामपछि लामो विश्राम रुचाउने कर्मचारीलाई आकर्षित गरेको छ।
साथै, लामो ड्युटीमा एउटै स्वास्थ्यकर्मी लामो समयसम्म बिरामीसँग रहने हुँदा ड्युटी परिवर्तन कम हुन्छ। यसले गर्दा बिरामीले थोरै स्वास्थ्यकर्मीसँग मात्र घुलमिल हुनुपर्ने, स्वास्थ्यकर्मीले बिरामीको अवस्था गहिरोसँग बुझ्ने र उपचारमा निरन्तरता कायम हुने कर्मचारीहरूको अनुभव छ।
१२ घण्टे ड्युटी कसरी सञ्चालन हुन्छ?
यसको सञ्चालन अस्पतालअनुसार फरक हुन सक्छ। स्टाभाङ्गर अस्पतालमा लामो ड्युटी साढे १२ घण्टासम्मको हुन्छ, जसमा ९० मिनेटको तलबसहितको विश्राम (betalt pause) समावेश छ। यहाँ लगातार बढीमा तीनवटा मात्र लामो ड्युटी गर्न मिल्ने नियम छ।
केही कर्मचारीले आफ्नो पूरै ड्युटी प्रणालीमा लामो ड्युटी रोज्छन् भने अरूले सप्ताहन्त (helg) मा मात्रै यस्तो ड्युटी गरेर बाँकी दिन सामान्य (बिहान, साँझ वा राति) ड्युटीमा काम गर्छन्। लामो ड्युटीसहित वर्षमा १६ वटा सप्ताहन्त काम गर्दा कतिपय ठाउँमा अतिरिक्त आर्थिक सुविधा पनि दिइन्छ।
यो व्यवस्था पूर्ण रूपमा स्वैच्छिक हुन्छ। कर्मचारी संगठनले यसलाई बाध्यकारी बनाउन नहुने र लागू गर्नुअघि प्रत्येक विभागले यसबाट हुन सक्ने जोखिमको विस्तृत मूल्याङ्कन गर्नुपर्ने कुरामा जोड दिएको छ।
बिरामीको सुरक्षामा जोखिम पर्न सक्ने चेतावनी कर्मचारीलाई लगातार बिदाको फाइदा भए पनि, कामको अन्तिम घण्टाहरूमा थकान र एकाग्रताको कमी हुन सक्ने अनुसन्धानकर्ताहरूको चेतावनी छ।
स्टाभाङ्गर युनिभर्सिटी (Universitetet i Stavanger) की अनुसन्धानकर्ता मालिन रोसेल मागेरोय (Malin Rosell Magerøy) को अध्ययनअनुसार १२ घण्टे ड्युटी गर्ने नर्सहरूले सुरक्षाप्रतिको ध्यान घटेको, उपचारको गुणस्तर खस्किएको र कतिपय काम पूरा गर्न नसकेको अनुभव सुनाएका छन्। आठ घण्टाभन्दा बढी काम गरेपछि गल्तीको जोखिम बढ्ने र १२ घण्टापछि यो जोखिम अझ प्रस्ट देखिने अध्ययनको निष्कर्ष छ।
लामो समय लगातार काम गर्दा औषधि दिने, बिरामीको अवस्था निगरानी गर्ने र महत्त्वपूर्ण जानकारी अभिलेख (dokumentasjon) राख्ने काममा त्रुटि हुन सक्ने सम्भावना रहन्छ। विशेषगरी लगातार दोस्रो वा तेस्रो लामो ड्युटीमा बढी थकान महसुस हुने कर्मचारीहरूले बताएका छन्।
यसलाई उचित रूपमा व्यवस्थापन नगरिए कर्मचारीमा थकान बढ्ने, बिरामी बिदा (Sykefravær) लिने दर उच्च हुने र काम नै छोड्ने जोखिम बढ्न सक्ने अध्ययनले देखाएको छ। जनशक्ति अभाव थपिएमा एक जना स्वास्थ्यकर्मीले हेर्नुपर्ने बिरामीको संख्या बढ्ने र त्यसले अन्ततः बिरामीको सुरक्षामा झन् असर पार्ने तर्क अनुसन्धानकर्ताहरूको छ।
यद्यपि सबै अनुसन्धानको निष्कर्ष एउटै छैन, लामो ड्युटीबारेका सबै अध्ययनको निष्कर्ष नकारात्मक मात्र छैन।
ओस्लोमेट (OsloMet) अन्तर्गतको श्रम अनुसन्धान संस्थान (Arbeidsforskningsinstituttet) ले ओस्लो कोमुनेको स्वास्थ्य तथा हेरचाह सेवामा कार्यरत छ हजार कर्मचारीमाझ गरेको अध्ययनले फरक नतिजा देखाएको छ। उक्त अध्ययनमा लामो ड्युटी गर्ने कर्मचारीले कामको गुणस्तर राम्रो भएको, कामको गतिमा कम दबाब महसुस भएको र बिरामीको आवश्यकताअनुसार काम मिलाउन बढी स्वतन्त्रता पाएको बताएका छन्।
यस अध्ययनले लामो र सामान्य ड्युटी गर्ने कर्मचारीबीच बिरामीसँग सम्बन्धित नकारात्मक घटनामा कुनै खास भिन्नता देखाएन। उल्टै, लामो ड्युटी गर्ने कर्मचारीले काममा उच्च सन्तुष्टि र कम थकान महसुस गरेको रिपोर्ट गरेका छन्। लगातारको लामो बिदाले उनीहरूलाई पर्याप्त आराम र व्यक्तिगत कामको लागि प्रशस्त समय दिएको अनुसन्धानकर्ताहरूले औँल्याएका छन्।
यसले १२ घण्टे ड्युटी आफैँमा सधैँ सुरक्षित वा असुरक्षित हुन्छ भन्ने देखाउँदैन। ड्युटीको व्यवस्थापन कसरी गरिएको छ, पर्याप्त विश्राम पाए/नपाएको, लगातार कतिवटा लामो ड्युटी गर्नुपर्ने र विभागमा पर्याप्त जनशक्ति छ कि छैन भन्ने कुराले यसको समग्र परिणाममा भर पार्छ।
राम्रो विश्रामको व्यवस्था आवश्यक
नर्सहरूको कर्मचारी संगठनका प्रतिनिधिहरूले लामो ड्युटी लागू गर्नुअघि अस्पतालले पर्याप्त विश्राम कक्षको व्यवस्था गर्नुपर्ने र कामबाट केही समय पूर्ण रूपमा अलग हुन सक्ने वातावरण बनाउनुपर्ने माग गरेका छन्।
कागजमा ९० मिनेटको विश्राम लेखिए पनि व्यस्त विभागमा कर्मचारीले व्यवहारमा त्यो विश्राम लिन पाएनन् भने थकानको जोखिम कम नहुने उनीहरूको चिन्ता छ।
स्टाभाङ्गर अस्पतालले यसको सम्भावित जोखिमलाई स्वीकार गर्दै, विभागहरूले ड्युटीको अन्त्यतिर कर्मचारीलाई दिइने कामको प्रकृति मूल्याङ्कन गर्नुपर्ने जनाएको छ। अस्पतालका अनुसार हालसम्म बिरामीको सुरक्षा कमजोर भएको कुनै संकेत भेटिएको छैन र विश्रामको व्यवस्था सुधार्न विभागहरूले काम गरिरहेका छन्।
ओस्लो कोमुनेमा पनि तीव्र वृद्धि
लामो ड्युटी अस्पतालमा मात्रै सीमित छैन। ओस्लोमेटको तथ्याङ्कअनुसार नगरपालिका स्तरको स्वास्थ्य तथा हेरचाह सेवामा सन् २०१८ मा २१ प्रतिशत रहेको लामो ड्युटीको प्रयोग सात वर्षभित्रै बढेर ६४ प्रतिशत पुगेको छ।
रोजगारदाताहरूले लामो ड्युटीले सप्ताहन्तमा कर्मचारी व्यवस्थापन सहज बनाउन र पूर्णकालीन पदहरू उपलब्ध गराउन सहयोग गर्ने तर्क गरेका छन्। तर कर्मचारी संगठनले भने यसलाई अस्पतालको आर्थिक समस्या वा जनशक्ति अभाव टार्ने 'सजिलो उपाय' का रूपमा मात्रै प्रयोग गर्न नहुने स्पष्ट पारेको छ।
अनुसन्धानकर्ताहरूका अनुसार कर्मचारीले लगातार बिदालाई बढी महत्त्व दिएका कारण यो व्यवस्था तत्काल रोकिने देखिँदैन, बरु अझ विस्तार हुन सक्छ। तर यसलाई सफल र सुरक्षित बनाउन ड्युटी पूर्ण स्वैच्छिक हुनुपर्ने, पर्याप्त विश्रामको ग्यारेन्टी गरिनुपर्ने, लगातार लामो ड्युटीलाई सीमित गर्नुपर्ने र बिरामीको सुरक्षामाथि निरन्तर निगरानी राखिनुपर्ने आवश्यकता छ।
