नर्वे सरकारले नेपाल र चीनको तिब्बत क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावितहरूका लागि कुल करिब १ करोड २७ लाख नर्वेजियन क्रोनर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। नर्वेको परराष्ट्र मन्त्रालयका अनुसार, यसमध्ये १ करोड क्रोनर सरकारको आफ्नै मानवीय आपत्कालीन कोषबाट प्रत्यक्ष रूपमा उपलब्ध गराइनेछ भने करिब २७ लाख क्रोनर संयुक्त राष्ट्रसंघ र रेडक्रसका अन्तर्राष्ट्रिय आपत्कालीन कोषमार्फत परिचालन हुनेछ।
यो सहायता रकम स्थापित मानवीय साझेदार संस्थाहरूमार्फत प्रभावित क्षेत्रमा पुर्याइनेछ। विपद्मा घर गुमाएका, घाइते भएका वा तत्काल सहयोग आवश्यक परेका नागरिकलाई अस्थायी आवास, स्वास्थ्य सेवा र अन्य अत्यावश्यक जीवनरक्षक सहायता उपलब्ध गराउन उक्त रकम प्रयोग गरिने नर्वे सरकारले जनाएको छ।
रसुवा र नुवाकोटमा व्यापक क्षति
नर्वे सरकारको विवरणअनुसार भारी वर्षापछि नेपालका रसुवा र नुवाकोट तथा तिब्बतका केही क्षेत्रमा ठूलो बाढीपहिरो गएको हो। विपद्का कारण मानिसहरूको ज्यान गएको, घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको र सडक तथा पूर्वाधारहरू अवरुद्ध भएका छन्।
प्रभावित केही स्थानमा पुग्न कठिन भएकाले खोज, उद्धार र राहत वितरणमा समेत चुनौती देखिएको छ। हाल स्थानीय निकाय र मानवीय संस्थाहरूले प्रभावित क्षेत्रमा उद्धार तथा तत्काल सहायता उपलब्ध गराउने काम गरिरहेका छन्।
रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा भोटेकोशी नदीमा आएको अचानकको बाढीले बस्ती, बजार र जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्याएको थियो। प्रारम्भिक अवस्थामा बाढीको वास्तविक कारण स्पष्ट भइसकेको थिएन, जसका कारण प्रशासनले त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसलाई सतर्क रहन आग्रह गरेको थियो।

नर्वेको प्रत्यक्ष सहयोगसँगै अन्तर्राष्ट्रिय कोषबाट पनि सहायता
नर्वेले घोषणा गरेको कुल सहयोगमध्ये १ करोड क्रोनर सरकारको मानवीय आपत्कालीन कोषबाट उपलब्ध गराइनेछ। यसका साथै, संयुक्त राष्ट्रसंघको केन्द्रीय आपत्कालीन प्रतिकार्य कोष (CERF) ले विपद् प्रतिकार्यका लागि २० लाख अमेरिकी डलर परिचालन गरेको छ, जसमा नर्वेको हिस्सा करिब १९ लाख क्रोनर रहेको जनाइएको छ।
त्यस्तै, अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघको विपद् प्रतिकार्य आपत्कालीन कोष (DREF) ले १० लाख स्विस फ्र्याङ्क उपलब्ध गराएको छ, जसमा नर्वेको योगदान करिब ८ लाख क्रोनर रहेको छ। प्रत्यक्ष सहायता र यी दुई अन्तर्राष्ट्रिय कोषमा रहेको नर्वेको हिस्सालाई जोड्दा कुल योगदान करिब १ करोड २७ लाख नर्वेजियन क्रोनर पुग्छ।
“सहयोग छिटो प्रभावितसम्म पुग्नुपर्छ” नर्वेका अन्तर्राष्ट्रिय विकासमन्त्री ओस्मुन्ड आउक्रुस्तले बाढीपहिरोले ठूलो विनाश निम्त्याएको र धेरै मानिसको जीवन जोखिममा परेको बताएका छन्।
उनले भनेका छन्, “पहिरोले ठूलो क्षति पुर्याएको छ र धेरै मानिसको जीवन जोखिममा पारेको छ। नर्वेले घर गुमाएका वा तत्काल सहयोग आवश्यक परेका मानिससम्म सहायता छिटो पुर्याउन योगदान गरिरहेको छ।”
प्राकृतिक विपद् आएपछि छिटो सहायता परिचालन गर्नु अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गर्दै मन्त्री आउक्रुस्तले अन्तर्राष्ट्रिय आपत्कालीन कोषमार्फत मानवीय संस्थाहरूलाई छोटो समयमै जीवनरक्षक सहायता उपलब्ध गराउन सहयोग पुग्ने बताएका छन्। उनका अनुसार यसबाट प्रभावित मानिसका लागि आश्रय, स्वास्थ्य सेवा र अन्य आवश्यक सहायता व्यवस्था गर्न मद्दत पुग्नेछ।
नेपालसँगको ऐक्यबद्धताको सन्देश नेपालमा ठूलो प्राकृतिक विपद् आएको यस कठिन समयमा नर्वेले गरेको सहयोगले प्रभावित समुदायप्रति मानवीय ऐक्यबद्धता व्यक्त गरेको छ। विशेषगरी रसुवा र नुवाकोटमा उद्धार, अस्थायी आवास, स्वास्थ्य उपचार र आधारभूत आवश्यकताको माग बढिरहेका बेला अन्तर्राष्ट्रिय सहयोग महत्त्वपूर्ण देखिएको छ।
नर्वेले संयुक्त राष्ट्रसंघ र मानवीय संस्थाहरूलाई नियमित तथा लचिलो आर्थिक सहयोग गर्दै आएको छ। यस्तो आर्थिक व्यवस्थाले अचानक उत्पन्न हुने प्राकृतिक विपद् तथा अन्य मानवीय संकटमा सम्बन्धित संस्थाहरूलाई छिटो सहायता परिचालन गर्न मद्दत गर्ने नर्वे सरकारको भनाइ छ।
विपद्पछिको खोज, उद्धार र राहत कार्य जारी रहेकाले क्षतिको विवरण परिवर्तन हुन सक्छ।
