नर्वेलाई धेरैले तेल र ग्यास, समुद्री उद्योग तथा माछाको निर्यात गर्ने देशका रूपमा चिन्छन्। तर अन्तर्राष्ट्रिय बजारमा नर्वेको अर्को महत्वपूर्ण उद्योग पनि तीव्र रूपमा बढिरहेको छ, त्यो हो हतियार तथा रक्षा उद्योग।
नर्वेजियन रक्षा अनुसन्धान संस्था Forsvarets forskningsinstitutt (FFI) को पछिल्लो विस्तृत उद्योग तथ्यांकअनुसार सन् २०२४ मा नर्वेको रक्षा उद्योगसँग सम्बन्धित कुल कारोबार ४६.१ अर्ब नर्वेजियन क्रोनर पुगेको थियो। यो अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशत बढी हो।
यो कारोबार केही साना सैन्य सामान बिक्रीबाट आएको रकम मात्र होइन। नर्वेका कम्पनीहरूले आधुनिक मिसाइल, हवाई प्रतिरक्षा प्रणाली, गोलाबारुद, तोपका गोला, रकेट मोटरदेखि सैन्य प्रविधि तथा अन्य रक्षा उपकरणसम्म उत्पादन गर्छन्।
विदेशबाटै आयो ३४ अर्ब क्रोनरभन्दा बढी
FFI का अनुसार २०२४ मा नर्वेजियन रक्षा उद्योगले विदेशी ग्राहकबाट मात्रै करिब ३४.६ अर्ब क्रोनर आम्दानी गरेको थियो। यसमा नर्वेबाट गरिएको निर्यातका साथै नर्वेजियन कम्पनीका विदेशी सहायक कम्पनीहरूको कारोबार पनि समावेश छ। प्रत्यक्ष रक्षा-सम्बन्धी निर्यात करिब १९ अर्ब क्रोनर थियो, जुन एक वर्षमै ४० प्रतिशत बढेको हो।
उद्योगको आकार बढिरहेको अर्को संकेत यसको order backlog, अर्थात् अर्डर आइसकेको तर उत्पादन वा आपूर्ति गर्न बाँकी काम हो। २०२४ को अन्त्यमा यस्तो अर्डरको मूल्य करिब १४१ अर्ब क्रोनर पुगेको थियो, जुन उद्योगको एक वर्षको कारोबारभन्दा तीन गुणाभन्दा धेरै हो। अघिल्लो वर्षको तुलनामा यो अर्डर भण्डार ७१ प्रतिशत बढेको थियो।
अर्थात्, अहिले देखिएको बिक्री मात्र होइन, उद्योगसँग आउँदा वर्षका लागि पनि ठूलो परिमाणमा काम हातमा छ।
Kongsberg र Nammo ठूला नाम
नर्वेको रक्षा उद्योगको कुरा गर्दा दुई नाम विशेष रूपमा आउँछन्, Kongsberg Defence & Aerospace र Nammo।
Kongsberg ले NASAMS हवाई प्रतिरक्षा प्रणाली, मिसाइल, weapon stations तथा अन्य उच्च प्रविधिका रक्षा प्रणाली बनाउँछ। सन् २०२५ मा Kongsberg समूहको कुल order backlog १५७ अर्ब क्रोनरभन्दा माथि पुगेको थियो। कम्पनीले मिसाइल र हवाई प्रतिरक्षा प्रणालीको उच्च मागलाई आफ्नो वृद्धिको प्रमुख कारणमध्ये एक बताएको छ।
अर्कोतर्फ Raufoss मा मुख्यालय रहेको Nammo गोलाबारुद र रकेट मोटर उत्पादनमा ठूलो अन्तर्राष्ट्रिय कम्पनी बनेको छ। २०२५ मा Nammo को बिक्री १४.४ अर्ब क्रोनर पुगेको थियो, जुन २०२४ को १०.९ अर्बबाट करिब ३२.५ प्रतिशतको वृद्धि हो। कम्पनीसँग २०२५ को अन्त्यमा लगभग ५५ अर्ब क्रोनर बराबरको अर्डर थियो।
Nammo का १२ देशका २७ स्थानमा करिब ४,२०० कर्मचारी छन्। यसको २०२५ को आम्दानीमध्ये ९८ प्रतिशत NATO तथा सहयोगी देशका बजारबाट आएको थियो।
रोचक कुरा के छ भने Nammo पूर्ण रूपमा नर्वेजियन सरकारको कम्पनी भने होइन। कम्पनीको ५० प्रतिशत स्वामित्व नर्वे सरकार र बाँकी ५० प्रतिशत फिनल्यान्डको Patria सँग छ।
अमेरिकादेखि युक्रेनसम्म नर्वेजियन रक्षा सामग्री
नर्वे सरकारले यही अक्टोबरमा सार्वजनिक गरेको २०२५ को नयाँ export-control रिपोर्टअनुसार नर्वेबाट भएको रक्षा-सम्बन्धी निर्यातको मूल्य करिब २१.३ अर्ब क्रोनर पुगेको छ। यो २०२४ को तुलनामा करिब ३१ प्रतिशत बढी हो।
सबैभन्दा ठूलो ग्राहक अमेरिका थियो, जहाँ करिब ५ अर्ब क्रोनर बराबरको नर्वेजियन रक्षा सामग्री गएको थियो। त्यसपछि युक्रेन करिब ३ अर्ब, जर्मनी करिब २ अर्ब, रोमानिया १.३ अर्ब, बेलायत १.२ अर्ब र अस्ट्रेलिया करिब १.१ अर्ब क्रोनरसहित प्रमुख बजारमा थिए।
निर्यात हुने वस्तुमा सामान्य बन्दुक र गोली मात्र छैनन्। सरकारी तथ्यांकमा बम, टोरपेडो, रकेट र मिसाइल , विमान तथा UAV सम्बन्धी उपकरण, इलेक्ट्रोनिक्स र अन्य सैन्य प्रविधिसमेत महत्वपूर्ण श्रेणीमा पर्छन्।
१३ हजारभन्दा बढी रोजगारी
यो उद्योगको प्रभाव निर्यातमा मात्र सीमित छैन।
FFI ले २०२४ मा रक्षा उद्योगसँग प्रत्यक्ष सम्बन्धित करिब १३,११४ पूर्णकालीन वर्ष बराबरका रोजगारी गणना गरेको थियो। अघिल्लो मापनको तुलनामा यो संख्या ४२ प्रतिशत बढी हो। तथ्यांकमा नर्वेका साथै कम्पनीहरूका विदेशी सहायक कम्पनीका कर्मचारी पनि समेटिएका छन्।
युक्रेन युद्धपछि माग तीव्र
यो वृद्धि संयोग मात्र होइन।
सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण स्तरको आक्रमण सुरु गरेपछि युरोपको सुरक्षा परिस्थिति व्यापक रूपमा परिवर्तन भएको छ। NATO तथा युरोपेली देशहरू आफ्ना हतियार र गोलाबारुदको भण्डार बढाउँदै छन् र उत्पादन क्षमता विस्तार गरिरहेका छन्।
नर्वे सरकारले पनि अहिले नर्वेजियन तथा युरोपेली रक्षा उद्योगलाई दशकौँयता नदेखिएको स्तरमा विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएको छ।
यसको असर नर्वेका कारखानामा सीधै देखिएको छ। Nammo ले नर्वेसहित युरोप र अमेरिकामा उत्पादन क्षमता बढाइरहेको छ। नर्वे सरकारले Raufoss मा नयाँ रकेट मोटर उत्पादन लाइन बनाउन Nammo लाई ५० करोड क्रोनर सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।
सानो देश, तर विशेष प्रविधिमा बलियो
नर्वेको रक्षा उद्योगलाई अमेरिका जस्ता विशाल हतियार उत्पादक देशसँग सीधै तुलना गर्न मिल्दैन। तर नर्वेको विशेषता ठूलो मात्रामा सबै प्रकारका हतियार बनाउनु होइन, केही उच्च प्रविधिका क्षेत्रमा बलियो स्थान बनाउनु हो।
मिसाइल, हवाई प्रतिरक्षा, गोलाबारुद, rocket propulsion तथा सैन्य इलेक्ट्रोनिक्स जस्ता क्षेत्रमा नर्वेजियन कम्पनीका उत्पादन NATO र अन्य सहयोगी देशमा पुगिरहेका छन्। पछिल्लो तथ्यांकले एउटा कुरा भने स्पष्ट देखाउँछ, रक्षा उद्योग अब नर्वेको सानो वा सीमित औद्योगिक क्षेत्र मात्र रहेन।
४६ अर्ब क्रोनरभन्दा बढी वार्षिक कारोबार, १९ अर्ब क्रोनर हाराहारीको २०२४ को प्रत्यक्ष रक्षा-सम्बन्धी निर्यात र १४१ अर्ब क्रोनरको अर्डर भण्डारले नर्वेमा यसको आर्थिक र औद्योगिक महत्व तीव्र रूपमा बढिरहेको देखाउँछ।
