आप्रवासी पृष्ठभूमिका कर्मचारीहरूको सीपलाई सम्मान गर्दै उनीहरूलाई रोजगारीमा राम्रो अवसर दिने कार्यस्थलहरूलाई 'विविधता पुरस्कार (Mangfoldsprisen) २०२६' प्रदान गरिने भएको छ। यसका लागि एकीकरण तथा विविधता निर्देशनालय (IMDi) ले अक्टोबर १ तारिखदेखि मनोनयन खुला गरेको छ।

पुरस्कारको उद्देश्य र महत्त्व

यस पुरस्कारको मुख्य उद्देश्य कार्यस्थलमा जातीय विविधता बढाउनु, आप्रवासीहरूको सीपलाई काममा लगाउनु र उनीहरूलाई रोजगारीको अवसर दिलाउनु हो। इम्डी की निर्देशक लिबे रिबर-मोन (Libe Rieber-Mohn) का अनुसार, "केही कार्यस्थलहरू स्थानीय समुदायको विविधतालाई सदुपयोग गर्न निकै सिपालु छन्, जसले राम्रो सामाजिक वातावरण बनाउनुका साथै समाजमा घुलमिल हुन ठूलो योगदान पुर्‍याएका छन्।"

यसैगरी, नर्वेजियन उद्यम परिसंघ (NHO) का प्रमुख कार्यकारी अधिकृत ओले एरिक आल्मलिड (Ole Erik Almlid) ले विविधतालाई व्यवसायका लागि एउटा शक्तिका रूपमा लिएका छन्। उनले भविष्यमा सीप र जनशक्तिको ठूलो आवश्यकता पर्ने हुँदा सबैलाई समेट्नु र कसैलाई पनि कामबाट वञ्चित नगर्नु महत्त्वपूर्ण रहेको कुरामा जोड दिएका छन्।

कस्ता संस्था मनोनयनमा पर्न सक्छन्?

देशभरिका निजी तथा सरकारी सबै प्रकारका संस्थाहरू यस पुरस्कारका लागि मनोनयनमा पर्न सक्छन्। सन् २०२६ का लागि दुईवटा विधामा राष्ट्रिय पुरस्कार दिइनेछ:

  • साना संस्था: २० जनाभन्दा कम कर्मचारी भएका कार्यस्थल।
  • ठूला संस्था: २० जनाभन्दा बढी कर्मचारी भएका कार्यस्थल।

विजेताहरूलाई फेब्रुअरी २०२७ मा यो पुरस्कार वितरण गरिनेछ।

गत वर्ष ठूला संस्थातर्फ 'Ikea Oslo' र साना संस्थातर्फ 'Coop Extra Sjøvegan' ले यो सम्मान पाएका थिए।

मनोनयन कसरी गर्ने?

जो कोहीले पनि आफ्नो वा अरूको कार्यस्थललाई यस पुरस्कारका लागि सिफारिस (मनोनयन) गर्न सक्छन्। यदि तपाईंले अरूको कार्यस्थललाई मनोनयन गर्दै हुनुहुन्छ भने उनीहरूलाई जानकारी दिन पनि अनुरोध गरिएको छ।

संस्थाले गरिरहेको समावेशी कामको विस्तृत र राम्रो विवरण दिनका लागि संस्थाको मानव संसाधन (HR) विभाग वा प्रमुख व्यवस्थापक (Daglig leder) ले नै फारम भर्नु उपयुक्त हुने आईएमडीआईले सुझाव दिएको छ।

मनोनयन दर्ता गर्ने अन्तिम मिति १ नोभेम्बर २०२६ सम्म तोकिएको छ।

स्रोत: आईएमडीआईको १ अक्टोबर २०२६ को सूचना।